अवरुद्ध ग्रामीण सडक खुलाइदै, दसैंमा गाउँ बस्तीमा गाडी

डम्मर बुढा मगर, बागलुङ
बागलुङ जिल्लाका ग्रामीण क्षेत्र सडक संजालले नजोडिएका कमै छन् । सडक गाउँमा पुगे पनि वर्षाका कारण धेरै ग्रामीण सडक अवरुद्ध भएका छन् । हिउँदमा सडक निर्माण गर्ने र वर्षातको समयमा बाढी पहिरोले बगाउने अवस्था बिद्यमान छ । स्थानीय पालिकालेले बजेट बिनियोजन गरेर मनपरी सडक खन्ने तर नाली व्यवस्थापन गर्न नसक्दा हिउँदमा खनिएका सडक वर्षातको समयमा भत्किने र अवरुद्ध हुँदै आएका छन् ।

वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडकहरु नेपालीहरुको महान पर्व दसैं, तिहार जस्ता महान पर्वहरु नजिकिएसँगै पालिकाहरुले खुलाउन थालेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मान्न गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडकहरु खुलाउन थालेको छ । गाउँपालिकाले सातै वटा वडाका अधिकांश बस्तीहरुमा सडक पु¥याएको छ । निसीखोलाका अधिकांश गाउँ र बस्तीमा पुग्ने सडक वर्षातमा भत्किएर बन्द छन् ।

अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वलाल शाक्यले बताउनुभयो । वडाबाटै अवरुद्ध एका सडकहरु खुलाउने गरि पहिलेनै बजेट विनियोजन भइसकेको छ । ग्रामीण क्षेत्रका धेरै जस्तो ठाउँमा सडकहरु संचालनमै रहेको र केही सडकहरु खुलाउन थालिएको उहाँले बताउनुभयो ।

ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्ग अन्तर्गत निसीखोलामा पर्ने सडक खण्डको विभिन्न स्थानमा बाढी पहिराले सडक क्षतविक्षत बनाएको बन्दै सडककको लेदो, माटो र ढुङ्गाहरु पन्छ्याएर फराकिलो बनाउने काम भएको शाक्यको भनाई छ । ‘ग्रामीण सडक त खुलाउन थालेका छौँ, धेरै समय नलाग्ला, धेरैजसो सडक वर्षातको समयमा पनि संचालन भएका छन्, केही सडकहरुमा माथिदेखि खसेको बाढी पहिरोले अवरुद्ध बनाएको छ, त्यस्ता सडकहरु खोल्नका लागि वडामा बजेट पहिलेनै विनियोजन भइसकेको छ,’ शाक्यले भन्नुभयो ‘काम सुरु गरेर पनि लोकमार्ग अहिले संचालनमा छ तर विभिन्न ठाउँमा ग्रामीण सडकबाट खसेको बाढी पहिराले अप्ठ्यारो बनाएको छ, त्यसलाई पनि अलि फराकिलो र सहज रुपमा यातायात गुड्ने गरि काम गर्न सुरु भएको छ ।’

उहाँले चाडबाडलाई लक्षित गरि सडक खुलाउन थालेको भन्दै सडक पुगेका गाउँहरुमा दसैं तिहार मान्न आउने नागरिकहरु सहज रुपमा गाडीमै गाउँमा पुग्न सक्ने बताउनुभयो । उहाँले यसवर्ष अत्याधिक वर्षा भएको हुँदा नयाँ ट्रयाक खोलेको ठाउँ पहिरोले सडकमा क्षति पुगेको भन्दै सबै ठाउँमा खुलाउने काम भइरहेको बताउनुभयो ।

ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडकहरु संचालन गर्न थालेको छ । अब केही दिनमै गाउँ–गाउँमा पुगेका सडकहरु खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । उहाँले सडक खुलाउनका लागि सबै वडाका अध्यक्षहरुलाई जिम्मा दिएको भन्दै चाडबाड मान्न गाउँ आउने सबै सहज रुपमा घर पुग्न सक्ने बताउनुभयो । ‘केही सडक खुलिसके, केही खुल्दैछन्, वडाका सबै सडकहरु खुलाउन वडा अध्यक्षलाई जिम्मा दिएका छौँ, उहाँहरुले काम थाल्नु भएको छ,’ प्रमुख नेपालीले भन्नुभयो ‘दसैं तिहार मान्न आउने कसैलाई पनि गाउँ पुग्न समस्या हुन्न, सहजै घर पुग्न सक्नु हुनेछ, ढुक्क भएर यात्रा गर्दा हुन्छ, केही सडक अप्ठ्यारा छन् खुलाउने प्रयामा हामी छौँ ।’

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरि सडक खुलाउने काम भइरहेको जानकारी दिनुभयो । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उहाँको भनाई छ । गाउँ आउने यात्रुहरुलाई सहज हुने गरि सडक खुलाइएको उहाँको भनाई छ ।

जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढी पहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहिद मार्ग सहित पालिका भित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरि काम गरिरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले बताउनुभयो । उहाँले वर्षात्का कारण हिलाम्य बनेका सडकहरु पनि सरसफाई गर्न थालिएको बताउनुभयो ।

गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । गत असार १ गतेको पहिरोले बरेङ गाउँपालिको विभिन्न स्थानका सडकहरुमा क्षति पु¥याएको भन्दै ती सडकहरु खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

पालिकाको अधिकांश बस्तीहरुमा आफूले सडक पु¥याएको भन्दै वर्षाका कारण सडकको धेरै क्षति पुगेको बताउनुभयो । क्षति भएको सडक मर्मत गर्ने काम भइरहेको अध्यक्ष शर्माको भनाई छ । जिल्लाका धेरै जस्तो ठाउँमा सडक पुगे पनि नाली व्यवस्थापन भने अझै हुने सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *