‘सफलताले होइन,सेवाले जीवन सार्थक’

साधना पन्त
जीवन एक कला हो । त्यसमा हाम्रो जन्म पहिलो कला हो भने जीवन दोश्रो कला हो । पहिलो कला सृष्टि र दोश्रो कलाले जति बेला जीवनमा रंग भर्दछ, तब मात्र त्यो जीवन साँच्चिक सफल र साथर्क बन्दछ । जन्म पश्चात् जीवनलाई सफल बनाउने कि सार्थक बनाउने विश्व दुनियाँ यसमै भौतारिरहेको छ । यही भौतिरिने मध्येका एक देव वहादुर श्रेष्ठ । ७६ वर्षदेखि अनवरत आफ्नै लय र यात्रामा हुनुहुन्छ । कपाल सेताम्य भएर लठ्ठी टेकेरै भए पनि समाजका अनेक चासो र चिन्ता लिएर लौरीको सहारामा बागलुङ बजारका सडक गल्लीमा देखिनु भेटिनुहुन्छ । श्रेष्ठको परिचयमा समाजसेवी धेरै पहिलेदेखि जोडिएर आएको उपमा हो । यही प्यासन र परिचयले श्रेष्ठलाई उमेरले बुढ्यौली लाग्दा पनि सामाजिक गतिविधिमा सरिक हुन उस्तै रहर देखिन्छ ।

बागलुङ नगरपालिका वडा नम्वर ३ सुल्डाँडामा २००२ सालमा जन्मिनु भएका श्रेष्ठ समाजमा आफ्नो केही सम्झना र छाप छोडेर जानुपर्ने बताउनुहुन्छ । धर्तीमा पदार्पण भए सँगै परिवार सँग मात्र नभई समाज र देश प्रतिको दायित्व पनि हुने भएकाले यसको गहिरो बोध गरेर जीवनको उर्जाशील र अधिक समय समाज सेवामा व्यतित गरेको श्रेष्ठको भनाई छ । यसरी समय व्यतित गर्दा आत्मसन्तुष्टि समेत मिलेको उहाँको कथन छ ।

“घरको एक्लो छोरो, बुबा सधै कृषि गर्नु हुन्थ्यो, नेवार भनेर सवैले पैसावाल भन्थे तर म सामान्य कृषकको परिवारमा जन्मेको हँु, बागलुङ बजारको नेवार र सुल्डाँडाको नेवार बिच दुरी कम भएता पनि पैसामा आकाश जमिनको फरक थियो,” श्रेष्ठले भन्नुभयो । ७ वर्षको उमेरमा बुबा संग इण्डियाको ग्वाटी पुग्नुभएका श्रेष्ठले त्यहाँ गाई भैसीको दुध बेच्ने काम गरेको स्मरण गर्नुहुन्छ । ४ वर्ष सम्म दुध बेचेर आसामी विद्यालयमा पढ्नुभएका श्रेष्ठ ११ वर्षको हुदाँ फेरि नेपाल फर्किनु भयो । । ‘इन्डियामा बसेर आफ्नो नेवारी भाषा समेत भुलेको थिए, पछि नेपालमा आएर फेरि सिक्नु पर्यो,’ उहाँले भन्नुभयो, ‘नेपाल आएर विद्या मन्दिरमा २ कक्षामा भर्न भए, १५ महिनामै ५ कक्षा सम्मको यात्र तय गरे । त्यो समयमा ६,६ महिनामा परीक्षा हुने भएकाले उनी थोरै समयमा ५ कक्षामा पुगे । २०२० सालमा काठमाण्डौ गएर एसएलसी दिनुभएका श्रेष्ठले तेस्रो श्रेणीमा एसएलसी पास गर्नु भयो ।’

नेवारी परिवारका घरको एक्लो छोरा श्रेष्ठलाई अरु नेवारी समुदायको तुलनामा आर्थिक अवस्था कमजोर नै भए पनि नपुग्दो थिएन । एक्लो छोरो भएकाले आफूलाई केही भयो भने अपुताली पर्छ भनेर बुबा आमालाई आफ्न्तले कुरा सुनाए पछि एसएलसी पास गरे लगत्तै विवाहका लागि दबाब सुरु भयो,’ उहाँले विगत सम्झदै भन्नुभयो, ‘भर्खर एसएलसी पास गरेको थिए, घरबाट विहेको दबाब आयो, जागिर पनि थिएन, बाउको सम्पतिको नाउमा ३ मुरी धान हुने खेत र अशं बण्डामा परेको आदी घर, दोधारमा परे म” । विवाह गरेर कसरी पाल्ने त श्रीमती ? सोँच्दा सोँच्दै बागलुङ बजारको नाम चलेको व्यापारी नेवारकी छोरीलाई साथीभाइले विहे गर्न सुझाए पछि १८ वर्षको उमेरमै आफू भन्दा ४ वर्ष जेठी सिन्दुरी कुमारी श्रेष्ठ संग विवाह गरेर घरजम गरेको श्रेष्ठ बताउनुहुन्छ ।

घरजम बसालेको त्यही वर्षमा २०२१ को पञ्चायती कालमा खरदार भएर १५० रुपैयाँको जागिर सुरु गर्नुभयो । विहे गरेको अर्को वर्षमै छोरा जन्मियो । ३ छोरा र १ छोरीको बुबा भए पछि जिम्मेवारी थपिदै आयो । २ वर्ष जागिर गरेर सहकारीको तालिम लिन काठमाण्डौ छिर्नुभएका श्रेष्ठले १ वर्षको सहकारी तालिम लिएर बागलुङ आउनुभयो । २०२४ सालमा कालिका गाउँ पञ्चायतको सचिव भएर समेत काम गर्नुभयो ।

२०२४ सालमा आइए पास गरे सँगै पढाइमा ब्रेक भए पनि सामाजिक कार्यमा भने अग्रसर हुन थाल्नुभयो । ‘बागलुङका विभिन्न मानिसहरु मिलेर हामीले अहिले कन्या मन्दिर भएको विद्यालय सुरु गर्ने बेलामा अनिवार्य निशुल्क पाठशाला खोलेका थियौ, त्यसबेला हाल सम्म बागलुङमा सामाजिक संघ संस्थामा कुनै न कुनै हिसाबले जोडिएर काम गरिरहेको छु ।’ जीवनका ७ दशकमा धेरै सामाजिक काम गरे पनि बुढेसकाल लागेर होला, अहिले कैयन काम र सम्झना बिर्सिसकेको उहाँको भनाई छ ।

परिवारका सदस्य भन्ने गर्दथे–‘जति समय सामाजिक काममा लागाउनु भएको छ, त्यति समय घर, परिवार र पैसा कमाउन लागेको भए हामीलाई दुःख गर्नुपर्ने थिएन तर, मेरो मनमा लाग्दछ सामाजिक काम गर्नु नै सबै भन्दा ठूलो उपलब्धी हो । जीवनमा मरेर लानु के नै छ र ?’ श्रेष्ठ भन्नुहुन्छ, ‘जीवनमा आफ्नो जीवन साथीले साथ दिए जस्तोसुकै परिस्थिति पनि पार गर्न सकिँदो रहेछ ।’ बागलुङ बजारको धनाढ्को छोरी हुँ भनेर श्रीमतीले कहिल्यै घमण्ड नगरेकाले वैवाहिक जीवन सुखमय बितेको उहाँको भनाई छ ।

२०३२ सालमा ५ हजारमा घडेरी किनेर ३० हजारमा घर बनाएर बागलुङ बजारमा बसाई सर्नुभएका श्रेष्ठ अहिले पनि त्यही घरमा हुनुहुन्छ । ‘त्यो समयमा वर्गिय संगठनको कार्यालय सचिव, २०२९ सालमा गाउँ फर्कमा सुब्बा भएर ४ वर्ष काम गरेको र त्यसपछि २५ वर्षको उमेरमा युवा संघको कार्यवाहक सभापति भएर पञ्चायती कालमा काम गरेको थिए’, श्रेष्ठले भन्नुभयो, ‘१२ वटा ठाउँमा जागिर गरे, दुई दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा काम गरेको छु ।’ २०३८ सालदेखि २०५२ साल सम्म नेपाल रेडक्रस सोसाइटी बागलुङमा उपसभापतिमा रहेर बागलुङको गाउँ–गाउँमा काम गर्न गएको उहाँ सम्झनुहुन्छ ।

बागलुङ आँखा अस्पतालको सुरुवात संस्थापक अध्यक्ष भएर आँखा अस्पताको भवन निर्माण काम देखि नेपाल परिवार नियोजन संघको उपसभापति भएर समेत सेवा गर्नुभयो । २०६२÷६३ को जनआन्दोलनका समयमा धौलागिरी अस्पतालको अध्यक्ष भएर दुई वर्ष काम गर्नुभयो । विद्यामन्दिरमा भवन निर्माण देखि धनधान्याञ्चल सम्मको कामलाई सफल पार्न अनवरत भूमिका खेल्नुभयो । निरयघाट स्थितर ओमकारेश्वर शिवालय आश्रमको भवन निर्माण, अन्तर्राष्ट्रिय आइ केयर संस्थासंग समन्वय गरेर नेत्र ज्योति संघमा विभिन्न सहयोग र कार्यक्रम ल्याउन, बलेवाको जनता मावि विद्यालयमा अन्तराष्ट्रिय संघ संस्था संग समन्वय गरेर काम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राधाकृष्ण मन्दिर, सत्यसाई केन्द्र बागलुङको भबन निमार्ण, बागलुङ उद्योग बाणिज्य संघ देखि बागलुङका सहकारी र अन्य संघ संस्थामा पनि आवद्ध भएर सेवामा निरन्तर क्रियाशील रहनुभयो ।

‘सेवा नै धर्म भएका कारणले केही पाउला भनेर समाज सेवा गरेको होइन तर, समाजमा केही गरेपछि मानिसहरुले सम्मान स्वारुप सम्मान पत्र दिनुहुन्छ, खुशी लाग्दछ’ श्रेष्ठ विगत सम्झदै केही भावुक मुद्रामा देखिदै भन्नुभयो, ‘जीवनभरको कमाई नै तीनै सम्मान पत्र भएका छन् अहिले । ८४ लाखको योनी सफल गरेसी मात्र मनुष्यको योनी पाउँछन् । मनुस्यको योनी पाएको बेलामा केही न केही गर्ने इच्छा र दृढता राख्नु पर्दछ, मनुष्यको जुनी सार्थक कसरी गाउने भनेर मैले साँेच्दा मानिसको सेवानै जीवनलाई सार्थक बनाउने महत्वपूर्ण अस्त्र हो भन्यो लाग्यो र जीवनको अधिकांश समय सामाजिक सेवामा लगाएको हँु ।” हालै मात्र कोरोना भाइरसका कारण जीवन संगिनी गुमाउनु भएका श्रेष्ठ त्यो क्षणले निकै पीडा दिने बताउनुहुन्छ । ‘अहिले एक्लै छु । समयले नेटो काटी सक्यो । अहिलेको समय पैसामा बिकेको छ,’ उहाँले भन्नुभयो,‘हाम्रो पालामा सेवा गर्नु पर्दछ । परिवार, समाज र देशको लागी केही गर्नुपर्दछ भन्ने हुन्थ्यो तर, अहिले सबै कुरा पैसाले खरिद गर्दछ ।’

संगै बाच्ने संगै मर्ने भनेर बाचा कसम खाएकी जीवन संगिनीले समेत छोडेर गइसकेकाले अबका दिन उनको सम्झना बिताउने र आगामी दिनमा धेरै चाहना नभएको बताउनुहुन्छ । ‘मैले लामो समय देखि ‘के सोचे, के भयो’ भन्ने पुस्तक लेख्दै आएको छु । त्यो पुस्तकमा मैले मेरो जीवनको अनुभवहरु लेखेको छु । दुई वटा भाग निकालेको छु । अब तेस्रो भाग निकाल्ने तयारीमा छु । अब आफ्नै ‘कथा आफ्नै ब्यथा’ नामको पुस्तक लेख्दैछु,’ श्रेष्ठले भन्नुभयो । यी दुई पुस्तक प्रकाशन पछि लेखनबाट सन्यास लिने विचार गरेको उहाँको भनाई छ । ‘सन्यास लिएर कालिगण्डकीको तिर निर्णय घाटमा बस्ने मन छ । तर, त्यो निर्णय घाट नभएर मासिनको जिन्दगीको निर्णय लिने ठाउँ भएका कारणले मैले सधै त्यो कालिगण्डकीको तिरलाई ‘निर्णय घाट’ भन्ने गरेको छु,’ उहाँले भन्नुभयो, ‘८० साल सम्म बाँचेमा म जिन्दगीको निर्णय लिने निर्णय घाटकै आश्रममा बस्ने विचार गरेको छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *