बेमौसमी वर्षाले बागलुङमा एक सय बढी रोपनीको धानबालीमा क्षति

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ५ का नरसिंह घर्तीले साढे १० मुरी उत्पादन हुने खेतको धान दसैँको पछिल्लो दिन (३० गते) भित्राउनका लागि खेताला लगाएर काट्नु भयो । ३० गते धान काटेर ३१ गते सुकाई कात्तिक १ मा भित्राउने योजना बनाउनु भयो । तर, घर्तीले धान काटेको भोलिपल्ट देखि नै भारी वर्षा भयो । रातिदेखि पानी परेका कारण घर्तीले खेतमा फिँजारेर राखेको धानलाई एकै ठाउँमा जम्मा गरेर ओत लगाउने अवसर समेत पाउनु भएन । अहिले खेत रोपाइ गर्ने जस्तै हिलाम्य ताल भए पछि धान कृषक चिन्तित बनेका छन् ।

घर्ती भन्नुहुन्छ, ‘दिउँसोको समयमा पानी पर्न सुरु गरेको भए त छरछिमेकीलाई बोलाएर धानमा ओत लगाउँथेँ, रातिबाट पानी पर्न सुरु ग¥यो, रातिको बेला कता कोलाई बोलाउने ? खेत पनि टाढा थियो, पानी प¥यो पिरले मुटु खायो, खेत तिर हेर्ने बाहेक मसँग कुनै विकल्प थिएन,’ उहाँले भन्नुभयो ‘भोलिपल्ट एकाविहानै खेतमा गएँ, पानी परिहेको थियो, खेतमा गएर के गर्नु ? केही गर्न सकिन, धान पराल सबै पानीले भिजेको अवस्थामा थियो ।’

मानो छरेर मुरी उब्जाउने बेलामा विपद् बनेर बेमौसमी झरी परे पछि घर्ती जस्तै हजारौ किसान पीडा र सप्तापमा छन् । वषभरीको दुःख परिश्रम भित्राउन नपाउँदै पानीले नष्ट गरि दिए पछि अहिले रातमा निन्द्रा समेत परेको छैन । अब पानी नपरेर घाम लागे केही दिन सुकाएर भए पनि धन भित्राउने आशामा किसान छन् । तर, झरी निरन्तर परिरहेकाले अझै क्षति बेहोर्ने पिरलो छ । जल तथा मौसम पूर्व अनुमान महाशाखाले बिहिबारदेखि मौसममा परिवर्तन आउने जनाएको छ ।

मार्सी जातका धान लगाएकाले अरु धान भन्दा छिटो पाकेको हुँदा दसैँ लगत्तै काटेर भित्राउने चटारोमा रहेका किसान बढी मर्कामा छन् । निसीखोला क्षेत्रमा अधिकांश जडन प्रजातिका धान लागउने भएकाले धेरै क्षति हुन पाएको छैन । मार्सी जातको धान लगाएका किसानलाई भने यो बेमौसमी वर्षाले दुःखी बनाएको छ । स्थानीय बलबहादुर कँडेलले १२ मुरी धान नष्ट भएको बताउनुभयो । पानीले मार्सी धान रोपेका आफ्ना छिमेकी र आफ्नो गरि करि ३० मुरी धानमा क्षति पुगेको बताउनुहुन्छ ।

बागलुङ जिल्लाभर लगातार ४ दिनको वर्षातले १ सय रोपनी भन्दा बढी क्षेत्रफलमा लगाइएको धान बाली नष्ट भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । उहाँले तराईका जिल्लामा जस्तो बागलुङ क्षति नपुगेकाले जिल्लाका सबै स्थानीय तहबाट अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसेको बताउनु भयो । यद्यपि कृषकहरुले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानमा लगाइएको एक सय रोपनी बढीमा क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको उहाँको भनाई छ ।

‘जिल्लाको सबै पालिकाबाट हामीले क्षतिको विवरण संकलन गरिराखेका छौँ, अहिले पनि झरी नरोकिएकाले एकिन विवरण संकलन हुन सकेको छैन, क्षति केही दिन पछिसम्म पनि हुन सक्छ,’ प्रमुख भट्टराईले भन्नुभयो ‘पानी बन्द भए पछि पनि खेतका गह्राहरु भत्किने हुँदा अहिले भर्खरै क्षतिको विवरण निकाल्न समस्या छ, तर हामीले कहाँ कति क्षति भयो भन्ने बारेमा तथ्ङ्याक संकलन गर्न सुरु गरिसकेका छौँ ।’

बागलुङ जिल्लाभर ५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको छ । जिल्लामा १८ हजार ६०० मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *