शहरबाट गाउँ फर्केर कृषि फर्म, करोड बढी लगानी

आदर्श अनलाइन, बागलुङ
२०४२ सालमा पर्वतको मल्लाजबाट बागलुङ बजार बसाई सर्नुभएका ४८ वर्षका विरेन्द्र कुमार पुन रोजगारीका लागि कोरिया जानुभयो । केही वर्ष कोरिया बिताएर नेपाल फिरे पनि पुनः २०६० सालमा कोरिया नै जानुभयो । त्यसपछि श्रीमती सादगी केसी थापाले बागलुङ बजारमा फेन्सी पसल सञ्चालन गर्नुभयो ।

१३ वर्षको कोरिया बसाई सकेर बागलुङ बजार फर्कनुभएका विरेन्द्र पुन उहाँकी श्रीमती अहिले बागलुङका काठेखोला गाउँपालिका–५ स्थित बिरौटा गाउँमा बस्नुहुन्छ । बजारको सुखसयलमा विताएका दिनहरु विस्तारै गाउँले जीवनमा घुलमिल हुँदैछन् । एकान्त गाउँमा जम्मा पाँच घर रहेको बिरौटाका मानिसहरु विस्तारै बसाई सराई गर्दै आएका कारण घरहरु रित्ता जस्ता देखिन्छन् ।

कोरियामा परिश्रम गरेको बानीले विरेन्द्रलाई शहरको कोलाहल खासै मन परेन । फलस्वरुप डेढ वर्ष काठमाण्डौका फर्पिङ गाउँमा विताउनुभयो । कोरियामा कम्पनीमा काम गरे पनि कृषिलाई नजिकबाट नियाल्नु भएका विरेन्द्रले नेपालमा कृषिको राम्रो सम्भावना देख्नुभयो । फर्म विकास गर्ने योजना कोरियामा रहँदा बनाउनु भएको भने थिएन । फर्पिङ गाउँमा साथीहरुसंग मिलेर कृषि पेशाका लागि टनेल जस्ता फर्मका लागि आवश्यक काम गरेर बिताए पछि उहाँलाई गाउँ गएर नमुना कृषि फर्म स्थापना गर्न सकिन्छ भन्ने मनमा लाग्यो ।

यसबिचमा उहाँले समाचारमा कृषिका सम्भावना, संघर्ष, सफलताका थुप्रै कथा पढ्नुभयो । उहाँलाई लाग्यो अब यो शहरको कोलाहाल भन्दा केही टाढा एकान्त गाउँमा जाने योजना बनाउनुभयो । उहाँले २०७६ सालदेखि जग्गा खोज्दै भौतारिनुभयो ।

अन्ततः काठेखोला गाउँपालिकाको एक समथर भूभाग रहेको बिहुँ बिरौटामा राजु खड्कासंग मिलेर ७० रोपनी जग्गा खरिद गर्नुभयो । निकै शान्त वातावरणमा कृषि कर्म गर्ने उद्धेश्यले राजु खड्कासंग मिलेर विरेन्द्र पुनले जग्गा खरिद गरी बागलुङ कालिका कृषि तथा पशुपंक्षी फर्म स्थापना गर्नुभएको छ ।

एक वर्ष देखि विरौटा गाउँमा विरेन्द्र र उहाँकी श्रीमती बस्दै आउनुभएको छ । “एकान्तमा बसेर कृषि कर्म गर्ने रहर लाग्यो, कृषिका केही अनुभव र फर्म विकासको कोरियामा देखेको नमूना सदुपयोग गर्ने भनेर एक वर्ष देखि यहाँ आएर बसेको छु” उहाँले भन्नुभयो “कृषि र पशुका सबै उत्पादन गर्ने उद्धेश्य छ, अहिले बाख्रा, कुखुरा र हाँस बाट फर्मको शुरुवात भएको छ, अहिल सम्म जग्गा सहित एक करोड लगानी पुगिसकेको छ ।” पुनका अनुसार फर्ममा अहिले भौतिक पूर्वाधारको काम समेत धमाधम चलिरहेको छ । फर्म तारबार गर्ने, सडकको पहुँच निर्माण गर्ने लगायतका काम भइरहेको छ ।

शहरमा बस्दै आउनुभएको श्रीमती सादगी केसीले गाउँमा बस्दा निकै आनन्द लागेको सुनाउदै अब शहरमा भन्दा गाउँमै बस्ने बताउनुभयो । “फेन्सी पसल समेत धेरै समय सञ्चालन गरे, अहिले फर्ममा बस्दै आएका छौं, यहाँ अर्कै आनन्द मिल्दो रहेछ” पुनले भन्नुभयो “चाडबाडको समयमा बजारमा आफन्त समेत भएकाले उतै जाने हो, अघिपछि यही बस्ने र सके कृषिमा पसिना बगाउने योजना छ ।” उहाँ त्यही जग्गा भित्र रहेको एक खाली घरमा बस्दै आउनुभएको छ । उहाँहरु बस्न थाले पछि बसाई सराईले खाली भएको अर्को घरमा समेत अलैची खेती गर्ने गरी किसानहरु आएर बसेका छन् ।

२०० बाख्रा क्षमताको फर्म निर्माण भइसकेको छ । अहिले स्थानीय जातका १६ बाख्रा फर्ममा छन् । लोकल जातका ५० कुखुरा, अमेरिकन हाँस ५० रहेका छन् । टनेलमा तरकारी रहेको छ । केही रोपनी खेतमा धान फलिरहेको छ भने केही खरबारी छ । बाख्रा पालनका लागि उहाँहरुले खरबारी समेत खरिद गर्नुभएको छ ।

“एउटा नमूना फर्मको रुपमा विस्तार गर्ने उद्धेश्य छ, फर्ममा दुध देखि मासु उत्पादनमा सबै पशुपालन गर्ने, तरकारीमा मौसमी र बेमौसमी सबै प्रकारका” उहाँले भन्नुभयो “गाउँमा आनन्दले बस्दै जाने कमाई भएको रकमले फर्मलाई बढाउदै लैजाने, पछि ७० रोपनी जग्गालाई नै फर्मको रुपमा विकास गरिने योजना छ, कति सकिन्छ ।” आयात मुक्त फर्म गराउने र अर्गानिक पशुपंक्षी तथा तरकारी उत्पादनको योजना उहाँसंग छ । जस्तैः बाख्राका लागि चाहिने अन्न तथा घाँस त्यही उत्पादन गर्ने, कुखुरालाई दाना अन्नबाटै निर्माण गर्ने लगायतका योजना रहेको छ ।

विरन्द्रले अघि सारेको योजनामा हातमा हात मिलाएको राजु खड्काले बताउनुभयो । उहाँले कोराना पछि कृषिमा केही गर्ने सोँच पलाएको र दीर्घकालीन योजना सहित गाउँपालिकाको एउटा कुनोमा घर जग्गा खरिद गरेको बताउनुभयो ।

खड्काले बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा समेत ९ रोपनी जग्गामा कृषि कर्म गर्न थाल्नुभएको छ । कोरोना अघि उक्त जग्गा बाझै रहेको भए पनि कोरोना पछि त्यहाँ धान र तरकारी खेती गर्नुभएको छ । खड्काले उक्त जग्गामा कफी खेती गर्ने योजना समेत बनाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *