यातायात व्यवसायी भन्छन्ः‘ऋण र किस्ताको पीडाको के हिसाब ?’

आदर्श अनलाइन, बागलुङ
८ वर्ष देखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना कहर बज्रपात बनेर आयो । निरन्तर रुपमा यातयात क्षेत्रमा लगानी गर्दै आउनुभएका खड्कालाई कोरोना कहरले निकै पिरोल्यो । एउटा यात्रुवाहक बस र एउटा माइक्रो बस सञ्चालन गर्दै आउनुभएका खड्काले कोरोनाको दोस्रो लहर सम्म किस्ता तिर्नै नसक्ने अवस्थामा आए पनि यातायात क्षेत्रबाटै पलायन हुनुभयो । उहाँले निकै घाटामा आफ्ना सवारी साधन विक्री गरेर ऋण घटाउनुभएको छ ।

कोरोनाले गर्दा आठ वर्षदेखि निरन्तर चल्दै आएको यातायात व्यवसायबाट पलाउन हुन पुगेको खड्काले नमिठो अनुभव सुनाउनुभयो । “कोरोना कहरका कारण यातायात क्षेत्र ठप्प भयो, बैंकको किस्ता तिर्न कठिनाई भयो, त्यसैले बस र माइक्रोबस दुबै बेचेर बसेको छु” खड्काले भन्नुभयो “लामो समयदेखि जमेको व्यवसायमा एक्कासी घाटामा डुब्नु पर्ने अवस्थामा पुग्नु भनेको निकै जटिल विषय हो, अब केही समय व्यवसाय गर्दिन, पछि केही सोचाैँला ।”

पर्वतको कुस्मा बजारमा घर भई धौलागिरीबाट देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्दै आउनुभएका तुलक अधिकारीले कोरोना कहरमा आफ्ना दुई स्र्कापियो गाडी गुमाउनुभयो । कोरोनाका कारण सवारी चलाउन नसके पछि दुई स्र्कापियो बेचेर बसको किस्ता तिरेको नमिठो अनुभव अधिकारी संग छ । अहिले बागलुङ, कुस्मा र म्याग्दीबाट अधिकारीमा ६ वटा ठूला बसहरु नेपालका बिभिन्न स्थानमा सञ्चालन हुँदै आएका छन् । उहाँले दसैँ तिहार सुरु भएपछि सवारी खर्च र चालकको तलब तिर्न सक्ने भएको बताउनुभयो ।

“यातायात व्यवसायीको पीडा सुन्न सक्ने छैन, म जस्ता धेरै व्यापारी यो क्षेत्रबाट पलायन भइसकेका छन्, मैले दुई करोड ५० लाख ऋण बैंकलाई बुझाउन छ” अधिकारीले भन्नुभयो “जनतन ६ वटा बस धानेर बसेको छु, अब केही राहत होला, दसैं अघि एकहोरो जिल्लामा यात्रु ल्याउने काम भयो, अहिले पु¥याउने भइरहेको छ, पुरानै लयमा यातायात व्यवसाय फर्किन अझै दुई वर्ष लाग्ला ।”

राज्यले अति प्रभावित क्षेत्रमा रहेको यातायात व्यवसायलाई उठाउन सक्दो पहल गरोस् भन्ने चाहना रहेको अधिकारीले बताउनुभयो । दुई वटा एसी बस बागलुङ काठमाण्डौं र अन्य बस कुस्मा र म्याग्दीबाट छुट्याउँदै आउनुभएको छ ।

सहकारीबाट ऋण खोजेर बैंकको किस्ता तिर्दै आएको भन्दै अधिकारीले कतिञ्जेल घर धितो राखेर ब्याज तिर्नुपर्ने अन्योलमा रहेको दुखेसो पोख्नुभयो । अधिकारीको यातायात क्षेत्रमा मात्रै पाँच करोड भन्दा बढी लगानी रहेको छ ।

यातायात क्षेत्रमा तीन करोड लगानी गर्नुभएका काठेखोला गाउँपालिका–२ भिमापोखराका कुमार बम मल्लको व्यथा उस्तै छ । दुई वटा एसी सहितको यात्रुबाहक बस सञ्चालन गर्दै आउनुभएका मल्लले दुई वर्ष आफ्ना नयाँ सवारी साधन ग्यारेजमा नै थन्केर बसेको उहाँले बताउनुभयो । उहाँले अहिले दसैंमा बल्ल सवारीले आफ्नो खर्च उठाउन थालेको जानकारी दिनुभयो ।

“तीन करोडमा दुई ठूला बस खरिद गरेको थिए, कोरोनामा बैंकलाई किस्ता हैन, ब्याज मात्रै तिर्न समेत हम्मे हम्मे भयो” मल्लले भन्नुभयो “कति साथीहरुले ग्यारेजबाट अझै सवारी साधन निकाल्न सकेका छैनन्, सवारीको टायर फेर्न नसक्ने अवस्था छ, पुरानै अवस्थामा फर्कन हामीलाई निकै समय लाग्नेछ ।”

यातायात व्यवसायीनै कोरोनाको प्रमुख मारमा भएकाले राज्यले यातायात क्षेत्रलाई टिकाउने खालको नीति ल्याउनुपर्ने यातायात व्यवसायीको माग छ । यातयात व्यवसायीको ऋणको अवधी बढाउने, तत्कालै मर्मत सम्भार खर्चलाई पुनः ऋण दिने गरी सरकारले नीति पुनः कर्जा दिने नीति ल्याए पनि व्यवहारमा लागु नगरेको धौलागिरी यातायात प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

दसैं तिहार पछि र खोपको प्रबन्ध भए पनि यातायात क्षेत्रमा आशाको किरण पलाएको केसीले बताउनुभयो । “केही आशाको किरण देखिएको छ, यस बिचमा दर्जन सवारी साधन व्यवसायीहरु पलायन हुन परेको छ, ऋण थेग्न नसक्ने अवस्थामा पुगिसकेको थियो” केसीेले भन्नुभयो “राज्यले नीति नियम बनाएर कार्यान्वयन नगर्ने हो भने समस्या हुन्छ, अहिले पनि बैंकहरुले ताकेता गरिरहेका छन्, व्यवसायीहरुले कमाएपछि ऋण नतिर्ने कुरै हुँदैन ।”

यातायात व्यवसायीलाई पलायन हुनबाट बचाउन राज्यले मुख्य जिम्मेवारी लिनुपर्ने यातायात व्यवसायी संगठनहरुको समेत माग छ । अत्यावश्यक क्षेत्रका रुपमा रहेको यातायात व्यवसायीलाई कोरोनाले थला पारेको भए पनि विस्तारै बौरने अवस्थामा आउने यातायात व्यवसायीको अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *