भवन निर्माणमा सहयोग जुटाउदै मानव सेवा आश्रम

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा २०७४ साल चैत्र देखि स्थापना भएको मानव सेवा आश्रमले गत आर्थिक वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवन निर्माणमा जुटेको छ । जग्गा अभावनमा भवन निर्माण गर्न कठिनाई भएको आश्रम बागलुङ शाखालाई बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा व्यवस्थापन भएपनि भवन निर्माणमा जुटेको छ ।

गत वर्ष ७० लाखको लागतमा आश्रमको भूईतला ढलान गरिएको मानव सेवा आश्रमले जनाएको छ । आश्रमको भवन निर्माणका लागि बागलुङ नगरपालिकाको समन्वयमा गुठीको जग्गा उपलव्ध गराइएको थियो । जग्गा व्यवस्थापन गरेर भवन निर्माणमा जुटेको आश्रमलाई केही आर्थिक सहयोग समेत जुट्दै आएको छ । यद्यपी आश्रमले पूर्णता पाउन रु. सात करोड खर्च लाग्नेछ ।

भवन निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक सुमिरा लामाले बताउनुभयो । हालै बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले आश्रम निर्माणका लागि रु. दुई लाख ५० हजार सहयोग गर्नुभएको छ ।

त्यस्तै बागलुङ बजार निवासी उज्जल खड्काले रु. एक लाख र जन्मदिनको अवसरमा बागलुङमा व्यवसायी सरोज श्रेष्ठले आश्रमको भवन निर्माणका लागि रु. एक लाख ११ सहयोग गर्नुभएको संयोजक लामाले बताउनुभयो । यस्तै आश्रम निर्माणका लागि ५० बोरा सिमेन्ट भारी ग्लास हाउसका सञ्चालक राजेश भारीको परिवारले सहयोग गर्नुभएको छ भने सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले रु. ५१ हजार सहयोग प्रदान गरेको छ ।

आश्रम निर्माण लागि हाल सम्म गण्डकी प्रदेश सरकारले रु. ५० लाख आश्रम बागलुङ शाखाले २० लाख तथा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग प्राप्त रकम तथा जिन्सी गरी रु. पाँच लाख ५० हजार गरी हाल सम्म आश्रम निर्माणका लाथि ७५ लाख रकम जुटेको छ । यो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले आश्रम निर्माणका लागि रु. ५० लाख बजेट विनियोजन गरेको आश्रमले जनाएको छ । “आश्रम निर्माणका लागि कोरोना कहरले ठूलो प्रभाव पा¥यो, अहिले पनी प्रचार प्रसार गर्ने तथा सहयोग संकलन गर्ने अभियान गर्न पाइएको छैन, आफै स्तस्फूर्त सहयोग मात्रै जुटेको छ” आश्रम संयोजक लामाले भन्नुभयो “महायज्ञ लगाउने हाम्रो योजना थियो, कोरोनाले धकेलियो, सायद अबको तीन चार महिनामा यज्ञ लगाउने तयारी छ, सबैको सहयोगमा आश्रमको सात रोपनी जग्गामा सुविधा सम्पन्न पूर्वाधार निर्माण हुँनेमा विस्वस्त छौं ।”

अहिले मानव सेवा आश्रम बागलुङ नगरपालिका–३ किनाराटोलमा अर्केको जग्गामा अस्थायी संरचना निर्माण गरी असहाय मानिसहरुलाई सहारा दिदै आएको छ । आश्रममा अहिले ४९ जनाले आश्रय लिएर बस्दै आएकाछन् । जन्मदिन, पुण्य तिथि लगायतको अवसरमा संकलन भएको खाद्यन्न, जिन्सी तथा नगदले आश्रम सञ्चालित छन् ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ ।

निरयघाटमा सुविधा सम्पन्न संरचना निर्माण भएमा १५० जना सडकमानवलाई सेवा दिन सकिने छ । बागलुङ नगरपालिकाको पहलकदमीमा निरयघाटको गुठीको पाँच रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण गर्न दिइएको बताउदै सडक मानव मुक्त अभियानमा नगरपालिकाको पूर्ण सहयोग रहने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *