समावेशी चर्का नारा, निराश उपस्थिति

डम्मर बुढा मगर, बागलुङ
नेपालमा रहेका राजनीतिक दलहरुले सबै क्षेत्रमा समान सहभागिता (समावेशी)को मुद्धा सवालमा चर्का चर्का नारा र भाषण गर्छन् । नेपालको संविधानदेखि पार्टी विधानमा पनि विगतको तुलनामा धेरै कुरा समाविष्ट भएको पनि छ । तर,परिवर्तित व्यवस्थामा पनि समावेशिताको प्रभावकारी कार्यान्वयनमा व्यापक समस्या र रिक्तता देखिएको छ ।

२०७४ सालमा जारी संविधानले आरक्षण गरे अनुसार केही सकारात्मक अभ्यास आरम्भ भए पनि यसले नेतृत्व र निर्णायक तहमा पछाडि परेका र पारिएका वर्ग र समुदायको उपस्थिति उदेकलाग्दो अवस्थामा देखिन्छ । बागलुङ जिल्लामा देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको गाउँ तहको अधिवेशन र नेतृत्व हेर्दा महिला शुन्य उपस्थिति छ ।

अघिल्लो महिना नेपाली कांग्रेसले वडा र नगर अधिवेशन सम्पन्न ग¥यो भने शनिबारदेखि नेकपा एमालेले पनि वडा अधिवेशन सुरु गरेको छ । हालसम्म जिल्लाका ८५ वडा मध्ये ७१ वडाले नेतृत्व पाएको छ । यो अधिवेशनबाट ठूलो संख्यामा युवाको उपस्थिति बढे पनि महिला नेतृत्वको भने जिल्लाभर खडेरी छ । यस अगाडी भएको नेपाली कांग्रेसको अधिवेशनमा पनि महिला नेतृत्व शून्य प्रायः थियो ।

समान सहभागिताको मुद्धा उठाउने राजनीतिक दलको नेतृत्वमा उदेक लाग्दो अवस्था हुँदा पनि महिला नेतृ, अधिकारकर्मीहरुले भने यसमा छिटफुट मात्रै प्रश्न गरेका छन् । नेतृत्वका लागि महिला तयार नभएको या पुरुषवादी चिन्तनका कारण महिलालाई अघि बढ्न नदिइएको हो भन्ने सवाल गम्भीर बनेको छ । राजनीतिक दलहरुले महिला स्वंयम् नेतृत्वमा आउनका लागि अनिच्छुक देखिने गरेको बताइरहेका छन् ।

नेकपा एमाले केन्द्रीय निर्वाचन विभागका सचिवालय सदस्य ममतादेवी शर्माले पितृ सत्ताका कारण अझै पनि महिलाहरु नेतृत्वमा आउन नसकेको बताउनुभयो । शर्माले अझै पनि नेपाली समाजमा महिला प्रति हेर्ने दृष्टिकोण पुरानै भएको भन्दै महिलाहरु पनि नेतृत्वका लागि जागरुक र इच्छा शक्ति देखाउनु पर्ने बताउनुभयो । ‘मुलुकमा धेरै परिवर्तन भयो, व्यवस्था परिवर्तन भए तर महिला प्रति हेरिने दृष्टिकोण परिवर्तन हुन सकेन, जबसम्म महिलालाई हेरिने दृष्टिकोणमा परिवर्तन आउँदैन, तबसम्म महिलाहरु नेतृत्वमा आउन सक्ने देखिदैन,’ शर्माले भन्नुभयो ‘त्यसका लागि महिला पनि जागरुक हुनु पर्छ, इच्छा देखाउनु पर्छ, प्रतिवाद गर्न सक्नु पर्छ ।’

शर्माले महिलाहरु क्षमतावान छैन भन्ने चिन्तन अझै पनि विद्यमान रहेको भन्दै राजनीतिमा महिलाहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको बताउनुभयो । महिला–महिला बिच पनि प्रतिस्पर्धा हुँदा नेतृत्वमा पुग्न नसक्ने समस्या रहेको भन्दै राज्य संचालनमा महिलाको भूमिका अपरिहार्य भएको बताउनुभयो ।

‘अहिले पनि महिलाहरुलाई भोट बैंकका रुपमा लिइएको छ, मुलुक परिवर्तनका लागि महिलाहरुले निकै ठूलो योगदान पु¥याएका छन्, तर पनि नेतृत्वमा पुग्नका लागि अझै पनि चूनौतिपूर्ण देखिएको छ,’ उहाँले भन्नुभयो ‘अहिले जति पनि पुरुष नेतृत्वमा छन्, त्यो सबै महिलाका कारण पुगेका हुन्, उनीहरुलाई सत्तामा, नेतृत्वमा पु¥याउने महिलानै हुन् ।’

नेपाली कांग्रेसकी जिल्ला सदस्य गण्डकी थापा अधिकारीले नेतृत्वमा पुरुष बढी हाबी हुँदा महिला पछाडी पारिएको बताउनुभयो । उहाँले महिलाहरु नेतृत्वमा पुग्नका लागि चासो नदेखाउँदा धेरैजसो ठाउँ पुरुषले नेतृत्व गर्ने गरेको बताउनुभयो ।

‘हरेक नेतृत्वका लागि पुरुषको लडाइ हुने गर्छ, साँढेको लडाइँमा बाच्छाको मिचाई भएको जस्तो हुने गरेको छ, नेतृत्वका लागि महिलाहरु उठ्ने हो, पुरुष–पुरुष बिच लडाइ हुने गर्दा पनि महिला पछाडी परेका छन्,’ थापाले भन्नुभयो ‘केही कमजोरी हामी महिलाहरुमा पनि छ, हामी नेतृत्वका लागि आँट गर्न सक्दैनौँ, आफै निर्णय पनि गर्न सक्दैनौँ, त्यसले गर्दा पनि नेतृत्वमा पुग्न सक्दैनौँ ।’

जुनसुकै नेतृत्वका लागि महिलाले आँट गर्न र स्वनिर्णय गर्न सके मात्रै नेतृत्वमा पुग्न सकिने भएकाले अरुको भरमा परे भविष्यमा पनि नेतृत्व पुरुषले गर्दै जाने उहाँ बताउनुहुन्छ । महिलाहरु सक्षम हुँदा हुँदै पनि आफै निर्णय गर्न र अडान राख्न नसक्दा पछाडी पर्नु परेको शर्माको भनाई छ ।

नेकपा एमाले बागलुङ अध्यक्ष इन्द्रलाल सापकोटाले राज्यले नीतिगत व्यवस्था गरे पनि आधारभूत तहमा महिलाहरुको अवस्था निकै कमजोर भएकाले नेतृत्वमा आउन नसकेको बताउनुभयो । उहाँले अहिले अधिवेशन चलिरहेको वडामा कुनै पनि महिलाले नेतृत्वका लागि चासो नदेखाएको दाबी गर्नुभयो ।

अध्यक्ष बाहेक अन्य पदाधिकारीमा भने महिलाहरुको उल्लेख्य प्रतिनिधित्व रहेको सापकोटाले बताउनुभयो । ‘राज्यले समान सहभागिताका लागि नीतिगत व्यवस्था गरेको छ, तर पनि आधारभूत तहमा महिलाहरुको अवस्था निकै कमजोर छ,’ अध्यक्ष सापकोटाले भन्नुभयो । सापकोटाले महिलालाई राजनीति तथा नेतृत्वमा ल्याउनका लागि आधारभूत तहदेखि नै धेरै अभियान र कार्यक्रम लैजानु पर्नेमा उहाँको जोड छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *