बागलुङ नगरको महत्वकांक्षी योजनाः काठेखोला थुनेर जलविहार परियोजना

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउन साथ आधा दर्जन महत्वकांक्षी योजना अघि सारेको थियो । २६ करोड रुपैयाँको लागतमा बन्यजन्तु उद्यान, काठेखोला थुनेर जलविहार सहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्रे गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माण लगायतका महत्वपूर्ण तर केही महत्वकांक्षी योजना अघि सारेको बागलुङ नगरपालिका केही योजना निर्माण सफल गरिसकेको छ ।

बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रेको काम भइरहेको छ भने नगरपालिका नगर विकास कोषको ऋण साझेदारीमा अहिले साविक धौलागिरीमै पहिलो पटक आधुनिक बसपार्क निर्माण गरिएको छ । नगरपालिकाकै पहलमा विश्वकै लामो दाबी गरिएको गोल्डेन ब्रीज निर्माण देखि त्यसको प्रवद्र्धनका लागि विश्व रेकर्ड राख्न समेत पहल भइरहेको छ । अहिले बन्यजन्तु पार्क (प्राणी उद्यान)मा अहिले पदमार्ग निर्माणको काम जारी छ ।

नयाँ संघीय अभ्यासमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुग्न थाल्दा नगरपालिकाले अर्को महत्वकांक्षी योजना अघि बढाएको छ । गत वर्ष नै काठेखोला जलविहार परियोजनाको डिपिआर बनाउने तयारी भए पनि कोरोनाका कारण अहिले अध्ययन भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले तत्कालै रु. २० लाखमा योजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) र निर्माण शुरु गर्नका लागि रु. एक करोड बजेट बिनियोजन गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “खोलालाई पर्यटकीय केन्द्र बनाउने योजना हो, यो सम्पन्न हुँदा पर्यटकलाई पुरै एक दिन भुलाउने गरी संरचना बनाउने योजनामा छौं” नगर प्रमुख पौडेलले भन्नुभयो “भूगर्भविद तथा जियोलजिकलमा दक्ष प्राविधिकहरुलाई लिएर अध्ययन गराउने काम भइरहेको छ, ड्याम बनाउने स्थानको भौगोलिक अवस्थाको विशेष अध्ययन भइरहेको छ, ३०–४० मिटर अग्लो ड्याम बनाएर डुङ्गा चलाउने, माछापालन गर्ने तथा खोला छेउछाउमा रक गार्डेन बनाउने र पर्यटकहरुलाई आर्कषित गर्ने हो ।”

बागलुङ नगरपालिका–३ र बागलुङ नगरपालिका–९ तित्याङ जोड्ने फड्केडाँडाको झोलुङ्गे पुल मुनी देखि माथि नगरपालिकाले काठेखोला थुनेर ५ सय मिटर लामो तलाउ बनाउने योजना छ । खोलाको वारीपारीलाई पर्यटकीय केन्द्र बनाउने र खोलालाई थुनेर बहुआयामिक पर्यटकीय आर्कषणको केन्द्र बनाउने नगरपालिकाको लक्ष्य रहेको पौडेलको भनाई छ ।

काठेखोला थुनेर सञ्चालन गरिने जलविहार परियोजना प्राविधिक टोलीले अध्ययन गर्ने र डिपिआर निर्माणको चरणमा रहेको बागलुङ नगरपालिकाको इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ड्याम बनाइसकेर खोला थुनिसके पछि जलविद्युत निकालेर नियमित आम्दानी गर्न सकिनेछ ।

आयोजनाको लागत अनुमान सहितको डिपिआर पछि मात्रै आउने भए पनि ३० देखि ४० करोड लगानीमा काठेखोला जलविहार परियोजनाले सार्थकता पाउने नगरपालिकाको अनुमान छ । शुरुमा केही करोड खर्चेर ड्याम बनाउने र अनावश्यक पानीलाई ड्याम माथिबाट खसाल्दा मनमोहक झरना समेत बनाइनेछ । ड्याम निर्माण पछि जलविहार गराउँदै लैजाने र विस्तारै आवश्यक संरचना थप गर्न सकिने इन्जिनियर शर्माको भनाई छ । उहाँले बागलुङ जिल्लामा तलाउ नभएका कारण तलाउमा डुङ्गा सयर गराउने गरी पर्यटक आकर्षित गर्न काठेखोला नदी थुन्न थालिएको हो । नदी थुन्ने स्थानमा कुनै बस्ती र खेतीयोग्य जमिन नरहेका कारण समस्या नहुने शर्माले बताउनुभयो ।

“एउटा जलविद्युतका लागि आवश्यक अनुसारकै ड्याम निर्माण हुनेछ, ड्याम माथीबाट पानी खसालेर खोलामै बगाइनेछ, तालमा संकलन भएको पानीको बीचमा टापु बनाइने छ भने बनभोजका लागि स्थान बनाइनेछ” शर्माले भन्नुभयो “तलाउ वारी पारी बँगैचा, उद्यान लगायतका मनमोह प्राकृतिक सुहाउँदो संरचना निर्माण गरिनेछ, जसका कारण नदी थुन्दा अन्य केही समस्या आउनेछैन ।”

खोला थुनेर बनाइएको मानव निर्मित पोखरीमा, डुङ्गा चलाउने, माछा मार्ने, बनभोज स्थल बनाउने लगायतका पर्यटकीय गतिविधि सञ्चालन गरिनेछ । जसका कारण बागलुङ जिल्लाको पर्यटन उचाइमा पुग्नेछ भने यहाँका स्थानीयले रोजगारी पाउनेछन् । तलाउ आसपासमा रेष्टुराँ तथा होटलहरु समेत सञ्चालन हुँदा पर्यटकलाई थप खर्च गर्ने बाटो खुल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *