बिक्न छोडे मादल

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर–६ का पूर्णसिंह नेपालीले एक दशकदेखि मादल बनाउने र बेच्ने गर्दै आउनु भएको छ । विगतमा उहाँको मादल व्यवसाय निकै फस्टाउँदो थियो, तर अहिले संकटमै पर्न थालेको छ । वर्षमा २÷४ सय बढी मादल बेच्दै आउनु भएका नेपालीले अहिले आएर वर्षमा ५० वटा मादल बेच्न पनि धौ–धौ छ ।

पाकापुर्खाले गर्दै आएको यो पेसालाई पूर्णसिंहले अँगालेको १६ वर्ष बित्यो । १६ वर्षसम्म नेपालीले मादल बेचेरै परिवार चलाउने, छोराछोरीको लालनपालन र पढाईलेखाई गर्दै आउनु भएको थियो । अहिले व्यवसाय नै धरापमा पर्न थाले पनि नेपालीले अर्को पेशा अँगाल्नुको विकल्प छैन । २ वर्ष अगाडि सम्म व्यवसायमा राम्रै चले पनि अहिले आएर संकटमै पर्न थालेको छ । जब चाडबाड नजिकिन्थ्यो, उहाँको मादल पसलमा ग्राहकको लाइन लाग्ने गथ्र्यो ।

निसीखोलामा रहेको उहाँको पसलमा निसी, ढोरपाटन, तमान, बडिगाड, रोल्पा र रुकुमबाट पनि ग्राहक आउने गर्थे । आजभोलि चाडबाडको बेलामा समेत मादल निकै कम बिक्री हुने गरेको उहाँको भनाई छ । चाडबाड बाहेक अरु बेला त मादल विक्री नै नहुने नेपालीले बताउनुभयो ।

‘२÷४ वर्षै भयो,मादल बिक्नै छाडेको छ, चाडबाडको बेला अलिअलि बिक्ने गरे पनि अन्य समयमा विक्री हुँदैन, यो तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, विक्री नै भएनन्’ नेपालीले भन्नुभयो ।’

सूचना र प्रविधिको विकासगै मौलिक परम्परा हराउँदै गएका छन् । जसका कारण मादल व्यवसाय पनि संकटमा पर्न थालेको हो । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरु बज्नै छोडे । तिनीहरुको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमहरुको प्रयोग हुन थालेका छन् । गाउँ–गाउँमा ठूला–ठूला स्पिकरहरु भित्रिएपछि मादल विक्रीमा कमी आएको नेपालीको बुझाई छ ।

‘पहिले–पहिले गाउँ–गाउँमा बिजुली थिएन, गीत सुन्न, रेडियो सुन्न ब्याट्रिको प्रयोग हुन्थ्यो, कतै मेला महोत्सव हुँदा, दसैँ तिहार आउँदा मादल बजाएर नाँचगान गर्ने गर्थे,’ नेपालीले भन्नुभयो ‘अहिले त जताततै बिजुली बत्ती पुगेको छ, त्यसले गर्दा मादल किन्नै छोड्न थाले, त्यसको सट्ट बिजुलीवाला स्पिकर ठूलो–ठूलो आवाजमा बजाएर नाँचगान गर्ने गर्छन् ।’

१६ वर्षदेखि गर्दै आएको आफ्नो मूख्य पेशा धरापमा परेको भन्दै नेपालीले दुःख व्यक्त गर्नुभयो । ‘हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि दैनिक घरायसी खर्च समेत धान्न गाह्रो भएको छ, यसले चिन्तित बनाएको छ’ उहाँले भन्नुभयो । नेपालीले पेशा नै परिवर्तन गर्ने सोचमा रहेको बताउनुहुन्छ ।

गाउँ–गाउँमा सूचना प्रबिधिको पहुँच पुगेपछि मादल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् भने बजारमा विद्युतिय सामग्रीहरुको माग भने बढी रहेको व्यवसायी बताउँछन् । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा विद्युतिय सामग्रीहरु बेच्दै आएका मिलन पाण्डेलले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकहरु विक्री हुँदै गएको बताउनुभयो ।

पाण्डेलले पहिले–पहिले चाडबाडको समयमा मादलको विक्री अत्याधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टमहरु धेरै विक्री हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय बजारमा साउण्ड सिस्टमको माग निकै बढि रहेको बताउनुहुन्छ ।

‘अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन् बढी माग भएको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीहरुलाई भ्याइनभ्याई हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ,’ पाण्डेले भन्नुभयो ‘यता इलेक्ट्रोनिक सामानहरु धमाधम विक्री हुन थालेका छन्, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *