दशै तिहारमा झिनियाँ बेचेर मनग्य आम्दानी


खेमराज गौतम, बागलुङ

हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहारको अघिल्लो दिन सम्म झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मिरा श्रेष्ठलाई भ्याई नभ्याई थियो । मिरा संगै उहाँका श्रीमान र छोराले दसैं अघिदेखि रात दिन नभनेर झिनियाँ सहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको थियो ।

तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मिरा श्रेष्ठ सहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन दशै तिहारको याममा भ्याइनभ्याइ हुँने गर्दछ ।, बागलुङ बजारमा सर्वाधिक झिनियाँ मिरा श्रेष्ठले उत्पादन गर्दै आउनुभएको छ । उहाँले दसंै अघिदेखिबाट रु. चार लाखको झिनियाँ बिक्रि गरिसकेको र तिहारमा समेत रु. दुईलाखको

झिनिया सहित अन्य तयारी रोटीका परिकार बिक्री गरिसकेको बताउनुभयो । तीन घण्टामा एक सय दर्जन झिनियाँ उत्पादन गर्दै आएको मिराको भनाई छ ।

“पहिले जस्तो नाफा त छैन तर सात÷आठ वर्षदेखि झिनियाँ बनाउदै आएकी छु एकै सिजनमा आठ लाख सम्म कारोबार गरेको थिए, पछिल्ला वर्षमा झिनियाँको व्यापार केही घटेको छ, अहिले एकै सिजनमा ६ लाखको कारोबार भएको छ” मिरा श्रेष्ठले भन्नुभयो ।

नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनी लगायत रोटी बनाउन भ्याइ नभ्याई हुने गरेको छ ।

बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको श्रेष्ठले बताउनुभयो । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागत रुपमा झिनियाँ बनाउँदै आउनुभएकी श्रेष्ठले बागलुङ बजारमा मात्रै आफू जस्ता दर्जनौं महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउनुहुन्छ ।

अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । श्रेष्ठले तीन वर्ष देखि रु.एक लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरण समेत खरिद गर्नुभएको छ । तिहारमा दाजुभाइलाई सप्तरङ्गी टीकासँगै सप्तरङ्गी झिनियाँ समेत खुवाउने परम्परा रहेकाले उद्यमीहरु विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त छन् । उद्यमी श्रेष्ठले मरेपिपलामा अन्य महिलाहरुले झिनियाँ बनाउन बिस्तारै छोड्दै गए पनि आफूले व्यवसायलाई विस्तार गर्दै लगेको बताउनुभयो ।

श्रेष्ठका अनुसार होससेलमा सोना चामललाई एक हजार ३७० खरिद गर्ने गरिएको छ । एक बोरा चामलबाट करीब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । थोक मूल्यमा झिनियाको एक दर्जनको १०० र फुटकर रु.१५० मा बिक्री गर्दै आइरहेका उद्यमीले यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त देखिन्छन् । दसैं पछि मौसम राम्रो भएका कारण झिनियाँको उत्पादन राम्रो भएको श्रेष्ठको भनाई छ ।

दशैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । श्रेष्ठले रु.६० मा चिनी रोटी, फिनि रोटी ६०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *