कोदो, अब धनीको खाना !


खेमराज गौतम, बागलुङ
बागलुङमा सबै भन्दा बढी उत्पादन हुने अन्न बालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्काउन भ्याई नभ्याई भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकार प्रति स्थानीयको मात्रै हैन, बजारबासी र पर्यटकको समेत आकर्षण बढेको छ ।

बागलुङका घरबास (होम स्टे)को आकर्षण समेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गए पछि कोदोको खेतीमा पुनः बृद्धि हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले स्थित सामुदायिक घरबास बेलढुङ्गा सामूदायिक घरबासमा कोदोको सेलरोटी घरबासको प्रमुख आर्कषण भएको घरबास सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । बेलढुङ्गा घरबास मात्रै हैन, बागलुङका २८ घरबासमा समेत कोदोको ढिडो, रोटी निकै रुचाइएको होम स्टे सञ्चालक बताउँछन् ।

पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिञ्चाई सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आउनुभएको छ । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङ लगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा लगायतको क्षेत्रमा धान खेती बढी मात्रमा हुने गर्दछ ।

तिहारको भोलिपल्ट देखिनै कोदो काट्न व्यस्त भएको बागलुङ नगरपालिका–८ सिगानाका तुलसा गौतमले बताउनुभयो । गौतमले उत्पादन गर्नुभएको कोदो केही घरमै प्रयोग हुन्छ भने केही बजारमा बिक्रीका लागि पठाइने गरेको छ । काठेखोला गाउँपालिका–२ भिमापोखराका किसान जगत केसीले आफूले उत्पादन गरेको कोदो बागलुङ बजारमा बिक्री हुने बताउनुहुन्छ ।

“पहिला गरिबले कोदोको परिकार खाने धनीले चामलको खाना खाने प्रचलन थियो भन्छन् तर अहिले बागलुङ बजार सहित नेपालको महङ्गा होटल तथा रेष्टुराँमा धनीले अर्गानिक खानाको रुपमा कोदोको परिकार रुचाएको पाइएको छ” केसीले भन्नुभयो “अहिले चलन उल्टो भएको छ, ठूला होटलमा कोदोको परिकार पाक्छ, गाउँमा बरु कोदो बेचेर चामाल खरिद गर्ने प्रचलन अझै छ ।”

जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदो खेती प्रमुख अन्न बाली रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिनुभयो । कार्यालयले रैथाने बाली कोदो संरक्षण र पर्वद्धन गर्न थालेको छ । गत वर्ष मात्रै बागलुङमा रैथाने बाली कोदोको संरक्षण र प्रवद्र्धनका लागि मात्रै १५ लाख खर्च भइसकेको केन्द्र प्रमुख भट्टराइले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कोदोको संरक्षणका लागि रु. तीन लाख बजेट रहेको छ ।
यस्तै ग्रामिण पोषण कार्यक्रम अन्तर्गत मुख्यतः कोदो बालीलाई नै बिस्तार प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय संग मिलेर ३० लाख रुपैयाँको योजना कार्यावयन गरिने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । “बागलुङको प्रमुख कोदो बाली संरक्षण गर्दै यसको उत्पादन बढाउदै लैजाने उद्देश्यले कोदो बाली संरक्ष गर्न थालिएको छ” भट्टराइले भन्नुभयो “कोदो, फापार र सिस्नोमा आइरल, मिनिरल बढी पाइन्छ, पोषणका लागि नभई नहुने तत्व यसमा छ, बागलुङमा कोदोको उत्पादन बढाउन सबैको सहयोग आवश्यक छ ।”

बागलुङमा धान खेतीको दोब्बर कोदो खेती हुने गरेको तथ्याङ्कले देखाउने गरेको छ । बागलुङमा ५ हजार ८०० हेक्टर जमिनमा धान खेती हुने गरेकोमा १८ हजार हेक्टर जमिनमा कोदो खेती गरिदै आइएको ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

पछिल्लो समय कोदोको माग सहर बजारमा समेत माग हुँदा कोदो किसानहरु समेत उत्साहित भएका छन् । हाइबृड धान, गहुँ, मकै भित्राउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् । तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउँ बितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्सादन हुने क्षेत्रका किसानलाई ३० हजार रुपैयाँ अनुदानमा कोदोको बीउँ, तरकारी, र फलफूलका बीउँ दिने योजना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *