एमाले महाधिवेशनमा बागलुङबाट ३ हजार सहभागी हुने

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन सफल पार्नका लागि देशभर व्यापक जनपरिचालन अभियान सञ्चालन भएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा ५ लाख भन्दा बढी नेता कार्यकर्ता, सथर्मक, शुभेच्छुकलाई सहभागी गराउने लक्ष्यका साथ सिंगो पार्टी परिचालन गरिएको एमालेले जनाएको छ ।

केन्द्रीय कमिटि सहित केन्द्र, प्रदेश, जिल्ला, पालिका र स्थानीय कमिटिलाई परिचालन गरी महाधिवेशनमा बढी भन्दा बढी जनपरिचालन गर्ने योजनाका साथ सबै तहका कमिटिहरु सक्रिय रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी जिसीले जानकारी दिनुभयो ।

केन्द्रको निर्देशन अनुसार गण्डकी प्रदेशबाट करिव १ लाख सहभागी गराउने तयारी गण्डकी प्रदेश कमिटिले गरेको छ । कात्तिक २२ गते सम्पन्न एमाले प्रदेश कमिटिको वैठकले प्रदेश अन्तरगतका ११ वटै जिल्लालाई संख्या नै तोकेर परिचालनका लागि निर्देशन गरेको केन्द्रीय सदस्य तथा प्रदेश कार्यालय सचिव गोविन्द बहादुर नेपालीले बताउनुभयो ।
प्रत्येक जिल्लालाई न्यूनतम संख्या तोकिदिएका छौ केन्द्रीय सदस्य नेपालीले भन्नुभयो–तोकिएको संख्या भन्दा बढी सहभागी गराउने गरी जिल्ला, पालिका र वडा कमिटिहरुले योजना बनाएर जनपरिचालनमा खट्दैछन् ।

गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरु मध्ये सबैभन्दा बढी नवलपुरलाई ३५ हजार सहभागी गराउन निर्देशन गरिएको छ । त्यसै कास्कीबाट २० हजार, तनहुँबाट १५ हजार, स्याङ्जाबाट ६ हजार, गोरखाबाट ५ हजार, बागलुङ, पर्वत र लमजुङबाट ३÷३ हजार, म्याग्दीबाट २ हजार, मुस्ताङबाट ५ सय र मनाङबाट १ सय जना सहभागी गराउन प्रदेश कमिटिले निर्देशन गरेको छ ।

प्रदेशको निर्देशन अनुसार बागलुङबाट ३ हजार भन्दा बढी नेता कार्यकर्ता सहभागि गराउनका लागि एमाले बागलुङले तयारी थालेको छ ।

मंगलबार सम्पन्न जिल्ला सचिवालय वैठकले बागलुङका १० वटा पालिकालाई संख्या तोकेर जिम्मेवारी दिएको छ । बागलुङ नगरपालिकाबाट १२ सय जना, काठेखोला गाउँपालिकाबाट ६ सय जना, जैमिनी नगरपालिकाबाट ३ सय ५० जना, बरेङबाट ६० जना, गलकोट नगरपालिकाबाट १ सय ५० जना, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबाट २ सय ५० जना तथा सम्पर्र्क मञ्चबाट १ सय ३० जना भन्दा बढीको सहभागिता गराउन निर्देशन गरिएको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको निर्देशन अनुसार दश वटै पालिका कमिटिको बैठक बसी वडा कमिटि समेतलाई परिचालन गरी बढी भन्दा बढी सहभागी गराउने तयारी भैरहेको जिल्ला सचिव विष्णु भुषालले बताउनुभयो ।

जिल्लाका पालिका र वडा कमिटिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु राष्ट्रिय महाधिवेशन सफल पार्न सक्रियताका साथ कार्यक्षेत्रमा खटेको सचिव भुषालको भनाइ छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौ राष्ट्रिय महाधिवेशनलाई नेतृत्व चयनसंगै स्थानीय, प्रदेश र संघीय निर्वाचन केन्द्रीत अभियानका रुपमा उपयोग गर्ने तयारी एमालेले गरेको छ ।

२०७४ मा सम्पन्न संघीय, प्रदेश र स्थानीय निर्वाचनमा देशको ठुलो पार्टी बनेको एमालेले आगामी निर्वाचनबाट बहुमत प्राप्त शक्तिका रुपमा स्थापित हुने योजनाका साथ सिंगो पार्टी पंक्तिलाई महाधिवेशन मार्फत निर्वाचनमा केन्द्रीत गर्न खोजेको छ ।

पार्टीमा लामो समय नेतृत्व गरेका शिर्ष नेताहरु सहितको एउटा समुह अर्को दल गठन गरेर विपक्षमा उभिएको समयमा एमालेले गत भदौमा प्रथम विधान महाधिवेशन सम्पन्न गरी दशौ राष्ट्रिय महाधिवेशनमार्फत नया नेतृत्व चयन गरी विगत भन्दा बढी सफलता प्राप्त गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *