जनणनामा पहिचान खुल्ने तथ्याङ्क लेख्न/लेखाउन जनजाति महासंघको अपिल

आदर्श अनलाइन, बागलुङ
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङले बिहीबारदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा आफ्नो पहिचान खुल्ने गरी स्पष्ट तथ्याङ्क लेखाउन सम्पूर्ण जनजाति समुदायमा अपिल गरेको छ ।

महासंघले बुधबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विगतका जनगणनामा सही तथ्याङ्क नआउँदा आदिवासी जनजाति समुदाय थप पिछडिन पुगेको भन्दै सही तथ्याङ्क आउने गरी आफ्नो, जाति, भाषा, धर्म र पहिचान स्पष्ट हुनेगरी गणकलाई तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको हो ।

विगतमा गणकहरु सम्बन्धित घरधनीसंग नपुगी कुनै चौतारोमा बसेर जनगणनाको तथ्याङ्क भर्दा सही तथ्य नआएको महासंघको भनाई छ । महासंघले जनगणनाले आगामी १० वर्षका लागि राज्यले बनाउने नीतिका लागि तथ्याङ्क महत्वपूर्ण रहने भएकाले यथार्थ तथ्याङ्क लेखाउनका लागि सबै जनजाति सम्बद्ध जातजातिहरुलाई अपिल गरेको हो ।

पत्रकार भेटघाटको क्रममा महासंघले सार्वजनिक गरेको प्रेस वक्तव्यमा नेपालमा वि.सं १९६८ देखि जनगणना सुरु भएयता हरेक दश वर्षको बीचमा जनगणना हुँदै आए पनि विगतमा भएका जनगणनामा र धर्मको विषय उल्लेख भएता पनि जातजातिको तथ्याङ्क समेटिएको नपाईएको र तत्कालिन शासन व्यवस्थाले एक धर्म, एक भाषा तथा एक जातिको सिद्धान्तलाई मजबुत बनाउन मात्र तथ्याङ्क संकलन र प्रकाशन गर्ने गरेका कारण आदिवासी जनजाति समद्ध समुदायको जनसंख्या भाषा लगायतका विषय राष्ट्रिय तथ्याङ्कमा उल्लेख नभएको जनाएको छ ।

पञ्चायती शासन व्यवस्थाले लिएको एक भाषा एक धर्मको नीतिका कारण धेरै भाषाभाषी र जातजातिको सही तथ्याङ्क समावेश नभएको र प्रजातन्त्रको पुनस्थापना तथा लोकतन्त्रको २०६८ को जनगणना अनुसार हाल नेपालमा १२३ भाषा छन् भने जातजातिको संख्या १२५ र १० प्रमुख धार्मिक सम्प्रदाय रहेको उल्लेख भएको महासंघले जनाएको छ ।

आदिवासी जनजाति अन्तर्गत जातिय समुदायको कतिपय थरहरु अन्य जातिहरुसंग मिल्न गएको आदिवासी जनजाति भित्रका कुनै जातिका थरका पछाडि समुदायगत जात प्रस्ट नखुलाएको कारण सत्यतथ्य तथ्याङ्क उल्लेख हुन नसक्दा थप पछि पर्ने भएकाले आफ्नो थरको पछाडि जात स्पष्ट उल्लेख गर्न जनजाति समुदायलाई आग्रह गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बोमबहादुर गुरुङले बताए ।

जनगणनाबाट प्राप्त तथ्याङ्क नै राष्ट्रिय नीति निर्माण गर्ने मुख्य आधार हो भएको अहिले सङ्कलन भएको तथ्याङ्कको आधारमा अवको दश वर्षसम्म राज्यले अबलम्वन गर्ने नीति तय हुने भएकोले जनगणनामा सत्य र यथार्थ तथ्याङ्क आउन जरुरी रहेको भन्दै पछाडि पारिएका जाति, वर्ग, समुदाय र भाषाभाषीको पहिचान खुल्ने यथार्थ संख्या लेखि÷लेखाई राज्यको मूलधारमा समावेश गराउनका लागि सम्बन्धीत जाति÷समुदाय यस अभियानमा खटिएका गणक, सरोकारवाला निकाय समक्ष महासंघले अनुरोध गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष गुरुङले आफुहरुले राज्यलाई सहयोग गर्नकै लागि स्पष्ट आफ्नो भाषा धर्म जात तथा पहिचान खुल्ने विवरण लेखाउन सम्पूर्ण समुदायमा आग्रह गरेको बताए । विगतमा राज्यको विभेदकारी नीतिका कारण पछि परेका समुदायको यथार्थ तथ्याङ्क नआउँदा फेरि पनि पछि पर्ने अवस्था रहेकाले जनजाति समुदायलाई सचेत र जागरुक बनाउने विषयमा सहयोग गर्न पत्रकारहरुसंग आग्रह गरे ।

कार्यक्रममा नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले जनजाति महासंघसंगै एकल जाति संघ संस्थाले पनि जनगणनामा स्पष्ट तथ्याङ्क लेखाउनका लागि गाउँ गाउँमा जागरण अभियान चलाएको बताए । उनले मगर समुदायले आफ्नो धर्ममा प्रकृति पूजक वा वौद्ध धर्म लेख्न आग्रह गरेको र थरको पछि स्पष्ट मगर लेख्न भनेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विकले सही तथ्याङ्क संकलनका लागि पत्रकार र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बोमबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य मनिष थापाले प्रेस वक्तव्य वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागलुङका अध्यक्ष संगम घर्तीमगरले गरेका थिए । नेपालको १२ औं राष्ट्रिय जनगणना यही कात्तिक २५ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *