एमाले महाधिवेशनमा बागलुङबाट १२ प्रतिनिधिका लागि ३ दर्जन बढी आकांक्षी

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट कात्तिक २७ गते देशभर एकैसाथ हुदैछ । यतिबेला नेकपा एमालेको सिंगो पंक्ति महाधिवेशन प्रतिनिधि छनोटमा केन्द्रीत रहेको छ । प्रतिनिधिका दावेदारहरुले पार्टीका नेता कार्यकर्ताहरुसंग भेटघाट कार्यक्रमलाई तिब्र पारेका छन् ।

एमाले केन्द्रीय समितिले महाधिवेशन प्रतिनिधिको छनोट विधि तय गरेर प्रतिनिधि चयनका लागि २७ गते एकैसाथ देशभर छनोट गर्न निर्देशन गरेको छ । प्रतिनिधि छनोटका लागि प्रदेश तथा जिल्ला कमिटिहरुले निर्वाचन तालिका लगायत आवश्यक प्रक्रिया अगाडि बढाएका छन् ।

निर्वाचन कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका ११ वटै जिल्लामा बुधवार मतदाता नामावली प्रकाशन भइसकेको छ । २५ गते उमेदवारी दर्ताको कार्यक्रम तय भएको छ । महाधिवेशन प्रतिनिधि छनोटका लागि एमाले बागलुङले गठन गरेको निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको छ ।

बागलुङका २ वटा निर्वाचन क्षेत्रबाट जम्मा १२ जना प्रतिनिधि चयन हुने भएका छन् । संघीय क्षेत्र नं.१ बाट २ जना महिला र अन्य ४ जना, क्षेत्र नम्बर २ बाट १ जना महिला र अन्य ३ जना तथा जिल्लाभरबाट २ जना दलित प्रतिनिधि चयन हुने एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

१२ जना प्रतिनिधि छनोट गर्नु पर्ने भए पनि आकांक्षीहरु ३ दर्जन भन्दा बढी भएको एमाले स्रोतले जनाएको छ । क्षेत्र नम्बर एकबाट २ जना महिला प्रतिनिधिका लागि प्रदेश कमिटि सदस्यहरु गीता शर्मा, ममतादेवी शर्मा, हुमा कुमारी जिसी (अञ्जु) र भिमा अधिकारी, जिल्ला सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सावित्रा राना, सचिवालय सदस्यहरु गंगा शर्मा र चित्रा छन्त्याल श्रीस लगायतले दावी गरेका छन् ।

त्यस्तै अन्य ४ जना प्रतिनिधिका लागि पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश कमिटि सचिवालय सदस्यहरु जनक पौडेल, हिरा बहादुर केसी र लिला राना, प्रदेश कमिटि सदस्य नर बहादुर थापा, प्रदेश कमिटि सदस्य तथा संघीय सांसद डा.सूर्य पाठक, प्रदेश कमिटि सदस्यहरु कृष्ण केसी, बाबुलाल शाक्य, डिल्लीराज गौतम, जिल्ला उपाध्यक्ष कृष्ण पाठक, केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, जिल्ला सचिवालय सदस्यहरु टिकाराम सापकोटा, गणेश थापा, केबि राना, प्रेम लामिछाने लगायतले दावी गरेको एमाले स्रोतले जनाएको छ ।

क्षेत्र नं. २ बाट १ जना महिला प्रतिनिधिका लागि जिल्ला सचिवालय सदस्य बिना थापा, जिल्ला सचिवालय सदस्य यमुना काउचा, जिल्ला सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन, जिल्ला कमिटि सदस्य रुपा विक लगायतको दावी रहेको छ ।

अन्य ३ जना प्रतिनिधिका लागि प्रदेश कमिटि सदस्यहरु मोहनलाल शर्मा, सुनिल शेरचन, प्रेम खरेल, तुलसी अर्याल, टंक पौडेल, प्रदेश कमिटि सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, जिल्ला सचिव विष्णु भुषाल, जिल्ला सचिवालय सदस्य डम्मर श्रीस, ढोरपाटन नगर कमिटि अध्यक्ष लक्ष्मण पुन लगायतले दावी गरेका छन् ।

यस्तै दलिततर्फको २ जना प्रतिनिधिमा प्रदेश कमिटि सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, प्रदेश कमिटि सदस्य कुल बहादुर विक, बागलुङ नगरपालिकाका अध्यक्ष धन बहादुर परियार लगायतले दावी गरेको एमाले स्रोतले जनाएको छ ।

उमेदवारी दर्ता गर्ने समयसम्म दावेदारहरु बढ्ने सक्ने संभावना रहेको छ । सर्वसम्मत भएमा ठिकै छ अन्यथा हामी पनि उमेदवार हौ भन्नेहरु पनि रहेका छन् । यद्यपी बिहीवार कतिजनाले उमेदवारी दर्ता गर्छन, त्यसपछि सहमति वा निर्वाचनका बारेमा छलफल हुने जनाइएको छ ।

बागलुङबाट केन्द्रीय सदस्यहरु लिला बहादुर थापा, गोविन्द बहादुर नेपाली र मन कुमारी केसी जिसी स्वत महाधिवेन प्रतिनिधि हुनेछन् । महाधिवेशन प्रतिनिधि भएकाहरु मध्येबाट केन्द्रीय कमिटिको उमेदवार र मतदाता हुने भएकाले पनि नेताहरुबीच प्रतिनिधि बन्ने होडवाजी चलेको छ ।

नवौ महाधिवेशनमा केन्द्रीय कमिटिमा बागलुङबाट तत्कालिन जिल्ला सचिव गोविन्द बहादुर नेपाली र उपसचिव मनकुमारी केसी जिसी दलित र महिला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको थियो । उक्त महाधिवेशनमा इन्द्रलाल सापकोटा धौलागिरी अञ्चलतर्फको केन्द्रीय सदस्यमा तथा जनक पौडल र हिरा बहादुर केसी खुल्ला केन्द्रीय सदस्यमा उमेदवार बनेर पराजित हुनु भएको थियो ।

नवौ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकाहरु यसपटक महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय कमिटिमा उमेदवार बन्ने चर्को दौडमा रहेका छन् । महिला, दलित, जनजातीबाट केन्द्रीय सदस्य बन्न सक्ने संभावना भएका नेताहरु पनि यसपटकको महाधिवेशन प्रतिनिधि बन्न सक्रिय भएर लागेका छन् ।

कात्तिक २५ गते उमेदवारी दर्ता गर्ने र २६ गते सर्वसम्मतीका लागि अधिकतम पहल गरिने जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभएको छ । सहमति नहुने अवस्था आयो भने २७ गते निर्र्वाचन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेको जिल्ला सचिव विष्णु भुषालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *