डम्मर बुढा मगर, बागलुङ
गत कात्तिक ९ गते राति बागलुङको निसीखोला गाउँपालिकामा व्यापक चोरी भयो । सरकारी कार्यालय र विभिन्न वडा कार्यालयसहित विद्यालय र घरमा तोडफोड तथा चोरी भयो । गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ५ को बडावनखोलासम्म चोरी र तोडफोड भएको घटना सामान्य थिएन । घटना भएको महिना दिन पुग्दासम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न त सकेको छैन नै । कुन योजना र नियतले चोरी र तोडफोड गरियो भन्ने भेउ समेत सुरक्षा निकायले पाउन सकेको छैन ।
दर्जनभन्दा बढी घर, विद्यालय र कार्यलयमा एकसाथ चोरी र तोडफोड हुँदा स्थानीय बासिन्दा भने त्रसित बनेका छन् । प्रहरीले भने अनुसन्धान जारी रहेको रेडिमेड जवाफ दिँदै आएको छ । तर, घटनामा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन भने सकेको छैन । चोरी तथा तोडफोड भएको महिना दिन पुग्न लाग्दा समेत सम्लग्नको पहिचान हुन नसके पछि प्रहरीको आलोचना समेत हुन थालेको छ ।
प्रभा माविका प्रधानाध्याक नवराज आचार्यले सुरुका दिनमा अनुसन्धानलाई तीव्रता बनाए पनि पछिल्लो समय केही फितलो बन्दै गएको गुनासो गर्नुभयो । उहाँले सुरुवाति चरणमा तर्साउन खोजे जस्तो देखिए पनि पछि विद्यालयमा ठूलो क्षति पु¥याउन सक्ने बताउनुहुन्छ । सुरक्षा घेरालाई फराकिलो नबनाए विद्यालय तथा कार्यालयमा ठूलै क्षति पुग्ने आचार्य बताउनुहुन्छ । ‘अहिले तर्साउन खोजे जस्तो देखिन्छ, यो सुरुवाती जस्तो लाग्छ मलाई, सुरक्षालाई थप कडाई गरिएन भने ठूलै क्षति हुने देखिन्छ,’ प्रअ आचार्यले भन्नुभयो ‘प्रहरीले सुरुका दिनमा निकै कडाईका साथ अनुसन्धान गरेको देखिन्थ्यो, तर अहिले अल्ली फितलो भएको महशुस भएको छ ।’
प्रअ आचार्यले यो घटनामा ठूलै गिरोह लागेको भन्दै आफूहरु जोखिममा रहेको बताउनुभयो । ‘यो घटनामा एउटा व्यक्ति मात्रै संलग्न भएको जस्तो लाग्दैन, यसमा ठूलै समूह हुनुपर्छ,’ उहाँले भन्नुभयो ‘विद्यालय जोखिममा छ, भोलि विद्यालयमा महत्वूर्ण कागजात चोरी हुने, संरचना तोडफोड नहोला भन्न सकिन्न, प्रहरीले छिटो भन्दा छिटो अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।’ उहाँले बजार क्षेत्र, विद्यालय वरपर सुरक्षालाई थप कडाई गर्नुपर्ने बताउनुभयो ।
निसीखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेलले प्रहरी चौकी नजिकै रहेको वडा कार्यालय तोडफोड र चोरी हुँदा प्रहरीले थाहा नपाउनु प्रहरी गैरजिम्मेवार भएको बताउनुभयो । उहाँले प्रहरी गम्भीर भएर अनुसन्धानमा नलाग्दा दोषी पत्ता लाग्न नसकेको बताउनुभयो । यो घटनाले स्थानीयलाई समेत त्रसित बनाएको अध्यक्ष पौडेलको भनाई छ । पौडेलले यसअघि पनि झिवाखोला बजारमा पटक–पटक चोरीका घटनाहरु भएको भन्दै प्रहरीले निगरानी नबढाउँदा चोरीको घटना दोहोरिने गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी उपरीक्षक इकवाल हवारीले लागि रहेको घटनाको अनुसन्धानमा आफूहरु लागि रहेको बताउनुभयो । उहाँले शंकास्पद केही व्यक्तिलाई चौकीमा सोधपुछ गरेको तर अझै दोषी पत्ता नलागेको बताउनुभयो ।
हवारीले यो घटनामा एउटा मात्रै व्यक्ति संलग्न नभएको बताउनुभयो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक जयराम वन्तको टोली खटि रहेको र जिल्लामा पनि अनुसन्धान टोली बनाएको हवारीले बताउनुभयो । चोरले गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जनजिवराज सुशिला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी गरेको थियो ।
चोरले वडा नम्बर ३ को वडा कार्यालयबाट ६ सय रुपैयाँ, वडा नम्बर ४ को कार्यालयबाट ११ हजार रुपैयाँ, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरि १० हजार रुपैयाँ चेरेको थियो भने वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी भएको थियो । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको गाउँपालिकाले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिलाई अहिलेसम्म पनि कारवाहीको दायरामा ल्याउन नसक्दा स्थानीयले आफूहरु असुरक्षित भएको बताएका छन् । उनीहरुले घटनामा दोषी पक्राउ नपरे यस्ता घटनाहरु बढ्दै जाने समेत बताउँछन् ।