डम्मर बुढा मगर, बागलुङ
स्थानीय सरकार आउनु पूर्व तमानखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु ओझेलमा थिए । केही चर्चामा भए पनि त्यहाँसम्म पुग्ने सडक र अन्य पूर्वाधारहरु व्यवस्थित नहुँदा आन्तरिक पर्यटकको चहलपहल थिएन । स्थानीय सरकार आएपछि गुमानम रहेका र चर्चामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकास हुनथालेको छ । तमानखोला गाउँपालिका विकाससँगै प्रचारप्रसारमा लागेपछि अहिले यहाँका पर्यटकीय क्षेत्रहरुमा दैनिक पर्यटकहरुको चहलपहल बढेको छ ।
भौगोलिक हिसाबले डाँडाकाँडाले भरिएको तमानखोलामा थुप्रै गन्तव्यहरु अझै गुमनाम छन् तर गाउँपालिकाले त्यस्ता स्थलहरुको विकासका लागि योजना बनाएर लागेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । सोलेडाँडा, बराह ताल लगायतका स्थलहरु तमानखोला गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यहरु हुन् ।
यस्ता स्थलहरुको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वर्षेनी बजेट विनियोजन गर्ने र पूर्वाधार निर्माण गर्दै आएको छ । म्याग्दी र बागलुङको सिमानामा रहेको सोलेडाँडामा गाउँपालिकाले पार्कसहित विभिन्न संरचना निर्माण गरेको छ । यस वर्ष पनि थप संरचनाका लागि १० लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष बुढा मगरको भनाई छ ।
‘सोलेडाँडा तमानखोला गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य हो, यसको नाम धेरै पहिलेदेखि चर्चामा रहे पनि विकास हुन सकेको थिएन, हामी जनप्रतिनिधि भएर आएपछि केही काम गरेका छौँ, थोरै भए पनि सुधार भएको छ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘अहिले आन्तरिक पर्यटकहरुको चहलपहल निकै बढेको छ, हिउँद बर्खा जतिबेला पनि पर्यटकहरु सोलेडाँडामा आउने गरेका छन्, उनीहरुको सुविधाको लागि हामीले यस ठाउँलाई थप व्यवस्थित गर्ने गरि काम गरि रहेका छौँ ।’
सोलेडाँडामा पर्यटकलाई लक्षित गरि शुद्ध खानेपानी, शौचालय, पिकनिक स्पोट, पार्क लगायतको संरचना निर्माण भएका छन् । पार्कलाई थप व्यवस्थित र द्वन्द्वकालमा तमानखोलाबाट ज्यान गुमाएका शहीदहरुको स्मृतिमा मूर्ति निर्माण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । द्वन्द्वकालमा तमानखोलाबाट ५ जनाले ज्यान गुमाएको उहाँको भनाई छ ।
‘सुरुको वर्षदेखि नै हामी सोलेडाँडालाई मुख्य प्राथमिताका राखेर काम गरि रहेका छौँ, सुरुका वर्षमा थोरै बजेट विनियोजन गरेर कामको थालनी गरेका थियौँ, अहिलेसम्म आउँदा यहाँ धेरै काम भएको छ,’ उहाँले भन्नुभयो ‘द्वन्द्वकालमा तमानखोलाबाट ५ जनाले ज्यान गुमाउनु भएको छ, उहाँहरुको सम्झनामा मूर्ति बनाएर राख्ने योजना अनुरुप काम भएको छ, यो काम यसै वर्ष हुने छ ।’
सोलेडाँडा बागलुङ र हिमाली जिल्ला म्याग्दीको सिमानामा पर्छ । यहाँबाट उच्च पहाडी क्षेत्रसँगै अनगिन्ती हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । शान्त र मनोरम वातावरण भएका कारण वर्षेनी सयौँ नागरिकहरु घुम्न र वनभोजका लागि जाने गर्दछन् । म्याग्दी र बागलुङ दुवै जिल्लाबाट सडकले जोडिएको हुँदा म्याग्दी र बागलुङ बाहेक, गुल्मी, प्युठान, पर्वत लगायतका ठाउँबाट पनि पर्यटकहरु घुम्न जाने गरेको पाइन्छ ।
गाउँपालिकाले अघिल्लो वर्ष विभिन्न संरचना निर्माण गर्न सोलेडाँडाका लागि ५ लाख विनियोवजन गरि विभिन्न संचरनाहरु निर्माण भएको सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो । उहाँले पर्यटकलाई थप आकर्षण गर्ने गरि अन्य संरचनाहरु निर्माण गर्ने योजना रहेको बताउनुभयो । लामिछानेले यस वर्ष पर्यटन प्रवद्र्धनका लागि ‘पर्यटन प्रवद्र्धन गोष्ठी’ गर्नका लागि बजेट विनियोज गरेको बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा प्रत्येक वडामा होमस्टे निर्माण व्यवस्थापन अनुदानका लागि एक लाख, पर्यटन पदमार्गको सूचना बोर्डका लागि ५० हजार, पर्यटन गोष्ठीका लागि एक लाख ५० हजार रुपैयाँ विनियोजन समेत गरेको लामिछानेले जानकारी दिनुभयो ।
पर्यटन पदमार्गको तयारी
गाउँपालिकाले पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरि पदमार्ग निर्माण समेत गर्ने योजना बनाएको छ । जसका लागि गाउँपालिकाले यस वर्ष दुई लाख रुपैयाँ विनियोजन गरेको सूचना अधिकारी लामिछाने बताउनुहुन्छ । तमानखोला गाउँपालिका मात्रै नभई अन्य पालिकाका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई जोड्ने गरि पदमार्गका निर्माण गरिने बताउनुभयो ।
पदमा मार्ग दूरलेकबाट सुरु भएर सोलेडाँडा, नौडल्ले पहाड, बहराताल, अंकुटे देउराली हुँदै ढोरपाटन जोड्ने गरि निर्माण हुने उहाँको भनाई छ । यस पदमार्गले आन्तरिकसँगै बाह्य पर्यटकलाई समेत आकर्षण गर्ने उहाँ बताउनुहुन्छ । यो पद मार्ग निर्माण गर्न गाउँपालिकाले एक्लै नसक्ने हुँदा केन्द्र सरकारसँग सहकार्य गरेर गर्ने बताउनुभयो ।
‘यो पदमार्ग दूरलेकबाट सुरु भएर सोलेडाँडा, बहाह ताल हुँदै ढोरपाटन सिकार आरक्ष ढोडिने छ, यसका लागि गाउँपालिकाले एक्लै नसक्ने हुँदा केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नु पर्ने हुन्छ,’ लामिछानेले भन्नुभयो ‘बजेटको लागि केन्द्र सरकारमा प्रपोजल बठाएका छौँ, माथिबाट सहयोग भयो भने पदमार्ग निर्माण गर्ने काम सुरु हुने छ ।’