जन्म दिँदा साथ आमाको मृत्यु, बुवा गुमनाम, बालकलाई जन्मदर्ता पाउनै सकस

दिल शिरीष, बागलुङ
जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामथ्र्य र शक्ति पैदा गर्न आउँछ ।’ बागलुङको गलकोट नगरपालिका ७ का १२ वर्षका रामबहादुर बिकले यति गम्भीर कुरा थाहा पाउने उमेर र बेला भएकै छैन । तर, उनको जीवनमा यति ठूलो दर्द आइसक्यो कि सायद अब उनले यो भन्दा ठूलो पीडा र क्षति कमै बेहोर्नु पर्नेछ ।

२०६६ साल माघ ६ गतेका दिन पोखराको मणिपाल शिक्षण अस्पतालमा रामबहादुर यो सुन्दर धर्तीमा पदार्पण भए । छोरा जन्माउनुको खुशियाली र हर्ष परिवार, आफन्त, गाउँघरमा विस्तारै फैलदै थियो । तर, दुर्भाग्य छोरालाई जन्मदिएको केही बेरमै उनका आमा अर्थात् गिता सुनारको अस्पतालमै मृत्यु भयो । आफैले जन्म दिएको छोरा डाक्टरको कोसिसमा बाँचे, स्वंयम् आमाले आफ्नो छोरालाई बेहोसी अवस्थामा बाहेक मायाले सुमसुम्याउन नपाएको माइत तर्फका हजुरबुबा काठेखोला ८ लेखानीका धनबहादुर बिक बताउनुहुन्छ । ‘सुत्केरी हुने बेला गाह्रो भए पछि परिवार सबैको पहल र जोडमा पोखरा अस्पताल सम्म त पु¥यायौ, नाती बाबु पनि जन्मियो ।’ यति भन्दै गर्दा धनबहादुरको आँखा आँशुले भरिसकेको थियो । उहाँले भन्नुभयो, ‘छोरीलाई बचाउन सकिएन, त्यसपछि बच्चालाई माइतमै राखेर हुर्काएका छौ, पढाइरहेका छौ ।’

छोरीको मृत्यु भए पछि ज्वाँई गोमबहादुर सुनार पुरै सम्पर्कबिहीन छन् । बालकको जन्मदर्ताका लागि चाहिने भए पछि निकै खोज तलास गरे पनि सम्पर्क हुन सकेको छैन । बच्चाको पालन पोषण, शिक्षा दिक्षा त बल्लतल्ल जोहो गरेर चलाए पनि उमेर बढ्दै जाँदा चाहिने कागजात जन्मदर्ता, नागरिकताका लागि समस्या र सकस बेहोरिरहेको धनबहादुरले सुनाउनुभयो । अहिले बाबुले काठेखोलाको करिलम स्थित विद्यालयमा कक्षा ६ मा पढ्छन् ।

‘अब १२ वर्षका भइसक्यो, अहिले छोरीको मृत्यु भए पछि बाबा गुमनाम भएर बसेका छन्, जन्मदर्ता गर्न गलकोटको वडा कार्यालय पुग्दा आमा या बा अनिवार्य चाहिन्छ भन्छन्, मरिसकेको छोरी र गुमनाम भएर बसेका ज्वाँईलाई कहाँबाट खोजेर ल्याउनु ? उहाँले भन्नुभयो, ‘यो बच्चाले साह्रै दुःख पाउने भयो, लौ न हजुरहरुले भनेर केही हुन्छ कि गरिदिनुप¥यो, यो टुहुरो केटा बेवारिसे हुने भयो ।’ जन्मदर्ताका लागि नातीलाई लिएर गलकोट पुगे पनि आमा बा चाहिने भने पछि निराश भएर फर्किएको उहाँको भनाई छ ।

अहिले घर तर्फका हजुर बा हजुर आमा समेत नरहेकाले थप समस्या भएको छ । सानैमा आफैले समेत एक हात गुमाउनु भएका धनबहादुरले कटुवाल, डोको, नाम्लो, थुङ्से लगायत बुनेरै बालकको पढाई र दैनिकी चलाइरहनुभएको छ ।

जन्मदर्ताका लागि अहिलेको बिद्यमान ऐन, कानुनले आमा या बा अनिवार्य गरेकाले केही समस्या भएको गलकोट नगरपालिकाका वडा सचिव भीमबहादुर घर्तीले बताउनुभयो । ‘परिवार र बालकको संवेदनशीलताबारे हामीलाई गहिरो बोध छ, तर अहिलेको कानुन अनुसार हामीले त्यसरी दिन मिल्दैन, पछि हामी नै फस्ने जोखिम पनि हुन्छ,’ सचिव घर्तीले भन्नुभयो, ‘नगरको कार्यपालिकाको बैठक बसेर यस्ता संवेदनशील विषयमा एउटा निर्णय गरिदिए मात्र समस्याको गाडो फुकाउन सहज हुनेछ, यसका लागि जनप्रतिनिधिहरुले पनि गम्भीरतापूर्वक छलफल, बहस चलाएर निर्णय लिन आवश्यक छ ।

गलकोट नगरपालिका ७ का वडा अध्यक्ष टीकाबहादुर थापाले कानुन अनुसार बा आमा दुवै साथमा नभएकाले जटिलता भए पछि वडामै जन्मिएको एक सिफारिस पत्र दिएको बताउनुभयो । तर, यो पत्रले जन्मदर्ताको काम नगर्ने भएकाले भोलिका दिनमा नागरिकता बनाउन र अन्य काममा पनि बालकलाई समस्या र सकस पर्ने भएकाले सहयोग समन्वय गरिदिन धनबहादुरको सबैलाई आग्रह छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *