यी हुन् बागलुङबाट एमाले केन्द्रीय सदस्यका लागि आकांक्षीहरु

आदर्श अनलाइन, बागलुङ
मुलुकवासीको ध्यान प्रमुख राजनीतिक दलहरुका अधिवेशन तथा महाधिवेशनले तानि रहेको छ । प्रमुख राजनीतिक दलहरु यतिबेला वडादेखि केन्द्रीय महाधिवेशन गर्ने चटारोमा छन् । स्वभाविक रुपमा अधिवेशन/महाधिवेशन भन्दा साथ नीति र नेतृत्व चयनको प्रश्न उठ्छ । दलहरुमा तल देखि माथिसम्म कस्तो नेतृत्व आउछ र त्यसले दलका गतिविधिलाई कसरी अगाडि बढाउछ त्यसका आधारमा राजनीतिको बाटो तय हुन्छ । असल नेतृत्व भयो भने दल मात्रै होइन, मुलुकलाई नै अगाडि बढाउन सक्छ । त्यसैले सबै दलका नेता कार्यकर्ताले यतिबेला आफ्नो नेतृत्व चयन गर्ने प्रक्रियामा छन् ।

यस्तै चटारोका बीच मुलुकको सबै भन्दा ठुलो दल नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० आँै राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेर राष्ट्रिय महाधिवेशन गर्न लागेको एमालेमा नेतृत्वमा जान चाहनेहरुको संख्या ठुलो छ । अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत बन्न सक्ने आकलन गरिएको छ भने अन्य १४ पदाधिकारीका आकांक्षीहरु धेरै छन् । पार्टीमा आएको विभाजनसंगै दशौ महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा सम्पन्न गर्ने एमाले नेतृत्वको अडानका कारण उमेदवारी दर्ताको औपचारिक घोषणा नभए पनि नेताहरु आफु नजिकका कार्यकर्ता र सञ्चारमाध्यम मार्फत उमेदवारीका बारेमा चर्चा गर्न थालेका छन् ।

अध्यक्ष सहित १५ जना पदाधिकारी र २ सय १० जना केन्द्रीय सदस्य गरी कुल २ सय २५ जना निर्वाचित हुने एमाले महाधिवेशनमा बागलुङबाट महाधिवेशन प्रतिनिधि बनेका ३ जना नेताहरुले केन्द्रीय सदस्यमा दावी गरेका छन् । वर्तमान केन्द्रीय समितिमा रहेका लिला बहादुर थापा, गोविन्द बहादुर नेपाली र मन कुमारी केसी जिसीलाई स्वभाविक उमेदवारका रुपमा कार्यकर्ताहरुले लिएका छन् । ति बाहेक थप ३ जनाले उमेदवारी दिने बताएका छन् । उमेदवारी घोषणा गरेका बाहेक अन्य महाधिवेशन प्रतिनिधिहरुले पनि उमेदवारी दिने विषयमा आफु निकटका नेता कार्यकर्ताहरुसंग छलफल गरिरहेका छन् ।

नवौ महाधिवेशनमा भुगोलतर्फ साविक धौलागिरीबाट उमेदवारी दिएर पराजित भएका वर्तमान जिल्ला अध्यक्ष इन्द्रलाल साकोटा, खुल्ला तर्फ उमेवार बनेर पराजित भएका प्रदेश कमिटि सदस्य तथा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र खुल्लातर्फ नै उमेदवार बनेर पराजित भएका प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी यस पटक पनि केन्द्रीय सदस्यका आकांक्षी रहनु भएको छ । नवौ महाधिवेशनमा सापकोटा माधव नेपाल समुहबाट र पौडेल केपी ओली समुहबाट उमेदवार बन्नु भएको थियो भने केसी स्वतन्त्र रुपमा उमेदवार बन्नु भएको थियो । नवौ महाधिवेशनमा २ प्यानलका बीच प्रतिस्पर्धा हुदा भुगोलतर्फ गणेश तिमिल्सिनासंग सापकोटा पराजित हुनु भएको थियो । तिमिल्सिना हाल राष्ट्रिय सभाका अध्यक्ष हुनुहुन्छ । यस पटकको निर्वाचनमा प्यानल बनाउन नपाइने भएकाले सबै उमेदवारहरु एक्ला एक्लै प्रतिस्पर्धामा जानु पर्ने अवस्था रहेका छ ।

प्रस्तुत छ, आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार बन्ने तयारीमा रहेका बागलुङका ३ जना नेताहरुको आगामी योजना, निर्वाचनको तयारी लगायतका विषयमा हाम्रा प्रतिनिधि साधना पन्तले गरेको कुराकानीको सारसक्षेप ।

नवौ महाधिवेशनको घाइते हुँ, यस पटक मेरो शसक्त दाबी छ
इन्द्रलाल सापकोटा
महाधिवेशन प्रतिनिधी
नेकपा एमालेको १० औं महाधिवेशनमा बागलुङबाट प्रतिनिधिको रुपमा उपस्थित भएर केन्द्रीय सदस्यमा सशक्त रुपमा दाबी गरेको छु । राष्ट्रिय राजनीतिमा अत्यन्त महत्व राख्ने पार्टीको महाधिवेशन भएका कारणले यो महाधिवेशनले आगामी ५ वर्षका लागि समग्र केन्द्रीय नेतृत्व छनोट गर्दछ । यसका पछाडी केन्द्रीय नेतृत्व के का लागि भन्ने कुरा प्रष्ट छ । हामी मुलुकलाई समाजबादतर्फ अग्रसर गराउने लक्ष्यका साथ अगाडी बढन चाहान्छौ, पार्टीलाई शसक्त बनाउन चाहान्छौ, मुलुकलाई बिकास निर्माण सहित समृद्ध राष्ट्र निमाण गर्न चाहन्छौ । नेकपा एमालेको नेतृत्वमा शसक्त सरकार बनाउन चाहन्छौ । त्यसकारणले हामीले यी एजेन्डालाई जनतासम्म पु¥याउन सक्ने एउटा सक्षम र योग्य नेतृत्व चाहन्छौ । त्यसका निम्ति नेकपा एमालेको १० औं महाधिवेशन अत्यन्त महत्वपुर्ण रहेको हुँदा बागलुङबासीको तर्फबाट हामीले चितवनमा यही सन्देश लगेर जादै छौ ।

मेरो सधै बागलुङमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने योजना रहेको छ । बागलुङमा एमालेलाई सशक्त पार्टी बनाउनका लागि हामीहरुले जति पनि कामहरु अगाडी बढाइरहेका छौं, ती गतिविधीहरुलाई सफल पार्नका लागि नै मेरो महत्वपुर्ण भुमिका रहने छ । पार्टीको नीति निर्माण, देशको समृद्धि, विकास निर्माणका एजेन्डाहरुलाई अगाडी बढाउने छु । नेकपा एमालेले अधिकार प्राप्तिको लडाई समाप्त गरेको छ । हामीले संविधान निर्माण गरेका छौ । समावेशीतामार्फत महिला, दलित, जनजाती, पछाडी परेका समुदाय सबैका मुद्दाहरु हामीले सम्बोधन गरिसकेको अवस्था छ । नेकपा एमालेको ध्यान यो मुलुकको गरिबीलाई अन्त्य गर्न तर्फ लाग्ने छ । यसका निम्ती सशक्त पार्टी निर्माण गर्ने र पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नु पर्ने भएकाले मुलुकलाई राष्ट्रिय अर्थतन्त्रको बाटो हुदै समाजबाद सम्म पुग्ने गन्तब्य पुरा गर्नका लागि नेकपा एमालेको १० आँै महाधिवेशनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने मलाई लागेको छ ।

अहिलेको महाधिवेशनको सङ्केत हामीले प्राप्त गरि सकेकाछौ । नेकपा एमालेको वडा, नगर र महाधिवेशन प्रतिनिधिको छनौट सर्वसम्मत रुपमा भएका छन् । यी सबै कुराले के सन्देश दिएको छ भने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सहमतीको महाधिवेशन हुने छ । अहिलेको महाधिवेशनमा सबै खालका बिचारहरुलाई समेटेर राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेपाली जनताले संविधानमा परिकल्पना गरेको सबै विषयहरुलाई समेटेर राष्ट्रिय सहमती निर्माण गर्न सक्ने ओझिलो नेतृत्व निर्माण गर्ने छ र हाम्रो महाधिवेशनले सहमतीको हिसाबले एकताकै महाधिवेशनको रुपमा अगाडी बढने छ । त्यही रुपमा मैले आफुलाई केन्द्रीय सदस्यको सशक्त उमेदवारका रुपमा अगाडि बढाएको छु ।

लामो समय भुगोलको राजनीति गरे, अब केन्द्रको तयारीमा छु
जनकराज पौडेल
महाधिवेशन प्रतिनिधी
बागलुङबाट नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुनका लागि मलाई सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्नु भएको छ । नेकपा एमालेले १० आँै महाधिवेशनबाट अबको ५ वर्षका लागि नयाँ नेतृत्व पाउने छ । यस सन्र्दभमा मेरो पनि स्वभावीक ढङ्गले केन्द्रीय सदस्यमा दाबी रहेको छ । एमालेको नवौ ँमहाधिवेशनमा म थोरै मतले पराजित भएको कुरा सम्पुर्णमा अवगत नै रहेको हुनाले यस पटक म केन्द्रीय सदस्यमा निर्विरोध हुने आशाबादी पनि छु । मैले लामो समयदेखि पार्टीको एजेण्डाहरु लिएर आम जनताको माझमा गएको छु । मैले विद्यार्थी आन्दोलनबाट अहिलेसम्म पार्टीले दिएका हरेक जिम्मेवारीहरु पुरा गरेको छु । हाम्रो पार्टीमा भुगोलको पनि समुचित प्रतिनिधित्व हुनु पर्दछ भन्दै पार्टीको उपल्लो तहका मानिसहरुले आम जनताको इच्छा चाहना के कस्तो छ र पार्टीको तल्लो तहमा अवस्था कस्तो छ भनेर बुझनका लागि भुगोलमा बसेर काम गरेका मानिसहरुलाई केन्द्रमा लैजादा धेरै राम्रो हुने मेरो विश्वास छ ।

हिजो र अहिले धेरै फरक परिस्थिति रहेको छ । अहिले नेकपाको एकता र त्यसपछिको बिघटन र माधव नेपालहरुले नयाँ पार्टी निर्माण गरेर जाने कुराले हिजोको राष्ट्रिय राजनीतिक परिस्थिति र अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिमा धेरै फरक छ । यसमा बाह््य र आन्तरिक शक्तिको खेल हाबी भयो । यसलाई निर्मुल गर्न र नेकपा एमालेलाई राष्ट्रिय राजनीतिमा पुर्नस्थापित गर्नुपर्ने देखिन्छ । एमालेको १० औँ महाधिवेशनले सबै समस्यालाई निर्मुल पारेर देश र जनताको लागि बनेको पार्टी नेकपा एमाले हो भन्ने सन्देश दिने छ भन्ने मैले अपेक्षा लिएको छु । हिजो र आजको राजनीतिमा आकाश जमिनको फरक छ । हिजो संगठनात्मक ढङगले नीति बनाउने बिधि बनाउने, आम जिम्मेवारी कार्यभार मुल्याङकन गर्ने काम महाधिवेशनले गर्दथ्यो भने अहिले त्यो अवस्था छैन् । नेकपा एमालेले त्यो खालको महाधिवेशन अर्थात विधान महाधिवेशन सम्पन्न गरिसकेको छ । अहिलेको महाधिवेशन नेतृत्व छनोटको महाधिवेशन भएका कारणले हामीले सहि नेतृत्व छनोट गरेर स्थापित गर्नेछौ ।

राष्ट्रिय राजनीतिमा नेतृत्व बिकासको दृष्टिकोणले बागलुङ पछाडी परेको छ । बागलुङमा वामपन्थी आन्दोलनको जनमत जुन अनुसारको छ त्यही अनुसारको केन्द्रमा प्रतिनिधित्व हुन सकिरहेको छैन् । हामीहरुले बागलुङ जिल्लामा नेकपा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गरेका छौ । त्यही अनुसारको भुमिका र जिम्मेवारी बागलुङ जिल्लाले प्राप्त गर्न सकिरहेको अवस्था छैन । बागलुङले पार्टीमा आएको उताब चढावको अवस्थामा पनि नेकपा एमालेको बैचारिक धारलाई यहाँ स्थापित गरेका हौ । बागलुङलाई राष्ट्रिय जनमोर्चाको हेडक्वाटर भन्ने गरिएको थियो, त्यो पनि अहिले नरहेको र बागलुङमा नेकपा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको हुनाले राष्ट्रिय राजनीतिको मुलधारमा बागलुङलाई स्थापित गर्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । बागलुङको स्रोत साधनको समुचित प्रयोग हुन सकेको छैन् । हामीले बागलुङका सबै खालका समस्याहरुलाई समेटेर राष्ट्रिय मुद्दाको रुपमा अगाडी बढाउने छौ । त्यही अभियानलाई सफल पार्नका लागि मेरो उमेदवारी रहने भएको छ ।

युवा विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्दैछु
हिरा बहादुर केसी
महाधिवेशन प्रतिनिधी

म बागलुङबाट नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुँदै छु । महाधिवेशनका लागि बागलुङबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएर हामी चितवनमा जाँदै छौ । महाधिवेशनमा सहभागी मात्र नभएर म केन्द्रीय सदस्यको आकांक्षी पनि हुँ । किनभने नेपालको रानीतिमा जति पनि हामीले देखेका छौ सबै पुरानै अनुहारको बाहुल्यता रहेको छ । पुरानै नेता मात्र अगाडी बढने र नयाँ पुस्तालाई कहिले अगाडी बढ्ने भनेर मैले यो पटक केन्द्रीय सदस्यमा उमेदवारी दिने योजना बनाएको छु । यसपटकको महाधिवेशनमा ३३ प्रतिशत नयाँ अनुहार हुनु पर्ने मेरो मुख्य एजेन्डा रहेको छ । अबको पालो नयाँ पुस्ताको हो, अहिले सम्म केन्द्रीय कमिटीमा रहेर ५ कार्यकाल पुरा गर्नुभएका कमरेडहरुले युवाहरुलाई अवसर दिनुपर्ने मेरो धारणा रहेको छ । नेकपा एमालेले अगाडि बढाएको समृद्धिको एजेण्डालाई सफल बनाउनका लागि युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्दछ । युवाहरुका कार्ययोजनालाई लागु गर्न अग्रज नेताहरुले वातावरण सृजना गरिदिनु पर्ने हुन्छ । यी एजेन्डालाई लिएर मैले सम्पुर्ण युवा विद्यार्थीको तर्फबाट केन्द्रीय सदस्यमा उमेदवारी दिने योजना बनाएको छु ।

नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई सुदृढिकरण गर्ने, समृद्धिको आन्दोलनलाई सफल बनाउने र उद्योग र रोजगारीका समस्यालाई समाधान गर्नका लागि अगाडी बढ्ने योजना रहेको छ । बागलुङको राष्ट्रिय राजनीतिमा पहुँच कम भएको हामीले महशुस गरेका छौ । यसकारणले मैले बागलुङलाई राष्ट्रिय राजनीतिमा पहुँच पु¥याउनका लागि र सबै खालका अवसर बागलुङमा ल्याउन महत्वपुर्ण भूमिका खेल्न सक्नु भन्ने मेरो प्रतिवद्धता हो ।

हामीले पछिल्लो समय महशुस गरेको कुरा महिलालाई कोटा मात्र दिईएको छ । तर कोटामा पनि महिलालाई ल्याउन र अबसर दिन सकेका छैनौ । मैले महिलाहरुलाई समुचित अधिकार दिने भन्दै प्रदेश कमिटीमा पनि एजेण्डा प्रस्तुत गरेको छु । महिलाहरुलाई प्रतिस्पर्धा गराएरै अगाडी लैजानुु पर्ने हुन्छ । महिलाहरुलाई राजनीतिक र सामाजिक काममा धेरै भन्दा धेरै जोडन सकिएन भने नेपाली समाज र राष्ट्रिय राजनीति अगाडी बढ्न सक्दैन् । विकासका काम रोकिन्छन् । हामीले सबै खालको मुल्याङकन गर्नुपर्दछ । नेपालका ६० प्रतिशत युवाहरु विदेशी श्रम बजारमा छन् । नेपालमा बस्ने राजनीतिक र सामाजिक काममा जोडिने सबैभन्दा बढी सहभागी महिलाहरु रहेकोले महिलाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढनु अहिलेको आवश्यकता रहेको छ । हाम्रो महाधिवेशनमा पनि महिलालाई समुचित स्थान दिएर महाधिवेशन सफल गराउने कुरामा म ढुक्क रहेको छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *