जनगणना नगर्ने निर्णयबाट पछि हटे कायत समुदाय


–आदर्श अनलाइन, बगालुङ
राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने निर्णय गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने बताएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् ।

राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै दबाद स्वरुप जनगणनामा सहभागी नहुने जानकारी कायत एकता समाजले कात्तिक २५ गते निर्णय गरेको थियो ।

जातीय पहिचानका आधारमा सरकारले विभिन्न स्थानमा आरक्षणलगायत छुट दिँदै आएको भए पनि पहिचानविहीन भएको भन्दै कायत समुदायले जनगणना बहिष्कार गर्ने निर्णय गरेका थिए ।

तथ्याङ्क कार्यालयका प्रमुख मुकुन्दप्रसाद शर्मा लगायतको टोलीले मङ्गलबार कायत बस्तीमै पुगेर कायतलाई जनगणनामा समावेश गर्ने गरी सहमती भएको जनाएको छ । यस अघिको जनगणना २०६८ सालमा कायतलाई कायस्थ लेख्दा समस्या भएपनि अहिले कायतनै लेखाउने जिम्मा हाम्रो भएको भनेपछि कायतहरु जनगणनामा समावेश हुन राजी भएको तथ्याङ्क कार्यालयका प्रमुख मुकुन्दप्रसाद शर्माले बताउनुभयो ।

भेटघाटका क्रममा कायत समुदायको पहिचानका लागि पहल र विभिन्न ठाउँमा सिफारिस गर्ने प्रतिबद्धता जनाएपछि जनगणनामा सहभागी हुन राजी भएको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिनुभयो । ‘जनगणनामा सहभागी भएर कायत समुदायले पहिचान पाइन्छ भने सहभागी हुने भनेका छौं’ कायतले भननुभयो ‘तथ्याङ्क कार्यालयले हामीलाई केही प्रतिबद्धता जनाएको छ, त्यसैले जनगणनामा समावेश भएर पहिचान ल्याउन सम्नेछौं भन्ने लाग्यो ।’
हाल ढोरपाटनमा कायत समुदायका ८० घरपरिवार बसोबास गर्दै आएका छन् । कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् ।

कायत समुदाय पहिचान विहीन बन्दा सबै सेवा सुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो गर्दै आएका छन् । जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि यहाँका नौथर समुदाय भित्रका कायत समुदाय पहिचान विहीन बनेको र हालसम्म राज्यले कुनै सुनुवाई नगरेका कारण जनगणनामा समावेशन नहुने निर्णयमा पुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *