कांग्रेस गण्डकीसभापतिमा बढे आकांक्षी

आदर्श अनलाइन,पोखरा
नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति अधिवेशन नजिकिँदा सभापतिका आकांक्षी खुल्ने क्रम जारी छ । देश संघीयतामा गएपछि हुन लागेको प्रदेशको पहिलो चुनावका लागि सोमबार तनहँु कांग्रेसका पुराना नेता रघुनाथ पौडेलले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

कास्कीका कांग्रेस नेता देवराज चालिसेले यसअघि नै सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशमा मंसिर १६ गते उम्मेद्वारको मनोनयन र १७ गते मतदान हुँदै छ । मुलुक संघीयता गएपनि कांग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको छैन ।

तनहँुमा शनिबार भएको चुनावबाट महासमिति सदस्य निर्वाचित पौडेलले प्रदेशमा पार्टीलाई संस्थागत रुपमा चलाउन आफूले उम्मेद्वारी दिएको बताए । पोखरामा आइतबारपत्रकार सम्मेलन गरी नेता पौडेलले पार्टीको गिरेको साखलाई जोगाउने दाबी गरे । ‘पार्टीको अहिलेको नेतृत्वले सबै कार्यकर्तालाई समेट्न र उचित जिम्मेवारी दिन सकेको छैन,’उनले भने, ‘पार्टीलाई रुपान्तरण गरी कामको मूल्यांकन गरेर नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिनेछु ।ऊर्जाशील कार्यकर्तालाई मर्यादित बनाएर पार्टीलाई सुदृढ बनाउनेछु ।’

२०३२ मा कांग्रेस क्रियाशील सदस्यता लिएका ७० वर्षीयपौडेलले २०५३देखि २०६२ ०६३सम्म ३ कार्यकाल जिल्ला सभापति चलाएका थिए । अविछिन्न रुपमा तनहँुमा बसेर पार्टी संगठनको काम गरेको उल्लेख गर्दै उनले आफू गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग परिचित भएको जनाए ।


निर्वाचनका क्रममा ९ जिल्ला भ्रमण गरेको जानकारी दिँदै उनले सबै नेता तथा कार्यकर्ताले उत्साहपूर्वक सुझाव दिएको सुनाए । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । ‘वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालाको परामर्श लिएर चुनावी अभियानमा लागेको छु,’ उनले भने, ‘उहाँहरुले अरु कुरापछि मिलाउला, गो अहेड भन्नु भएको छ ।’ उनले पोखरामा कार्यालय खोलेर टिम बनाएर चुनावी मोर्चामा होमिने जानकारी दिए ।

नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सभापतिमा नेता शुक्रराज शर्माले पनि उम्मेदवारी दिने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनका शुभेच्छुकले उनलाई भोटसमेत मागिसकेका छन् ।

उम्मेदवारी घोषणाकै निम्ति शर्माले सोमबार पत्रकार सम्मेलन गर्दैछन् ।५० वर्षदेखि कांग्रेसमा सक्रिय शर्मा २०७४ सालको निर्वाचनमा कास्की ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेवार थिए । तर उनी नेकपा एमालेका जगत विश्वकर्मासँग पराजित भएका थिए ।

कास्कीमा १७ वर्ष पार्टी सभापति चलाएका पूर्वसांसद शुक्रराज शर्मा प्रदेश सभापतिका अर्का दाबेदार हुन् । शर्माले कांग्रेसलाई अनुशासन र पद्धतिमा चल्ने बनाउन, पार्टीलाई बलियो बनाउन उम्मेदवारी दिन लागेको सुनाए । सार्वजनिक घोषणा नगरे पनि कांग्रेसको प्रदेश सभापतिमा उम्मेद्वार दिन पूर्वमन्त्री यज्ञबहादुर थापाले आन्तरिक तयारी गरेका छन् । उनी २०६१ पछि २ कार्यकाल कास्की कांग्रेस सभापति थिए ।

०३६ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय थापा सोही सालमा नेविसंघमा विमलेन्द्र निधि अध्यक्ष हुँदा उपाध्यक्ष बनेका थिए । देवराज र रघुनाथ दुवैले वरिष्ठ नेता पौडेलको आधिकारिक उम्मेद्वार भएको दाबी गरिरहेकै बेला यज्ञबहादुरले कांग्रेसमा शेरबहादुर देउवा बाहेकको संस्थापन पक्षको एकमात्र उम्मेद्वार भएको जिकिर गरेका छन् ।

थापाले सचिवालय खोलेर चुनावी रणनीति तय गर्ने योजना बनाएका छन् । २०७० सालमा संविधान सभा सदस्य बनेका थापा २०७३ सालमा न्याय, कानुन तथा संसदीय मामिला मन्त्री थिए ।

कांग्रेस केन्द्रीय सदस्य तथा पर्वतका प्रभावशाली नेता अर्जुन जोशी पनि गण्डकी प्रदेशको सभापति बन्ने होडमा छन् । उनी सभापति देउवा समूहकाहुन् । अहिलेसम्म जोशीले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । नेपाली कांग्रेस गोरखाका नेता सुरेन्द्र पाण्डेसमेत प्रदेश सभापति उठ्ने चर्चा छ ।
यता, नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले प्रदेश समितिको पहिलो निर्वाचनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका छन् । पहिलो पटक हुन लागेको कांग्रेस प्रदेश कार्यसमितिमा सभापति १, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुनेछन् । प्रदेश सभापतिले निर्वाचित सदस्यबाट१ जना कोषाध्यक्ष चुन्ने प्रावधान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *