काठेखोलामा पौने चार करोडको कृषि परियोजना सञ्चालन

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसंगको सहकार्यमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना सञ्चालन गर्ने भएको छ । काठेखोलाका ८ वटै वडाका कृषकहरुको हितलाई ध्यानमा राखेर ३ करोड ७३ लाख ३३ हजार रुपैयाको लागतमा उद्यमशिलता परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

कृषकहरुको चाहनामा आधारित उद्यम सञ्चालन गर्नका लागि हामीले कृषि तथा पुश उद्यमशिलता विकास परियोजना सञ्चालन गर्न लागेका हौ, गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले भन्नुभयो–‘कृषकहरुलाई कृषि र पशुपालनका क्षेत्रमा संगठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा लिएका छौ ।’

कृषकहरुले कृषि र पशुपालनका क्षेत्रमा आफुले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको ३ वर्षे कृषि तथा पशु उद्यमशिलता परियोजना सञ्चालनका लागि गाउँपालिका र हेफर इन्टरनेशनलबीच शुक्रवार सम्झौता भएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा र हेफर इन्टरनेशनलका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

हेफर इन्टरनेशनलसंगको साझेदारीमा सञ्चालन गर्न लागियो यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङले गर्ने भएको छ । ३ वर्ष सञ्चालन हुने परियोजनाका लागि वडा स्तरमा समुहहरु गठन गरी उद्यमीहरुको प्रवद्र्धन, उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गरिने विवाइसी बागलुङका कार्यक्रम संयोजक चुडामणी उपाध्याय ले जानकारी दिनुभयो ।

परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष ८० लाख, दोस्रो र तेस्रो वर्ष १÷१ करोड परिचालन गर्ने भएको छ । गाउँपालिकाले परिचालन गर्ने रकमको २५ प्रतिशत हेफर इन्टरनेशनलले परिचालन गर्ने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । परियोजना सञ्चालनका लागि आवश्यक प्रशासनिक र तालिमका कार्यक्रमहरु सबै हेफर इन्टरनेशनलले सञ्चालन गर्ने भएको छ ।

परियोजनामार्फत उद्यमशिलताको विकास गरी कृषकहरुलाई सहकारीमा आवद्ध गराउदै उनीहरुका उत्पादनको संकलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य रहेको छ । हेफर इन्टरनेशनले विवाइसीसंगको साझेदारीमा काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा यस भन्दा पहिला नै पशुवस्तुको मुल्य ऋङखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना परियोजना सञ्चालन गरेको छ ।

उक्त परियोजना मार्फत सप्तरङ्गी सामाजीक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजीक उद्यमी महिला सहकारी संस्थाले बाख्रा उत्पादन गर्दै आएका छन् । करिव ८ वर्षदेखि सञ्चालनमा रहेको परियोजना मार्फत दुई सहकारीले बाख्रा बेचेर वार्षिक ३ करोड भन्दा बढी आयआर्जन गर्ने गरेका छन् । कृषकहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुबाट उत्पादित वस्तुको संकलन र बजारीकरणका लागि सहकारीलाई परिचालन गरिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *