स्वास्थ्यमा निसीखोलाको फड्को

डम्मर बुढा मगर, बागलुङ
बागलुङ निसीखोलाका स्थानीयहरु केही वर्ष पहिलेसम्म सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्यता थियो । भौगोलिक विकटताको गाउँपालिका भित्रै रहेका सिमित स्वास्थ्य संस्थामा पुग्न घण्टौ समय लाग्थ्यो । स्वास्थ्य संस्थामा जसोतासो पुग्यो फेरी चेकजाँचको लागि उत्तिनै समय लाग्थ्यो । चेकजाँच ग¥यो औषधी अभाव । अलि जटिल प्रकारको रोग लागेमा पोखरा, काठमाडौँ मुलुकका ठूला सहरमा जानु पर्ने अवस्था थियो । त्यो अवस्था अहिले पनि छ, तर धेरै कम ।

अहिले गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुधारमा सकरात्मक प्रयास थालेको छ । गाउँपालिकाले सबै वडाका नागरिकलाई सरल र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हेतुले सबै वडामा स्वास्थ्य संस्था स्थापना र स्तरोन्नती गर्न थालेको छ । गाउँपालिकाको वडा नम्बर १, ३, ६ र ७ मा स्वास्थ्य चौकी सञ्चालनमा छन् भने वडा नम्बर ४ र ५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि स्वास्थ्य सेवा दिइ राखेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

वडा नम्बर २ मा पनि स्वास्थ्य संस्था स्थापन गर्ने भनिए पनि जग्गा व्यवस्थापन हुन नसक्दा अहिले सम्म संस्था स्थापना हुन नसकेको गौतमले बताउनुभयो । तर यस वडामा सामुदायीक स्वास्थ्य इकाई र वर्थिङ सेन्टर भने संचालनमा रहेको उहाँको भनाई छ । वडा नम्बर ४ को थापागाउँमा केही समय अगाडी स्वास्थ्य संस्थाको भवन निर्माण गरि सेवा सुचारु गरिएको छ ।

वडा नम्बर १ मा देविस्थान स्वास्थ्य चौकी, वडा नम्बर ३ मा बोहोरागाउँ स्वास्थ्य चौकी, ६ मा निसी स्वास्थ्य चौकी र ७ मा राजकुट स्वास्थ्य चौकी अहिले सञ्चालनमा छन् । यी स्वास्थ्य चौकी साविकको गाविस हुदाबाट नै सञ्चालनमा थिए । गाउँपालिकाको प्रत्येक वडामा एक स्वास्थ्य संस्था निर्माण गर्ने नीति अनुसार स्वास्थ्य सेवा विस्तारमा लागेको सूचना अधिकारी गौतमको भनाई छ ।

स्वास्थ्य उपचारका लागि टाढा जानु पर्ने स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै वडा नम्बर २ को अर्नाकोट र वडा नम्बर ५ को निसीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिदै आएकोमा निसीमा भने आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि सेवा सुरु भएको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ४ को झिम्पामा गाउँपालिका स्तरीय १० शैयाको आधारभूत अस्पताल समेत निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि गत वर्ष मंसिर १५ गते शिलान्यास भइ सकेको छ । अस्पताल निर्माणका लागि डिपीआर तयार गरि रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो । पालिका स्तरीय आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारले ८५ लाख विनियोजन गरेको थियो ।

गाउँपालिकाले नयाँ स्थापना हुन थालेका वडामा पूर्वधार निर्माण गरिरहेको र विगतदेखि संचालन हुँदै आएका स्वास्थ्य संस्थाको स्तरोन्नति भइरहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । ‘सबै नागरिकको पहुँचमा गुणस्तरिय र सहज स्वास्थ्य सेवा प्रवाहको लागि वडा–वडामा स्वास्थ्य चौकी निर्माण गरिरहेका छौँ, केही वडामा जग्गा व्यवस्थापन भइरहेको छ, कुनैमा भवन निर्माण हुँदैछ,’ अध्यक्ष पौडेलले भन्नुभयो–‘अब कुनै पनि नागरिक स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुनुपर्ने छैन, अब धेरै खर्च गरेर टाढा जानु पर्ने बाध्यता अन्त्य हुनेछ ।’

पालिकामा सञ्चालन भएका सबै स्वास्थ्य संस्थामा कर्मचारी पनि प्रयाप्त छन् । सरकारी दरबन्दी भएका संस्थामा स्थायी कर्मचारी ल्याएको र नभएको ठाउँमा गाउँपालिकाले करारमा कर्मचारी राखेको छ । ‘हाम्रो पालिकामा भएका कुनै पनि स्वास्थ्य संस्थामा कर्मचारीको अभाव छैन, सबै ठाउँमा व्यवस्थापन गरेका छौँ,’ उहाँले भन्नुभयो ‘औषधी व्यवस्थापनमा पनि हामीले धेरै चनाखो भएर काम गरेका छौँ, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गरेका छौँ ।’

स्वास्थ्य संस्थाहरु नभएका वडामा स्थापना गरि सेवा सुरु गरेको र सेवालाई थप प्रभावकारी गराउन अन्य स्वास्थ्य गतिबिधि गरि रहेको अध्इष पौडेलको भनाई छ । स्वास्थ्य संस्थाको निर्माण र सेवा विस्तारसँगै गाउँपालिकालाई शून्य होम डेलिभरी अभियानमा लागेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *