आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यका नयाँ स्थानहरूको पहिचान र प्रवद्र्धन कार्यक्रम अघि बढाएको छ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि नयाँ पदमार्गसहित थप नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी अभियान सञ्चालन गरेको हो ।
विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी-तातोपानी-घार-शिख-घोडेपानी-पुनहिल खण्डसडकले ती स्थानहरूसम्म पुग्ने पदमार्ग विस्थापित भएपछि पर्यटकहरू अलमलमा पर्ने गरेका छन् । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । ‘कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ’, उहाँले भन्नुभयो, ‘नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवद्र्धनमा जोड दिएका छौँ ।’ अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’, खयर-खोपारा, नारच्याङ र महभिर झरना, जलजले-फगाम-मोतिचौर बराह-धवलागिरी आधार शिविर, करबाकेली, बयली, मोहरेडाँडा, प्यारीबाराही, कालीबराह ताल, फूलबारी, गुराँसपार्क, मुन्द्रा चढाउने डाँडा, नागी, टिकोट, पाउद्वार, सेकार्कु, रातोपानी कुण्ड अन्नपूर्णका नयाँ पहिचान भएका गन्तव्य हुन् । संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, भुरुङ-तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण-धवलागिरि पर्यावरणीय सामुदायिक पदमार्ग अन्नपूर्णका स्थापित पर्यटकीय गन्तव्य हुन् ।
प्राकृतिक दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिकाको मोहरेडाँडा र खोपारामा रहेको सामुदायिक लजको क्षमता बढाइएको छ । अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने दुई ठाउँमा २०/२० जना क्षमताको लज थिए ।
पाहुनाको चाप बढेपछि मोहरेडाँडामा गाउँपालिका र पर्यटन मन्त्रालयले एक करोड ५० लाख लगानीमा तीनवटा र खोपारामा गण्डकी प्रदेश सरकारको २० लाख लगानीमा एक आठकोठे आश्रयस्थल भवन निर्माण भएको छ । क्षमता विस्तार र सुविधा थपेर सामुदायिक लजको स्तरोन्नति भएपछि मानव बस्तीदेखि टाढा रहेको मोहरेडाँडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हटेको मोहरेडाँडाको सामुदायिक लजका कर्मचारी नगेन्द्र गर्बुजाले बताउनुभयो ।
अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला पार्नुभएका फ्रान्सका मौरिज हर्गोजको नाममा अन्नपूर्ण गाउँपालिका-४ नारच्याङदेखि अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग सञ्चालन भएको छ । मौरिजको नामबाट नामाकरण भएको यस पदमार्गमा पर्यटन मन्त्रालयले दुई करोडभन्दा बढी लगानीमा गत आर्थिक वर्षमा पदमार्ग बनाएको छ ।
पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । यसअघि हेलिकोप्टर चार्टर गरेर लैजानु पर्दथ्यो । आधारभूत स्तरको पदमार्ग, खोलामा पुल, बस्नका लागि आश्रयस्थल र नक्सा तयार पारिएको नारच्याङ-अन्नपूर्ण आधार शिविर जोड्ने मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।
राष्ट्रिय फूल गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले अन्नपूर्ण गाउँपालिका-७ फूलबारीमा गुराँस पार्क (उद्यान) स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ मा पर्ने बयली, घोडेपानी, फूलबारी, मोहरेडाँडा क्षेत्रमा गण्डकी प्रदेशमै ठूलो लालीगुराँसको जंगल भएको दाबी गरिएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीको १० लाख अनुदान सहयोगमा नेसरानी सामुदायिक वन उपभोक्ता समूहले २० रोपनी पाखो सम्याएर घेराबार गरी नेपालमा पाइनै सबै ३१ प्रजातिका गुराँसको बगैँचा र सूचना केन्द्रका लागि परम्परागत शैलीको गोलघर र सार्वजनिक शौचालय निर्माण गरी पार्क बनाएका हुन् । समूहका अध्यक्ष लालबहादुर गर्बुजाले गुराँसको अध्ययन तथा सूचना केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको पार्कबाट पृष्ठभूमिमा हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने बताउनुभयो ।
साइकल र घोडा मार्ग निर्माण
अन्नपूर्ण-६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल, पोन्नी ‘ट्रेल’ (घोडा मार्ग) निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले प्रदेश सरकारको २० लाख सहयोगमा गत आर्थिक वर्षमा फरक-फरक ठाउँमा डेढ मिटर फराकिलो तीन/तीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण गरेको जानकारी दिनुभयो ।
‘मार्गको कालीसारमा चरा अवलोकनस्थल र भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ’, उहाँले भन्नुभयो, ‘घोडेपानीबाट पर्यटकहरू घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्छन् ।’ जंगलको बीचमा करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको हिमालको छाया देखिने तालमा जनैपूर्णिमा पर्वमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।