लामो पुलले फेरियो खुङ्खानीवासीको दैनिकी

डम्मर बुढा मगर, बागलुङ
दुई वर्ष अगाडीसम्म बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानीका सयौँ नागरिकलाई खुङ्खानीखोला वारपारमा निकै समस्या थियो । खोलाभन्दा गाउँमाथि रहेको हुँदा ओल्लोपल्लो गाउँ गर्नका लागि घण्टौँ लाग्ने गथ्र्यो । वर्षातको समयमा झनै कठिन थियो । गत दुई वर्ष अगाडी तमानखोला गाउँपालिका वडा नम्बर ५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल बनेपछि वर्षौदेखि स्थानीयले झेल्नुपरेको सास्ती अन्त्य भएको छ ।

पुलले दुई गाउँलाई मात्र जोडेन गाउँलेहरुको मनलाई पनि जोडयो । पुल बनेपछि खुङ्खानी, थास्पुरीवासीले खुसीको श्वास फेरेका छन् । यो पुलले विद्यार्थीलाई अझ बढी राहत दिएको छ । ढेड घण्टा लगाएर खोला वारपार गर्ने स्थानीय र विद्यार्थीहरु अहिले ५ मिनेटमै खुङ्खानी–ठूलाबिसौना गर्न सक्छन् । गाउँभन्दा पारी रहेको जंगलबाट गाउँलेले घाँस दाउरा पनि सहज रुपमा ल्याउन सहज भएको छ ।

‘पारी गाउँमा जान ऊ तल खोलामा झरेर फेरि माथि निस्किनु पथ्र्यो, तल गएर गाउँमा निस्कन १ घण्टा पुरै लाग्थ्यो, अहिले त यि यहि लामो पुल बन्यो, एकै छिनमा पारी जाने वारी आउने गरिन्छ, हाम्रो ठूलो समस्या समाधान भयो,’ स्थानीय पदम हर्मेलले भन्नुभयो ‘हामी त जन्मे र जान्ने बुझ्ने भएदेखिनै पारी गाउँ जान तल खोलामै पुगेर सानो पुल तरेर जानु पथ्र्यो, अहिले त यो पुलले पाँच मिनेटमै पारि जान सकिन्छ ।’

उहाँले खुङ्खानीवासीको बारीहरु खोलापारी हुँदा बारीमा काम गर्न जाँदा आउँदैमा धेरै समय लागउनु पर्ने बाध्यता रहेको भन्दै पुल निर्माण भएपछि सबैलाई सहज भएको बताउनुभयो । पुलले खुङ्खानीका स्थानीयलाई जंगलबाट घाँस दाउरा ल्याउन समेत सहज भएको भन्दै वारपार गर्न असहज हुँदा बाँझो बनेका बारीहरुमा पुलले सहज गराएपछि खेतीपाती गर्न थालिएको बताउनुभयो ।

‘गाउँ यहाँ छ, यहाँका गाउँलेहरुको बारी, जग्गा जमिन सबै पारी छ, पारीको गाउँमा पुग्न तल खोलामा बनेको पुल तर्नु पथ्र्यो, बारीमा काम गर्न जाँदा घरको काम रोकिने, घरको काम गर्दा बारीको काम रोकिने हुन्थ्यो, अहिले त घरको काम सकेर बारीमा पनि जान किने भो, बारीको काम सकेर घरको काम पनि सजिलै गर्न सकिने अवस्था भएको छ, पुलले त हामीलाई निकै खुसी दिएको छ ।’

बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाई ३ सय ३३ मिटर छ । वडा नम्बर ५ थास्पुरीका पूर्णिमा सुञ्चौरीले पुल बनेपछि आफूहरुलाई विद्यालय आउजाउमा निकै सहज भएको बताउनुभयो । पहिले आफू थास्पुरी गाउँबाट पढ्नको लागि दुई घण्टा लगाएर खुङ्खानीको शान्ति माध्यमिक विद्यालयमा जाने गरेकोमा अहिले आधा घण्टामै पुग्न सकिने उहाँको भनाई छ ।

पुल नबन्दा आँफुहरु विहान ८ नबज्दै विद्यालय हिँड्ने गरेको सुनाउँँदै सुन्चौरीले अहिले ९ बजेपछि हिँडे पनि समयमै विद्यालय पुग्न सकिने बताउनुभयो । ‘पुल नहुँदा त हामी विहान ८ बजेनै विद्यालय हिड्नु पथ्र्यो, बर्खामा निकै डर हुन्थ्यो तर अहिले पुल बनेपछि धेरैनै सहज भएको छ’ उहाँले भन्नुभयो ‘अहिले त २० मिनेटमै स्कूल पुगिन्छ ।’

बुल बनेपछि नर्जाखानी, भित्रीवन, खुङ्खानी, थास्पुरी लगायतका स्थानका करिब ३ सय घरधुरीका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पुलका कारण स्थानीयले वर्षौदेखि धेरै सास्ती खेप्दै आएकाले पुल निर्माण गरिएको बताउनुभयो । उहाँले पुल बनेपछि यहाँका नागरिकले ठूलो राहत पाएको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले पुलले स्थानीयको समस्यालाई समाधान गर्नुको साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको बताउनुभयो । उहाँले पश्चिम क्षेत्रमा यो जत्तिको लामो कुल कुनै पनि ठाउँमा नभएको हुँदा घुम्न र फोटो खिच्न आउने आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्