स्थानीय खानाको प्रवद्र्धनका लागि ‘पाहुनालाई ढिँडो’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

आदर्श अनलाइन, बागलुङ

समुदायमा पछिल्लो समय बढ्दै गएका आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धनका लागि बागलुङको एक सहकारीले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्ने भएको छ ।

धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संस्थाको मंसिर २७ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले बागलुङ जिल्लामा सञ्चालित घरबास कार्यक्रम (होस्टे)हरुसंग समन्वय गरी स्थानीय खानाको प्रवद्र्धनका लागि पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्न निर्णय गरेको छ ।

दुर्गम भन्दा दुर्गम ठाउँमा पनि खाजा, खानाका रुपमा आयातित खाद्यान्न, प्याकिङ तथा जंग फुडको प्रयोग बढ्दै गएको र त्यस्ता प्रकारका खानाले मानिसको स्वास्थ्य र आर्थिक अवस्थामा असर परेकोले यसलाई न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ संस्थाले पाहुनालाई ढिँडो अभियान सञ्चालन गर्न लागेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा उत्पादित वस्तुको प्रयोग घट्दै गएको, उत्पादनबाट श्रमशक्ति छुट्दै गएको, बालबालिकादेखि जेष्ठ नागरिकसम्म, घरको भान्सादेखि मेलापातमा समेत चाउचाउ, चिउरा, विस्कुट लगायतका खाद्यवस्तुको प्रयोग अत्यन्तै बढेको छ, अध्यक्ष जिसीले भन्नुभयो–‘अजिनो मोटो, इष्ट जस्ता औषधीको प्रयोग गरेका वस्तु खानाले मानिसहरुलाई दीर्घ रोग हुनुका साथै वचत गर्न सकिने पैसा समेत खर्च हुने गरेको छ, यसलाई नियन्त्रण गर्नका लागि व्यापक जनचेतना आवश्यक पर्छ ।’

बागलुङमा सञ्चालनमा रहेका होमस्टेहरुसंग समन्वय गरेर आदर्श सञ्चार सहकारीले जिल्ला व्यापी रुपमा स्थानीय खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको उहाँको भनाइ छ । कतिपय होमस्टेहरुले समेत बाहिरबाट आएको खाना पाहुनालाई खुवाउने गरेको भन्दै उहाँले अब होमस्टे मात्रै होइन, प्रत्येक घरमा आउने पाहुनालाई ढिडो लगायत घरमै उत्पादित चिज खुवाउन सन्देश दिने गरी कार्यक्रम अगाडि बढाउने संस्थाले योजना रहेको छ ।

गाउँघरमा उत्पादन हुने खाद्यान्न, तरकारी लगायत फलफूलहरुलाई व्यवस्थित रुपमा संकलन, भण्डारण र विक्री वितरणको व्यवस्था मिलाउनका लागि स्थानीय तह, वडा कार्यालयहरु र सहकारी संघ संस्था लगायत उपभोक्ता समुहहरुलाई क्रियाशिल बनाउन पनि संस्थाको अभियान प्रभावकारी हुने अध्यक्ष जिसीले बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाले विगतमा युवा विद्यार्थीहरुलाई वित्तीय रुपमा साक्षर बनाउने उद्देश्यका साथ विद्यालयमा सहकारी शिक्षा, कुलतमा लागेका युवाहरुलाई सही बाटोमा लगाउनका लागि दुव्र्यसन विरुद्ध आमाहरु, महिलाहरुलाई सीप सिकाउने र वचत गर्ने बानीको विकासका लागि प्याड बनाउने र प्रयोग गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी हुनुका साथै सरोकारवालाहरुको ध्यानाकर्षण भएको अध्यक्ष जिसीको भनाइ छ । हाल जिल्लाका विभिन्न पालिकामा २८ वटा होम स्टेहरु रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *