लयमा फर्कदै बागलुङको पर्यटन व्यवसाय

आदर्श अनलाइन, बागलुङ
दुई वर्षदेखि पर्यटकले नभरिएका पर्यटकीय क्षेत्र, सुनसान बनेका होटल तथा यात्रुले नभरिएका सवारीसाधनहरुमा अहिले चहल पहल देखिएको छ । कोरोनाले धकेलिएर सरेका राजनैतीक दलको महाधिवेशन, सभा समारोह, बिवाह उत्सव, शैक्षिक भ्रमणहरु अहिले धमाधम हुँदा बागलुङको पर्यटन व्यवसाय चलयमान देखिएको छ ।

राजनीतिको अधिवेसन, सभा सम्मेलन, बिबाह र अवलोकन भ्रमण लगायतका कार्यक्रमहरुले सवारी साधनहरुलाई यात्रु ओसार्न भ्याईनभ्याई छ । होटलहरु भरिभराउ छन् भने पर्यटकीस्थलहरु खचाखच भइरहेका छन् । अहिले जिल्लाका पर्यटकीय स्थहलहरुको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोर्खा, काठमाण्डौं लगायतका जिल्लाहरुबाट बागलुङ आउने क्रम समेत चल्दा बागलुङमा सुस्ताएको पर्यटन व्यवसाय लयमा फर्केको छ ।

एक महिना अघिदेखि नेपालका साना ठूला दलका अधिवेशन चल्दा नेता कार्यकर्ताहरु गाउँ–गाउँ बाट शहर केन्द्रित भएका छन् । दलहरुले सभा सम्मेलनका नाममा लाखौं रुपैयाँ खर्च समेत गरिरहेका छन् । मुख्यतया राजनीतिका कारण बागलुङ चलयमान भएको छ ।

यात्रु नपाएर खाली खाली हुने सवारी साधनहरुमा अहिले यात्रुको निकै चाप रहेको छ । कतिपय दलले नेता कार्यकर्ता ओसार्न सवारी साधनको व्यवस्था र खान बस्नका लागि होटलको व्यवस्थापन समेत गरिरहेका छन् । अहिले कालिका मन्दिर परिसरमा अवलोकन भ्रमण व्यानर सहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका वडा, पालिका अधिवेशनले बागलुङ बजार चलयमान भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । “पर्यटकीय क्षेत्र, होटल व्यवसाय, यातयात व्यवसाय अहिले फष्टाएको पाएका छौं” राजभण्डारीले भन्नुभयो “राजनीतिको कारण मात्र नभएर पर्यटकीय सिजन, मुस्ताङ जाने पर्यटकहरु र कुस्माको बन्जी पुलमा आउने पर्यटकहरु समेत यहाँ आउने गरेका छन्, अहिले यहाँको व्यापार तथा व्यवसाय फष्टाएको छ ।”

अहिले कालका मन्दिर परिसरमा पर्यटक बोकेका सवारी साधनहरुको निकै चाप रहेको छ । दुई वर्ष देखि थला परेको यातयात व्यवसाय लयमा फर्कन लागेको यातयात व्यवसायीहरु बताउछन् ।

यो एक महिनामा बागलुङ बजारका सबै होटलहरु भरिएको हामीले जानकारी पाएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । उहाँले ठूला दल कांग्रेस, एमाले, माओवादी लगाएतको अधिवेशनको समयमा होटलमा कोठा समेत नपाएको बताउनुभयो । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम संग्रहालयमा पर्यटकहरु ह्वातै बढेको पाइएको छ ।

बजारमा अधिवेशन लगायतका कार्यक्रममा आएका नेता कार्यकर्ताहरु समेत फूर्सदमा पर्यटकीय स्थल पुगेको देखिन्छ । अहिले कालिका मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट धार्मिक पर्यटकहरु आउने क्रमले तिब्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गत वर्ष भन्दा यस वर्ष कालिका भगवती मन्दिरमा धार्मिक पर्यटकहरुको आगमनमा बृद्धि भएको पाइएको खड्काको भनाई छ ।

“गत वर्ष कोरोनाको प्रभावले खासै पर्यटकहरु आएका थिएनन्, ६ महिना त कालिका मन्दिर बन्दनै गर्नु परेको थियो” खड्काले भन्नुभयो “दुई वर्षदेखि दर्शन गर्न नपाएका पर्यटकहरु, मुक्तिनाथ दर्शमा हिडेका पर्यटक र कुस्माको बन्जी पुलको अवलोकनका लागि आएका पर्यटकहरु कालिका मन्दिर दर्शन गर्न आउने गर्दा अहिले निकै चाप रहेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *