नेकपा काल शून्यकाल भयो, अब संगठन निर्माणमा जुटौ : एमाले नेता विश्वकर्मा

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशका सहइन्चार्ज जगत विश्वकर्माले राजनीतिक, सांगठनिक हिसावले एमाले र माओवादीबीचको एकतापछिको नेकपा कालिन समय शून्यकालका रुपमा रहेको बताउनुभएको छ ।

दुई ठुला पार्टीबीच एकीकरण पछि देशमा एउटा नया अभियान चल्छ भन्ने धेरैको विश्वास थियो, तर पार्टी एकीकरण पछिको नेकपा कालिन करिव ३ वर्षको समय राजनीतिक र सांगठनिक हिसावले सून्य रहेको उहाको भनाइ छ ।

नेकपा एमाले बागलुङको सोमबार आयोजित नवौ पूर्ण वैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै पूर्व मन्त्री समेत रहेका विश्वकर्माले पार्टीमा विवाद सिर्जना गरेर कब्जा गर्ने रणनीतिका कारण नेकपा काल नेपालको कम्युनिष्ट आन्दोलनका लागि सून्य समयका रुपमा परिचित भएको बताउनुभयो ।

माथि हेर्दा करिव दुई तिहाइको सरकार, सबै प्रदेशमा बहुमत सहितको प्रदेश सरकार, स्थानीय तहमा अधिकांश नेकपाकै नेतृत्व थियो, तर तल पार्टी जाममा परेर अलपत्र परेको यात्रु जस्तै बन्यो, नेता विश्वकर्माले भन्नुभयो–पार्टीलाई गतिशिल बनाउने भन्दा पनि कसरी पार्टीमा विवाद बढाउन सकिन्छ, कसरी पार्टीलाई कब्जा गरेर एकलौटी ढंगले चलाउन सकिन्छ भन्ने सोचका कारण पार्टीले गति लिन सकेन । पार्टीको मुल नेतृत्वलाई बदनाम गराएर पार्टी कब्जा गर्ने प्रवृतिका कारण एकतालाई पूर्णता दिन नसकिएको विश्वकर्माको भनाइ छ ।

मुलुक परिवर्तन भन्दा पनि सत्ता परिवर्तनमा रमाउने प्रवृतिका कारण नेकपालाई जोगाउन नसकिएको चर्चा गर्दै उहाँले नेकपा कालिन सून्यतालाई समेत परिपूर्ति गर्ने गरी संगठन निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

सरकारमा भइएन भनेर चिन्ता गरेर बस्ने होइन, अबको निर्वाचनमा एमालेलाई स्पष्ट बहुमत प्राप्त पार्टी बनाउनका लागि पार्टीको सम्पूर्ण पंक्ति एकतावद्ध भएर जुट्न उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा, पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी जिसी केसी, केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज डा.सूर्य पाठक, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज सावित्रा राना, केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण केसी, गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बैठकले आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनको तयारीका लागि जिम्मेवारी तोक्ने लगायतका निर्णय गरेको छ । बैठक एमाले बागलुङका कार्यबाहक अध्यक्ष कृष्ण पाठकको अध्यक्षता, सचिव विष्णु भुषालको सञ्चालन र उपसचिव गणेश थापाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *