राम थापा, बागलुङ
कुनैसमय दक्षिण बागलुङमा नाम चलेको विद्यालय हो, जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण मावि । जैदी, राङ्खानी, छिमेकी जिल्ला गुल्मीबाट समेत विद्यार्थी त्यहाँ पढ्न आउँथे । एकै कक्षामा १२५ जनासम्म विद्यार्थी हुन्थे ।
विसं २०३१ मा स्थापित त्यस विद्यालयको सेवा क्षेत्र पनि खुम्चँदै गयो । विद्यार्थी घटे । अघिल्लो पुस्ताले दुःखजिलो गरेर ल्याएको विद्यालय विस्तारै ओझेलमा प¥यो । विद्यालय भवन पनि जीर्ण बन्यो । विद्यालयको शैक्षिक÷भौतिक सुधारमा कसैको पनि अपेक्षित नजर परेन । राजनीतिक प्रभावले पनि गाँज्दै लग्यो । त्यस भेगकै अगुवा शिक्षण संस्था भएर पनि विद्यालय अनेक समस्यामा जेलिँदै आयो ।
नियमित सिकाइलाई जेनतेन अगाडि बढाए पनि भौतिक पूर्वाधारमा विद्यालय धेरै पछि छ । हिजो दुर्गम भनिएका गाउँमा पनि सुविधायुक्त विद्यालय भवन ठडिइरहेका बेला सदरमुकामसँग जोडिएको पालिकाको विद्यालय भने पूर्वाधारबाट बञ्चित छ ।
दशैँअघि बनेको विद्यालय भवनका कक्षाकोठा रुग्ण, साँघुरा र अँध्यारा छन् । भौतिक वातावरण सिकाइमैत्री नहुँदा पठनपाठन गुणस्तरीय छैन । प्रधानाध्यापक यम शर्माका अनुसार विद्यालयलाई भवन, खेलमैदान, खानेपानी र घेराबारको टड्कारो खाँचो छ । “भूकम्पले पनि क्षति पु¥याएको विद्यालय हो, पुनःनिर्माण प्राधिकरणमार्फत भवन बनाउने योजना रहे पनि त्यो प्रक्रियामै अल्झियो”, प्रअ शर्माले भन्नुभयो, “यहाँबाट सबै कागजात र प्रक्रिया पूरा गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ हुन सकेन ।”
प्राधिकरणले भूकम्पमा क्षति पुगेका जिल्लाका कैयन विद्यालयको पुनःनिर्माण गरे पनि उक्त विद्यालयले भने सो सहयोगलाई पनि भित्र्याउन सकेन । त्यसका लागि विद्यालय प्रशासनदेखि वडा, नगरको समेत पहल नपुगेको स्थानीयवासीको गुनासो छ । भवनका नाममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट गत आर्थिक वर्षमा दुईकोठे भवन परे पनि बजेट अपुग हुँदा त्यो अलपत्र परेको छ । रु १८ लाखको बजेट आएकामा त्यसले नभ्याएपछि प्लाष्टर, झ्यालढोका र रङरोगन हुन बाँकी छ ।
तत्कालीन शिक्षा कार्यालयमार्फत बनेको दुईकोठे ट्रष्ट भवन पनि पानी चुहिने भएको छ । त्यस भवनभित्र रहेको विज्ञान प्रयोगशाला उपकरण र सामग्री अभावमा सञ्चालनमा आउन सकेको छैन । पुस्तकालय पनि पुरानै जीर्ण भवनमा रहेकाले वर्षात्मा पानीबाट जोगाउन हम्मेहम्मे पर्छ । विसं २०४६ मा बनेको दशकोठे भवनमा ढुङ्गाको छानो छ । त्यसको मर्मत सुधार नहुँदा पानी चुहिने समस्या निम्तिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन पुनले गाउँकै पुरानो विद्यालय छायाँमा परेको बताउनुभयो । भौतिक पूर्वाधारसम्पन्न हुन सके विद्यालयलाई पुरानै अवस्थामा फर्काउन सकिने उहाँको भनाइ छ ।
कक्षाकोठा अभावमा १ देखि ५ कक्षासम्मको पढाइ मुख्य भवनभन्दा केही टाढा रहेको अर्को जीर्ण भवनबाट भइरहेको छ । नयाँ भवन बनेमा सबै तहको पढाइ एकै ठाउँबाट चलाउने योजनामा विद्यालय प्रशासन छ । भवन मात्र नभएर खेलमैदानको पनि अभाव छ । बालबालिकालाई खेल्ने, रमाउने खुला ठाउँ छैन ।
विद्यालय छेवैबाट ग्रामीण सडक गएको र चारैतिर खुला स्थान रहेको हुँदा विद्यालयलाई तत्काल घेराबार गर्नुपर्ने स्थिति छ । पानीको समस्या भएकाले विद्यार्थीलाई शौचालय जानसमेत गाह्रो छ । उमेर पुगेका किशोरीलाई त्यो समस्याले झन् पिरोल्ने गरेको छ । विद्यालयसँग कोष र आन्तरिक स्रोत नभएकाले दाताको सहयोगबिना कुनै पनि काम अगाडि बढ्न सक्ने अवस्था छैन । नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले नगरको क्षमताले भ्याएसम्म विद्यालयको माग सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो ।
उहाँले नगरमार्फत नै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट गत आवमा दुईकोठे भवन परेको उल्लेख गर्नुभयो । त्यस्तै शौचालय निर्माण, भवनको मर्मत सम्भार, विज्ञान प्रयोगशाला र खानेपानीका लागि पाइप खरिदमा नगरले सहयोग गरेको नगर शिक्षा अधिकारी आचार्यको भनाइ छ । “समस्या भएका विषयमा प्रस्तावना लिएर आएमा बजेट र कार्यक्रमका लागि हामीले सक्दो पहल गर्छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट यस वर्ष थप चारकोठे भवनका लागि त्यो विद्यालयलाई प्राथमिकतामा राख्छौँ ।”
पुरानो र अगुवा विद्यालय भएर पनि भौतिक संरचनाका दृष्टिबाट विद्यालय पछि परेको कुरामा नगरपालिकाका पदाधिकारी पनि सहमत छन् । विसं २०४१ मा मावि, २०५७ मा उमावि हुँदै निरन्तर सञ्चालनमा रहेको सो विद्यालयमा अहिले ३२८ विद्यार्थी अध्ययनरत छन् ।