कांग्रेस बागलुङले आफ्नै भवन बनाउने

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा कुनै पनि राजनीतिक दलको आफ्नै भवन छैन । जिल्लामा सक्रिय सबै राजनीतिक दलहरु व्यक्तिको घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएका छन् । विभिन्न समय पार्टीहरुले आफ्नै भवन निर्माण गर्ने चर्चा नचालाएका भने होइनन् । बेला–बेलामा यस विषयमा चर्चा नै हुने गर्छ तर केही समयमै सेलाउँछन् । नेपाली कांग्रेस बागलुङको नव निर्वाचित समितिको पहिलो बैठकले भवन निर्माण गर्ने निर्णय गरेको छ ।

यसभन्दा अगाडी पनि कांग्रेसले भवन निर्माण गर्ने विषयमा चर्चा हुँदै आएको थियो, तर त्यसको परिणाम भने शून्य थियो । नव निर्वाचित कार्यसमितिले भवन निर्माण गर्ने निर्णय अनुसार कार्य समिति भित्रबाटै आर्थिक संकलन अभियान समेत सुरु गरेको छ । पहिलो बैठकमै सात लाख ६२ हजार १५१ रुपैयाँ संकलन भएको कांग्रेस बागलुङले जनाएको छ ।

सुरुवाति चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले दुई लाख ५० हजार, बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्र विक्रम कुँवरले एक लाख, कृष्णबहादुर घिमिरेले एक लाख र टिकाराम थापाले एक लाख ११ हजार सहयोग गर्नु भएको छ । १/२ वर्षमै कांग्रेस बागलुङको आफ्नै भवन हुने सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।

उहाँले जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरि योजना बनाएको बताउनुभयो । ‘एक वर्ष लाग्ला, दुई वर्ष लाग्ला पार्टीको आफ्नै भवन बनाएर छोड्छौँ, जग्गा व्यवस्थापन सहित नै भवन बन्छ,’ सभापति शेरचनले भन्नुभयो ‘जिल्ला सदरमुकाममै बन्छ, हामी लागेका छौँ सुरुवाती चरणमै साथीहरुबाट सहयोग प्राप्त भएको छ, हामी भित्रैबाट अभियान सुरु गरेका छौँ ।’

सभापति शेरचनले पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी संचालन गर्दा समस्या भएको भन्दै त्यसको समाधानका लागि आफ्नै भवन निर्माण गर्ने बताउनुभयो । ‘अहिले हाम्रो आफ्नै भवन छैन, अरुको घर भाडामा लिएर पार्टी संचालन गर्दै आएका छौँ, यसरी पार्टी संचालन गर्दा समस्या छ, विभिन्न कार्यक्रमहरु गर्नु पर्ने हुन्छ, हल छैन,’ उहाँले भन्नुभयो ‘त्यसले गर्दा पनि हामीलाई आफ्नै भवनको जरुरत छ, हामी सबैसँग सहकार्य समन्वय गरेर भवन बनाउने योजनामा छौँ ।’

शेचरनले भवन बनाउँदा के कति लागत लाग्ने एकिन नभएको भन्दै पार्टीको अर्को बैठकबाट त्यसको स्टिमेट तयार गरिने बताउनुभयो । अब बन्ने भवन हल र सचिवालय सहितको बन्ने उहाँको भनाई छ । हल नहुँदा पार्टीका महत्वूर्ण कार्यक्रमहरु भाडामा हल लिएर गर्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ ।

‘अहिले ठ्याक्कै भवनको लागत यति लाग्छ भन्ने छैन, हामीले अहिले प्रारम्भ मात्रै गरेका छौँ, अर्को बैठकपछि बल्ल थाहा हुने छ, के कति खर्च लाग्छ भन्ने’ सभापति शेरचनले भन्नुभयो ‘आफ्नै हलहरु नहुँदा पार्टीको महत्वपूर्ण कार्यक्रमहरु पनि गर्न समस्या पर्छ, त्यसले गर्दा भवन बन्दा हल, सचिवालयसहित कै बन्छ ।’

पहिलो बैठकले स्थानीय तहदेखि केन्द्रसम्म निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । संगठनलाई सुदृढिकरण गर्नका लागि जिल्लाका सबै पालिकामा संयोजक तथा सदस्यहरु तोकिएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *