पुस १५ गतेदेखि बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने

आदर्श अनलाइन, म्याग्दी
स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुष १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुष १५ देखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो ३ः३० सम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए ।

१३ किलोमिटर दुरिको सडक प्रभावित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्ल लगायत सरोकारवाला र सुरक्षा अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकले सवारी आवत जावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकुल मौसम भएको समयमा सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।मालढुङ्गा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *