बागलुङमा थपिए पाँच हजार ६४२ नयाँ मतदाता

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा आगामी निर्वाचनलाई लक्षित गरि मतदाता नामावली संकलन अभियान सुरु भएको छ । मंसिर १६ गतेदेखि सुरु भएको नामावली संकलन अभियानमा हालसम्म पाँच हजार ६४२ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका नायब सुब्ब गोकुल शर्माले जानकारी दिनुभयो । बागलुङको दश वटै स्थानीय तह, एक इलाका प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट मतदाना नामावली संकलन भइ रहेको शर्माले बताउनुभयो ।

जिल्लाको १० वटै स्थानीय तहमा विभिन्न चरणमा नामावली संकलन अभियान सुरु भएको थियो । अहिले पनि उक्त अभियान जारीनै रहेको छ । निर्वाचन कार्यालयले चुनावको मिति घोषणा नगर्दासम्म नामावली संकलन गर्ने कार्य जारी रहने शर्मा बताउनुहुन्छ ।

‘जिल्लाको सबै स्थानीय तह, इलाका प्रशासन, जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन अभियान जारी रहेको छ,’ नायब सुब्बा शर्माले भन्नुभयो ‘निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा नगर्दासम्म यो अभियान जारीनै रहने छ, निर्वाचनको मिति घोषणापछि यो कार्य बन्द हुन्छ ।’

हालसम्म सबैभन्दा बढी मतदाता नामावली संकलन जिल्लाको बडिगाड गाउँपालिकामा भएको छ । जहाँ एक हजार २५२ जना नयाँ मतदाता थपिएका छन् । सबैभन्दा कम ताराखोला गाउँपालिकामा थपिएका छन् । यस पालिकामा जम्मा २६८ जना नयाँ मतदाता थपिएका छन् । जिल्लाको गलकोट नगरपालिकामा ८२८ जना, जैमिनी नगरपालिकामा २७६ जना, तमानखोला गाउँपालिकामा ४४३ जना, काठेखोला गाउँपालिकामा ६२४ जना, निसीखोला गाउँपालिकामा ६४७ जना र बरेङ गाउँपालिकामा ७४३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङबाट २२९ जना, जिल्ला निर्वाचन कार्यालयबाट ७३ जना, इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट २४७ जना मतदाता थपिएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बाह्य १२ जनाले दर्ता गराएको बताउनुभयो । बागलुङमा यसभन्दा अगाडी मतदाता संख्या १ लाख ८८ हजार ३३ जना रहेकोमा अहिले एक लाख ९३ हजार ६७५ जना पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

१० वटै स्थानीय तहहरुले पनि नामावली संकलनमा कार्यतालिका बनाएरै लागेका छन् । धेरैभन्दा धेरै मतदातालाई आगामी निर्वाचनमा सहभागी बनाउने हिसाबले अभियान सुरु गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *