बागलुङमा भारी हिमपात, सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

डम्मर बुढा मगर, बागलुङ
मंगलबार साँझदेखि वर्षासँगै परेको हिमपातले मध्य पहाडी लोकमार्ग अन्तरगतको बागलुङ–पूर्वी रुकुम सडक खण्ड ठप्प भएको छ । हिउँले सडक ढाकिएपछि लामो तथा छोटो दूरीका यातायातका साधानहरु ठप्प भएका छन् । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अत्याधिक हिमपात भएपछि यातायात ठप्प भएको हो ।

काठमाडौँदेखि पूर्वी रुकुमको लागि छुटेका गाडीहरु सिपमै रोकिएका छन् भने बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्ने हिउँखेल्नका लागि हिउँका आन्तरिक पर्यटकहरु पनि सिपमै रोकिएको स्थानीय ओम घर्ती मगरले जानकारी दिनुभयो । उहाँले अत्याधिक हिउँ परेको कारण सडक अवरुद्ध बनेको बताउनुभयो ।

घर्ती मगरले सडकमा एक फिट बढी हिउँ जमेको हुँदा गाडीहरु ठप्पै भएको बताउनुहुन्छ । सिमाना तथा पूर्वी रुकुम हिँडेका यात्रुहरु सिपमा अलपत्र परेको उहाँको भनाई छ । ‘माथि–माथि रातिदेखिनै हिउँ परेको थियो, यहाँ विहानैबाट पर्न थालेको हो, तलसम्म हिउँ पर्ने संकेत देखिएको छ,’ उहाँले भन्नुभयो हिउँले सडक अवरुद्ध हुँदा काठमाडाँै, पोखरा चल्ने गाडीहरु ठप्पै भएका छन्, रुकुमबाट काठडमाडौँ छुटेको गाडी उतै रुकुममै रोकिएको छ भने काठमाडौँबाट रुकुम हिँडेका यात्रुहरु पनि सिपमा रोकिएका छन् ।’

हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाई छ । निसीखोलाको सिप भल्कोट र माथिल्लो क्षेत्र सबै सेताम्मे हिउँले ढाकिएको उहाँको भनाई छ । काठमाडौँदेखि रुकुम हिँडेका रुकुम पूर्वका चन्द्र बुढा मगरले हिउँका कारण बाटोमा अलपत्र परेको बताउनुभयो ।

उहाँले काठमाडौँदेखि रुकुमको लुकुम घरमा हिँडेको भन्दै हिउँले सिपमै अलपत्र परेको बताउनुहुन्छ । ‘काठमाडौदेखि आएको हिउँले बाटो बन्द छ, गाडी जाँदैन, कहिले बाटो खुल्ने हो थाहा छैन,’ बुढा मगरले भन्नुभयो ‘यहाँ त यति धेरै हिउँ परेको छ झन् सिमाना तिर कति बाक्लो होला, अब कति दिन यहीँ रोकिन पर्ने हो ?’

उहाँले सिपमा राम्रो होटलको व्यवस्था समेत नहुँदा चिसोले थप समस्या गराउने बताउनुहुन्छ । बुढाले हिउँ पर्न नरोकिएको भन्दै अझै केही दिन यतै रोकिनु पर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

निसीखोला लगायत अग्ला पहाडहरु हिउँले सेताम्मे भएका छन् । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पनि भारी हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । उहाँले ढोरपाटनमा रातिदेखिनै हिउ पर्न थालेको भन्दै करिब दुई फिटको हाराहारीमा हिउँ जमेको बताउनुहुन्छ ।

‘ढोरपाटनमा रातिदेखिनै हिउँ पर्न थालेको हो, विहानसम्म थोरै परेको थियो तर अहिले साढे २ फिटको हाराहारीमा हिउँ जमेको छ, बेसी झर्ने बाटो बन्द छ,’ घर्ती मगरले भन्नुभयो ‘पानी सबै जमेको छ, ढोरपाटनवासीहरुको जनजीवन निकै कष्टकर बनेको छ, केही काम गर्न सक्ने अवस्था छैन, घरबाट बाहिर निस्किनै सकिदैन ।’

उहाँले भारी हिमपातका कारण पशुचौपायालाई घाँस र दान खुवाउन समेत गाह्रो भएको बताउनुभयो । भारी हिमताले गर्दा ढोरपाटनमा रहेको नेपाल टेलिकमको नेटवर्कले समेत काम गर्न छोडेको घर्तीको भनाई छ । ढोरपाटनमा रहेको टेलिकमको नेटवर्क सोलर मार्फत संचालन भएको छ । दुई दिनदेखि घाम नलाग्दा मोवाइल सेवा अवरुद्ध भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *