एमाले बागलुङको नेतृत्वमा तीन जनाको दाबी : संगठन बलियो बनाउनेदेखि युवालाई उत्पादनसँग जोड्नेसम्मको प्रतिवद्धता

डम्मर बुढा मगर, बागलुङ
नेकपा एमालेले आगामी पौष २३ र २४ गते देशैभर जिल्ला अधिवेशन गर्दैछ । जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा नेता कार्यकर्ताहरु तयारीमा जुटेका छन् । बागलुङमा पनि अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । नेतृत्व तथा पदाधिकारी र सदस्यमा आकांक्षी देखाउनेहरु पनि प्रचार प्रसारमा जुटेका छन् । बागलुङ जिल्लामा हुन लागेको नवौँ अधिवेशनमार्फत अध्यक्षमा तीन जनाले आकांक्षा देखाएका छन् । अन्य पदमा पनि आकांक्षा देखाउनेहरु पनि बढ्न थालेका छन् ।

जिल्ला नेतृत्वका लागि नेकपा एमाले बागलुङका कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हिराबहादुर केसी र प्रदेश कमिटि सदस्य ममतादेवी शर्माले दावी गर्नुभएको छ । अध्यक्षका आकांक्षीसँग प्रेस चौतारी नेपाल बागलुङले मंगलबार अन्तर संवाद गरेको छ । अन्तर सम्वादमा आकांक्षीहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्दै एजेण्डाहरु समेत प्रस्तुत गरेका छन् । उनीहरुले सकेसम्म सहमति नभए लोकतान्त्रिक पद्दती अनुसार निर्वाचन प्रक्रियामा होमिने बताएका थिए ।

म ‘नेचुरल’ दाबेदार हुँ–पाठक
नेकपा एमाले बागलुङका कार्यबाहक अध्यक्ष कृष्ण पाठकले आफू स्वभाविक अध्यक्षको दाबेदार भएको बताउनुभयो । उहाँले लामो समय पार्टीमा काम गरेको हिसाबले र अहिले उपाध्यक्षको हैसितले गर्दा आफू ‘नेचुरल’ अध्यक्षको दाबेदार भएको बताउनुभयो ।

पाठक आठौँ महाधिवेशनबाट उपाध्यक्षमा विजयी हुनु भएको थियो । अध्यक्षमा निर्वाचित इन्द्रलाल सापकोटा चितवनमा भएको एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पाठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।

पाठकले लामो समय पार्टीको विभिन्न पदमा रहेर काम गर्दै आएको अनुभवले पार्टी संगठनलाई
मजबुत बनाउन सक्ने भन्दै यस पटकको नेतृत्व आफ्नै पोल्टामा पर्ने जिकिर गर्नुभयो । ‘म युवा, बुढापाका सबै नेता कमरेडहरुसँग काम गरेको छु, उहाँहरुसँग काम गर्दाको अनुभव ममा छ र जिल्लामा नेतृत्व गर्न सक्छु भन्ने लाग्छ, त्यो क्षमता र योग्यता पनि ममा छ,’ पाठकलले भन्नुभयो ‘सबै साथीहरुलाई मिलाएर जाने, पार्टी संगठनलाई मजबुत बनाउनका लागि म सक्षम छु, त्यसले गर्दा यस पटक मेरो उम्मेदवारी रहन्छ ।

उहाँले अहिले वडादेखि जिल्लासम्म पार्टी भित्र अन्तर द्वन्द्व रहेको भन्दै जनस्तरबाट यसको समाधान आफूले गर्ने बताउनुभयो । पाठकले पार्टीमा कार्यकर्ता व्यवस्थापनमा ठूलो समस्या रहेको भन्दै वडादेखिनै उनीहरुको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरि समय–समयमा तालिम, प्रशिक्षण तथा पार्टी जागरण कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अहिलेसम्म पार्टीको आफ्नै भवन नभएको भन्दै पार्टीका सदस्य लगायत विभिन्न संघ संस्थाबाट आर्थिक संकलन गर्ने र भवन निर्माण गर्ने समेत पाठकले प्रतिबद्धता जनाउनुभयो ।

पार्टीलाई मजबुत बनाई युवालाई उत्पादनमा जोड्न मेरो उम्मेदवारी–केसी
नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हिराबहादुर केसीले पार्टीलाई समावेसी बनाई युवालाई उत्पादनमा जोड्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । जिल्लाका धेरै युवा विदेश पलायन भइरहेको भन्दै उनीहरुलाई स्वदेश फर्काएर उत्पादनसँग जोड्ने, पार्टी सदस्यता वृद्धि गर्ने बताउनुभयो ।

उहाँले अहिले जिल्लामा १२ हजार सदस्य रहेकोमा पार्टीका विभिन्न जनवर्गीय संगठन मार्फत सदस्यता वृद्धि गरि ६२ हजार उ¥याउने केसीले प्रतिबद्धता जनाउनुभयो । केसीले विद्यार्थी, शिक्षक, युवा लगायत सबै खालका नागरिकलाई पार्टीसँग जोड्ने बताउनुभयो ।

‘पार्टीमा आउनेको संख्या धेरै छ, हामीले उनीहरुको व्यवस्थापन गर्न सकि राखेका छैनौँ, अब हरेक नागरिकलाई एमालेसँग जोड्न वडादेखि नै लाग्नु पर्ने देखिन्छ, त्यसको लागि म प्रतिबद्ध छु,’ केसीले भन्नुभयो ‘धेरै युवाहरु विदेश पलायन भएका छन् उनीहरुलाई स्वदेश फर्काएर उत्पादनसँग जोड्नु पर्छ, यहाँ भएका युवाहरुलाई पनि स्वरोजगार बनाउनु पर्ने अवस्था छ, अहिले जिल्लामा १२ हजार पार्टी सदस्य छन्, त्यसलाई विभिन्न जनसंगठनहरु मार्फत जोडेर सदस्यको संख्या ६२ हजार पु¥याउने मेरो योजना छ ।’

केसीले एमाले बागलङले आगामी तीनै तहको निर्वाचनमा बहुमत ल्याउनु पर्ने भएको भन्दै त्यसका लागि सबै तहमा संगठन विस्तार गर्नु पर्ने र जनमत बढाउनु पर्ने भन्दै त्यसका लागि जिल्लाका सबै वडाका नागरिकलाई एमालेसँग जोड्नु पर्ने बताउनुभयो ।

साझा एमाले बनाउन मेरो उम्मेदवारी–शर्मा
नेकपा एमाले गण्डकी प्रदेश सदस्य ममतादेवी शर्माले साझा एमाले बनाउन आफूले अध्यक्षमा दाबेदारी रहेको बताउनुभयो । उहाँले जिल्लाको सबै वडामा संगठन विस्तार र सदस्यता वृद्धि गर्न नसकिएको भन्दै अब जिल्लाका ८५ वटै वडामा एमालेलाई सशक्त बनाउने दाबी गर्नुभयो । उहाँले जिल्लामा महिला नेतृत्व कम भएको भन्दै आफू जिल्लाको नेतृत्व गर्न योग्य र सक्षम भएको हुँदा यस पटक अध्यक्षमा दाबी गरेको बताउनुहुन्छ ।

शर्माले पार्टीमा लामो समयदेखि काम गरेको भन्दै त्यो अनुभव र दक्षतालाई प्रयोग गर्ने अध्यक्षमा दाबी रहेको बताउनुभयो । पार्टी बलियो बनाउन वडा तहबाटै तालिम प्रशिक्षण गरि कार्यकर्तालाई प्रशिक्षण बनाउनु पर्ने भन्दै प्रत्येक नागरिकलाई पार्टीको कुनै न कुनै संगठनमा जोड्ने शर्माको भनाई छ ।

‘पार्टीलाई मजबुत बनाउन वडा तहबाटै लाग्नु पर्छ, वडाबाटै तालिम प्रशिक्षण गर्नु पर्छ, जसले कार्यकर्तालाई पार्टी प्रति जिम्मेवार बनाउछ, पार्टीमा लाग्ने उत्प्रेरित गर्छ,’ शर्माले भन्नुभयो ‘अब एमाले कमजोर छैन, कमजोर बनाउन दिदैनौँ, अहिले पार्टी सदस्यता वितरणमा ध्यान पुगेको छैन, अहिलेको संख्यालाई बढाउने मेरो संकल्प छ, मैले पार्टी सदस्यता संख्या बढाएर २० हजार पु¥याउने योजना छ, सबै वर्गका, सबै जातका नागरिकलाई समानुपातिक रुपमा जोड्नु पर्ने छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *