निसीभूजीमा कुकुरको माग बढ्दो, एउटै कुकुरको मूल्य ५० हजार

डम्मर बुढा मगर, बागलुङ
पश्चिम बागलुङको निसी भूजी क्षेत्रबाट पछिल्लो समय भोटे कुकुरको व्यापार बढेको छ । आलु, भाँगो, सिमी लगायतका खाद्य बालीहरु त नेपाली बजारमा प्रख्यात नै थियो तर पछिल्लो समय भोटे कुकुरले पनि राम्रो बजार पाएको छ । स्थानीयले घर र पशुचौपायाको सुरक्षाको लागि पाल्ने भोटे कुकुर अहिले देशको ठूला–ठूला बजारमा यहाँका कुकुरका बच्चाहरु लैजाने गरेका छन् ।

भोटे कुकुरको बच्चाको माग बढेपछि मूल्ले समेत बढेको छ । अहिले एउटै भोटे कुकुरको बच्चाको मुल्य २५ देखि ५० हजारसम्म पर्ने गरेको स्थानीयको भनाई छ । केहिदिन अगाडी मात्रै ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङका खडक अदैले पालेको माउ भोटे कुकुर पचास हजार रुपैयाँमा विक्री गर्नुभयो । त्यसै दिन स्थानीय भेजिन्द्र भण्डारीको पनि पचास हजार रुपैयाँमै भोटे कुकुर विक्री भयो । उहाँहरुले जस्तै निसी, भोल्कोट र ढोरपाटनका अन्य स्थानीयले पनि कुकुरको बच्चा राम्रै मूल्यमा बेचेका छन् ।

यसले स्थानीयको आयआर्जनमा टेवा पु¥याएको छ । यस क्षेत्रका प्राय घरमा कुकुर पाल्ने चलन छ । विशेष गरि गाईभैँसी पालक कृषक र भेँडी गोठाललेहरुले बढी कुकुर पाल्ने गर्छन् । एउटै गोठालेले ४÷५ वटाभन्दा बढी कुकुर पाल्ने गर्छन् । निसीखोला गाउँपालिका वडा नम्बर ६ का विरबल घर्ती मगरले पनि यस वर्ष २ वटा कुकुर ५० हजारमा बचेको बताउनुहुन्छ ।

‘मैले भेडाको सुरक्षाको लागि चार वटा कुकुर पालेको थिएँ, शहर तिरबाट तीन जना सरहरु आउनु भएको थियो, गाठैमा आएको पाहुनाले कुकुर लान्छु भन्दा नदिने कुरा पनि भएन, दुई जनाले २ वटा कुकुर लगेर जानुभयो,’ घर्तीले भन्नुभयो ‘पहिला–पहिला कुकुर विक्री हुँदैन थिए, अहिले त हजार–हजारमा लैजाने मान्छेहरु आउँछन् ।’

केही समय अगाडीसम्म मान्छेहरुले कुकुरलाई फोहोरीको रुपमा लिने, मन नपराउने गरेको भन्दै अहिले कुकुर पाल्नेहरु धेरै भएको बताउनुहुन्छ । घर्तीले पहिलेपहिले गाउँमा मात्रै कुकुर पाल्ने गरेकोमा अहिले गाउँमा भन्दा बढी सहर बजारमा बढी पाल्ने गरिएको बताउनुभयो । कुकुरलाई विशेष गरि घर हेरालुका रुपमा पाल्ने गरेको हुँदाको भनाई छ ।

‘पहिला मान्छेहरुले कुकुरलाई घृणाको रुपमा हेर्ने गर्थे, धेरैले कुकुर मनै पराउँदैन थिए, अहिले धेरैले कुकुर पाल्न सोखिन भएको पाइन्छ, कुकुरलाई गाउँमा मान्छेहरु कामकाजमा जाँदा घर हेरालुको रुपमा राखिन्थ्यो, हामी जस्तो गोठालाहरुले पशु चौपायाको सुरक्षाको लागि पााल्ने गथ्यौँ, अहिले सहर बजारका मान्छेहरुले धेरै पाल्ने गरेको पाइन्छ, बरु गाउँमा कुकुर पाल्नै छोडे ।’

कुकुरको माग बढेपछि निसी भूजी क्षेत्रबाट वार्षिक २ सय बढी कुकुरका बच्चा विक्री हुने गरेको स्थानीय बताउँछन् । बोबाङका गगन पुनले कुकुरको साना बच्चा पाँच हजारदेखि पच्चीस हजारसम्म र ठूलालाई ५० हजारभन्दा बढी पर्ने गरेको बताउनुभयो । यहाँबाट बुटवल, पोखरा, काठमाडौ, बागलुङ लगाएत मुख्य शहरबाट भोटे कुकुर लैजानेको पाइन्छ ।

भोटे कुकुरले एकै बेतमा पाँच वटाभन्दा बढी बच्चा पाउने गर्दछ । कुकुरलाई थप व्यवस्थित गरेर पाल्न सके यसबाट पनि राम्रो आम्दानी गर्न सक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *