प्रशासनको सूचनालाई बेवास्ता गर्दै मेला महोत्सव

डम्मर बुढा मगर, बागलुङ
कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाएको छ । तर जिल्लाका विभिन्न ठाउँहरुमा प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै हजारौँको भिडभाडमा महोत्सव संचालन भइरहेको छ । स्थानीय सरकार यस प्रति उदासिन बनेका छन् । स्थानीय प्रमुखलाईनै कार्यक्रममा प्रमुख अतिथि भएर रिवन काट्न भ्याइनभ्याइ भएको छ ।

प्रशासनले धार्मिक, सांकृतिक र नियमित रुपमा हुने गोष्ठी बैठक, तालिमहरु सञ्चालन गर्दा समेत २५ जना धेरै जम्मा नहुनेगरी जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आदेश प्रशासनले जारी गरेको छ । सबै पेशा व्यवसाय समेत स्वास्थयका मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न आदेश गरिएको छ । जिल्लाका विभिन्न स्थानमा हजारौँ मानिसहरु जम्मा गरेर संचालन गरेका मेला महोत्सवले प्रशासनले जारी गरेको सूचनालाई उल्टै चेतावनी दिएको छ ।

अझ देशभर कोरोना संक्रमणको दर बढेको भन्दै सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएको छ । यसको समेत बेवास्ता गर्दै बागलुङका सामुदायिक तथा संस्थागत विद्यालयहरुले पठनपाठनलाई तीव्रता दिएका छन् । जिल्लाको गलकोटमा केही दिन अगाडीसम्म गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव चलेको थियो । अहिले सकिएको छ । महोत्सव सकिए लगत्तै नगरपालिकाले मेला महोत्सव र भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।

‘गलकोटमा भएको गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव सकिएको छ, सकिए लगत्तै केन्द्र सरकारले कोरोना बढेको भन्दै कार्यक्रमहरु गर्न रोक लगाएको छ, हामीले पनि संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मेला महोत्सव र धेरै मान्छे जम्मा हुने कुनै पनि कार्यक्रम नर्गन सूचना जारी गरेका छौँ’ गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले भन्नुभयो ‘नगरपालिकाबाट प्रदान गरिने सेवा निरन्तर दिइ राखेका छौँ, यहाँ संक्रमित नभए पनि जोखिमलाई ध्यान दिएर सतर्कता अपनाएका छौँ ।’

बागलुङको दक्षिण जैमिनीमा पनि भव्य महोत्सव जारी छ । गत २७ गतेबाट सुरु भएको दोस्रो जैमिनी महोत्सव माग ४ गते सकिने बताइएको छ । महोत्सवमा बागलुङ अलगायत अन्य जिल्लाबाट हजारौँ मान्छेहरुको आगमन भएको छ । यसले जैमिनीमा ठूलो भिडभाड बढाएको छ । सरकारले विद्यालय बन्द गर्ने भने पनि यहाँका सबै विद्यालय संचालनमै छन् ।

जैमिनी नगरपालिकाका सूचना अधिकारी खेमप्रसाद आचार्यले जिल्ला प्रशासनले सूचना जारी गर्नुभन्दा पहिलेनै जैमिनीमा महोत्सव सुरु भएको भन्दै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीन दिन कार्यक्रम छोट्याएर २ गते सक्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘जिल्ला प्रशासनले सूचना जारी गर्नुभन्दा पहिलेनै यहाँ महोत्सव सुरु गरेको हो, सुरु भएको मेलालाई एकैचोटी टुङ्गाइ हाल्न पनि भएन, तर २÷३ दिन छोट्याइएको छ’ आचार्यले भन्नुभयो ।

आचार्यले जैमिनीमा अहिले संक्रमित नभएको हुँदा विद्यालयहरु संचालनमा रहेको भन्दै, संक्रमण देखिएने परिस्थिती आए बन्द गर्ने बताउनुभयो । अहिले विद्यालय बन्द गरेर महोत्सव संचालन गर्दा विद्यार्थीमा थप जोखिम बढ्न सक्ने उहाँको भनाई छ ।

‘अहिले संक्रमणको त्यस्तो जोखिम छैन, पालिकामा एक जना पनि संक्रमित हुनुहुन्न, यता महोत्सव चल्ने विद्यालय बन्द गराएर के गर्ने, विद्यार्थीलाई रोक्न सकिन्छ, त्यसले गर्दा विद्यालय संचालनमै छ,’ आचार्यले भन्नुभयो ‘संक्रमणको जोखिम बढ्न थालेपछि विद्यालय बन्द गर्ने कार्यपालिकाको बैठकले निर्णय गर्ला त्यसपछि मात्रै बन्द गरिने छ, अहिलेलाई हतारिएर बन्द गरि हाल्नु पर्ने अवस्था छैन ।’

यता बागलुङ नगरपालिकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालय बन्द गर्न भन्दै सूचना जारी गरेको थियो । पौष २८ देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने भने पनि बागलुङ बजारकै विद्यालयहरुले अटेरी गरि विद्यालय संचालन गरि रहेका छन् ।

बागलुङमा हाल ३६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्ये बागलुङ नगरपालिकामा २१, गलकोट नगरपालिकामा ४, बरेङ गाउँपालिकामा ५, जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा २÷२, बडिगाड र ताराखोलामा १÷१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *