बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवा सहितको अत्याधुनिक वृद्धाश्रम निर्माण शुरु भएको छ । निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गर्न थालिएको हो । वृद्धाश्रमको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभएको छ ।

नगरपालिकाको समन्वयमा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थमन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गर्न थालिएको हो । असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवालाई रु. २ करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरेर भवन निर्माण शुरु गरिएको हो । अहिले वृद्धाश्रमको पिल्लार राख्नेकार्य भइरहेको छ ।

बागलुङ नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिस्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधा सहित आश्रय दिनका लागि वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्ष अघिनै अघि सारेको भए पनि अहिले आएर बजेट विनियोजन भएर निर्माण कार्य समेत शुरु भइसकेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“सकेसम्म मानिसलाई वृद्धाश्रम लग्नुहुँदैन तर अहिले वृद्धाश्रम नभइनहुँने जस्तो भइसक्यो” नगर प्रमुख पौडेलले भन्नुभयो “घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान र योग गर्न सिकाउने र खुशी जीवनयापन गर्न सिकाउने मूल उद्देश्य लिएर वृद्धाश्रम बनाउन थालिएको छ, अन्य वृद्धाश्रम भन्दा यो निकै फरक ढंगले निर्माण हुँने र वृद्ध–वृद्धा मैत्री हुँनेछ ।”

आर्थिक वर्ष २०७८÷७९ मा एक तलाको दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरिनेछ । भुकम्प प्रतिरोधरी, अपाङ्गै मैत्री र सबै सेवा सुविधा एकै तलामा हुँनेगरी भवनको निर्माण गर्न शुरु भइसकेको र असार मसान्तसम्म एक तला भवन तयार हुँने बागलुङ नगरपलिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण थालिएको हो । ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सा, डाइनिङसहित १४ कोठा निर्माण गरिने इन्जिनियर शर्माको भनाई छ । उक्त गुठीको जग्गामा मानव सेवाआश्रम निर्माण गर्न सात रोपनी जग्गा उपलब्ध गाराइएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा जग्गाको अभाव भएपछि मानव सेवाआश्रम र वृद्धाश्रम दुबैलाई निरयघाटमा रहेको गुठीको जग्गा उपलब्ध गराइएको हो । पाँच रोपनी जग्गामा कम्पाउड, पार्क, ब्यायम केन्द्र, ध्यान गर्ने सभाहलसहितको तीन वटा तीन तले भवन निर्माण भएर आश्रमले पूर्णता पाउन झण्डै रु. १२ करोड खर्च हुने इञ्जिनीयर शर्माको भनाई छ । वृद्धाश्रममा स्वास्थ्यकर्मीसहितको सेवा दिइने छ । असार मसान्त सम्म सम्झौता बमोजिम भवन तयार गरेर वृद्धाश्रम सञ्चालनका लागि हस्तान्तरण गर्ने निर्माणको जिम्मा पाएको जुम्ली निर्माण सेवाका निर्माण व्यवसायी कुमार खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *