बढ्यो कोरोना : अझै संचालनमा आएन धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट

डम्मर बुढा मगर, बागलुङ
कोरोना संक्रमण बढ्दै जाँदा देशैभर अक्सिजनको हाहाकार मच्चियो । त्यसको असर बागलुङमा पनि प¥यो । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्ला स्थित व्यवसायी तथा अन्य व्यक्तिहरुले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भररे ल्याएर प्रयोग गरिएको थियो । त्यस समस्याको अन्त्य गर्नका लागि धौलागिरी अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणका कदम चालिएको थियो । गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्ट निर्माण अझै पनि सम्पन्न हुन सकेको छैन ।

अहिलेसम्म अक्सिजन प्लान्ट निर्माण नहुँदा अस्पतालले संक्रमण कम भएपछि बेवास्ता गर्दा निर्माण कार्यमा ढिलाई भएको स्थानीयको बुझाई छ । तर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राबिधिक काम भइरहेको बताउनुभयो । प्राबिधिकले तीव्र गतिमा काम गरे पनि कहिले सम्पन्न भएर अक्सिजन उत्पादन हुन्छ भन्ने निश्चित नभएको पोखरेल बताउनुहुन्छ ।

‘अक्सिजन प्लान्टको प्राबिधिकहरुले काम गरि रहेका छन्, कहिले सम्पन्न भएर अक्सिजन उत्पादन सुरु हुन्छ भन्ने त्यो भर्खरै भन्न सक्ने अवस्था छैन’ मेडिकल सुपरिटेण्डेन्ट पोखलले भन्नुभयो । अक्सिजन प्लान्ट निर्माण भएपछि दैनिक १७७ वटा ठूला सिलिण्डर भर्न सकिने उहाँको भनाई छ । प्लान्ट दुई करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण हुन थालेको हो ।

अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरे पनि अहिलेसम्म प्राप्त नभएको मेडिकल सुपरिटेण्डेन्ट पोखेलले जानकारी दिनुभयो । सरकारले समयमै बजेट नपठाउँदा काम समेत ढिलाई भएको उहाँको भनाई छ । ‘अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरेको छ, तर अहिलेसम्म प्राप्त भएको छैन, बजेट समयमै नआउँदा पनि काममा ढिलाई भएको छ ।’

संक्रमण जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा १७० वटा अक्सिजन सिलिण्डर भरेर राखेको उहाँको भनाई छ । अस्पतालमा दुई वर्ष अघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ । तर त्यस प्लान्टले हाइ फ्लोमा अक्सिजन उत्पादन गर्न नसक्दा निकै समस्या भएको थियो ।

अक्सिजन प्लान्ट निर्माणमा अस्पताल प्रशासन र व्यवस्थापन गम्भीर नबन्दा अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले साउनमा अस्पताल व्यवस्थापनले एक महिना भित्र अक्सिजन प्लान्ट बनाउँछौँ भने पनि अहिलेसम्म नबन्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको बताउनुहुन्छ ।

‘साउन महिनामै अस्पताल व्यवस्थापनले एक महिनामै अक्सिजन प्लान्ट निर्माण गर्छौँ भनेको थियो, छ महिना बित्यो खै अहिलेसम्म बनेको ?, यस प्रति अस्पताल व्यवस्थापन र प्रशासन गम्भीर छैन,’ शर्माले भन्नुभयो ‘अहिले व्यवस्थापन समिति पनि छैन, प्रशासनले ध्यान दिने कुरै भएन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *