कोरोना बढे पनि सार्वजनिक यातायात र सरकारी कार्यालयमा भीड उस्तै

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मेला महोत्सव गर्न रोक लगाएको छ । साथै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर, बागलुङका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भिड भने उस्तै छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा पनि दजनौँ नागरिकहरु सेवा लिनका लागि लाइनमा झुम्मिएको पाइन्छ ।

स्थानीय पालिका प्रमुखहरुलेनै यो नियमलाई अंगीकार गरेको देखिएको छैन । नागरिकलाई सचेत बनाउनुको सट्टा उल्टै मेला महोत्सवमै गएर रिवन काटेर उद्घाटन गर्न भ्याई नभाई छ । बागलुङ नगरपालिकामा बुस्टर डोज खोप समेत दिन थालिएको छ । खोप दिने स्थानमा पनि नागरिकहरुले स्वास्थय सुरक्षाको मापदण्ड अपनाएको देखिदैन । यहीबाटै पनि संक्रमण बढ्न सक्ने जोखिम बढेको खोप लगाउन आएका एक व्यक्तिले भने ।

‘खोप लगाउने ठाउँमा त कम्सेकम सामाजिक दूरी कायम गर्नु पर्ने हो, कसैले पनि सामाजिक दूरी कायम गरेको पाइएन, कसैले त मुखमा माक्स पनि लगाएका छैनन्,’ उनले आफ्नो नाम नभन्ने सर्तमा भने ‘नागरिकहरुले निकै लापरवाही गरे, त्यही भएर कोरोना बढी राखेको छ, अलिकति सजकता अपनाउने हो भने त किन कोरोना लाग्छ ?’

मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले पौष २९ मा सूचना जारी गरेको थियो । तर त्यस पछाडी पनि जिल्लाका विभिन्न पालिका प्रमुखहरुको उपस्थितीमा ठूलै भिडभाड गरि मेला नै गरिएको पाइएको छ । माघ ३ गते निसीखोला गाउँपालिकाको झिवाखालामा त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले ठूलै तामझाका साथ सेवा केन्द्रको उत्घाटन गरेको थियो । जहाँ गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल नै कार्यक्रममा सरिक हुनुहुन्थ्यो ।

त्यस्तो निसीखोलाकै भल्कोटमा परम्परादेखि मनाइँदै आएको पुतली नाच पनि स्थानीयले भव्य रुपमा मनाएका छन् । उक्त मेलामा स्थानीय मात्रै सहभागी थिएनन् । त्यहाँ निसीखोला क्षेत्र लगायत अन्य ठाउँबाट सयौँ मान्छेहरुको उपस्थित थियो । त्यसले संक्रमणको जोखिम कति बढायो हो ? सम्बन्धित निकाय चनाखो नबन्दा संक्रमण बढ्न सक्ने स्थानीयको बुझाई छ ।

यति मात्रै होइन, जिल्लाबाट दैनिक दजनौँ सवारी साधानहरु जिल्ला भित्र र बाहिर चल्ने गर्दछन् । यसमा पनि यात्रुहरु कोचाकोच गरेर यात्रा गरेको पाइएको छ । यस तर्फ सम्बन्धित निकायले ध्यान पु¥याउन नसकेको यात्रुहरुले गुनासो गरेका छन् । गाडीवालाले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गरे पनि विभिन्न स्थानमा भएका चेकपोस्टहरुमा चेकिङ नै नहुने यात्रु मानसिंह भण्डारीले बताउनुभयो ।

उहाँले बुर्तिबाङ बागलुङ चल्ने खाडीहरुले सिट क्षमताभन्दा बढी यात्रु राख्दा पनि चेकिङ् पोस्टमा बसेका ट्राफिक प्रहरीहरुले चेकजाँच नगरेको गुनासो गर्नुभयो । ‘यस्तो कोरोना बढेको छ, गाडीवालाहरुले कोचाकोच गरि मान्छे राख्छन्, बाटो–बाटोमा चेकिङ् पोस्ट छन् तर ड्राइभरले एक पटक आँखा झिम्काइ दिएपछि उनीलाई के हुँदो रैछ कुन्नी, चेक नगरि गाडी पास गर्छन्, यसले त यात्रुहरुलाई गाडीबाटै कोरोना सर्न सक्ने संभावना बढी हुँदो रैछ ।’

यस्ता किसिमका भिडभाडले कोभिड–१९ संक्रमण झन बढ्न सक्ने चिकित्सक बताउँछन् । संक्रमण रोकथामका लागि खोपलाई प्राथमिता दिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । उहाँले केही दिन यता बागलुङमा संक्रमण दर बढ्दै गएको भन्दै यसबाट जोगिन स्वएम नागरिकनै सचत हुनु पर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लाभर मेला महोत्सवहरु नगर्न निर्देश गरेको भन्दै संक्रमण रोक्नका लागि जनचेतना मुलक कार्यक्रमहरु गर्ने र रहेक नागरिकलाई खोप प्रदान गर्ने बताउनुहुन्छ । उहाँले अहिले जिल्लामा बुस्टर डोज खोप समेत दिन सुरु गरिएको भन्दै जिल्ला प्रवेशद्वारहरुमा हेल्थ डेक्स स्थापना गर्ने बताउनुभयो ।

‘हामीले संक्रमण रोक्नका लागि जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेका छौँ, जिल्ला प्रवेश द्वारहरुमा हेल्थ डेस्क स्थापना गर्ने, नागरिकलाई सचेत बनाउने लगाएका काम गर्न थालेका छौँ,’ प्रजिअ ढकालले भन्नुभयो ‘जिल्लामा भिडभाड हुने कुनै पनि कार्यक्रमहरु गर्न रोक लगाएका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *