खोप केन्द्रबाटै संक्रमण बढ्ने डर

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा तीन दिनदेखि कोरोना विरुद्धको बुस्टर डोज दिइँदै छ । बागलुङ नगरपालिका वडा नम्बर २ को कार्यालय परिसरमा बुधबार बुस्टर डोज लगाउनेहरुको भिडभाड निकै थियो । खोपलाउनेहरु लाइनमा लामबद्ध भएका भिएका थिए । खोप लगाउनेहरुको घुइँचोले त्यहीँबाटै संक्रमण बढ्न सक्ने खतरा बढेको छ । बुधबार बैंकका कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक र दीर्घरोगी लगायतलाई दिई रहेको थियो ।

खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमण बढ्ने जोखिम बढेको बैंक अफ काठमाडौँका कर्मचारी टंक शर्माले बताउनुभयो । उहाँले सम्बन्धित निकायले खोपको सुविधा दिए पनि व्यवस्थित रुपमा लगाउन नसकेको बताउनुभयो । शर्माले खोप केन्द्रको थप व्यवस्थापन गर्न सके जोखिम कम हुने र सबै नागरिकले सहज रुपमा खोप लगाउन पाउने बताउनुहुन्छ ।

‘सरकारले खोपको सुविधा त दियो, तर खोप केन्द्र व्यवस्थित हुन सकेन, यसले गर्दा यति ठूलो भिडभाड भएको छ, यही भिडबाटै संक्रमण बढ्ने उच्च जोखिम बढेको देखिन्छ,’ शर्माले भन्नुभयो ‘बागलुङ दिनदिनै ठूलो संख्यामा मान्छेहरु संक्रमित भएका छन्, यहाँ यसरी भिडभाड गरेर खोप दिइएको छ, खोप दिने व्यवस्थापन सम्बन्धित निकायले सही रुपमा गर्नु पथ्र्यो ।’

खोप लिइनका लागि लाइनमा उभिएका बैंकका कर्मचारी सञ्जय घिमिरेले खोप केन्द्रमा नागरिकलाई समाजिक दुरीमा राख्ने व्यवस्थापन गरेको भए संक्रमण जोखिम कम हुने बताउनुभयो । रेग्मीले खोप लगाउनेको संख्या निकै ठूलो भएको हुँदा भिडभाड बढेको भन्दै यसको व्यवस्थापनमा सम्बन्धित निकाय चुकेको बताउनुहुन्छ ।

‘संक्रमणको जोखिम निकै बढेको छ, यस समयमा खोप अभियान संचालन भएको छ, खोप लगाउने ठाउँमा पनि यस्तो भिडभाड छ, खोप लागउन आउनेहरुलाई सामाजिक दूरीमा राख्न सक्नु पथ्र्यो, ठाउँ पनि साँघुरो त्यसमाथि धेरैको उपस्थितीले अस्तव्यस्त बनेको छ,’ रेग्मीले भन्नुभयो ‘यसरी नै खोप लगाउने हो भने संक्रमण दर त निकै बढ्ने देखिन्छ ।’

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले यस पटक कम संख्यालाई मात्रै खोप लगाउने भएको हुँदा एक ठाउँमा मात्रै खोप केन्द्र बनाएको बताउनुभयो । उहाँले कर्मचारी लगायत बुद्धिजीविलाई खोप दिने भएको हुँदा भौतिक दूरी कायम गर्नु पर्ने बताउनुहुन्छ । खनालले बागलुङ नगरपालिकाका दुई हजार सात सयलाई खोप दिने बताउनुहुन्छ । बजारका मात्रै बरिब १५ सयलाई खोप दिइने लक्ष्य रहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *