आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले माघ मसान्तसम्म आमसभा, जुलुस तथा भिडभाड हुने गतिबिधि नगर्न आदेश जारी गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पछिल्लो केही दिन यता संक्रमण तीव्र गतिमा फैलिएको भन्दै नागरिक सजक बन्न समेत आग्रह गर्नु भएको छ । माघ मसान्तसम्म मठ मन्दिर लगायत धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरि नित्य पूजा गर्न प्रशासनले आग्रह गरेको छ ।
त्यस्तै सिनेमा हल, पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, हाटबजार समेत संचालन नगर्न निर्देश गरेको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम र अन्य शैक्षिक गतिविधि समेत नगर्न प्रशासनको आग्रह छ ।
बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर गर्न निर्देश गरेको छ । वित्तिय संस्थाहरुले १८ वर्ष पूरा गरेका सेवा ग्राहीलाई खोप कार्ड अनिवार्य गर्नु पर्नेमा जोड दिएको छ ।
जिल्ला प्रशासनले भिडभाड नगर्ने निर्देश गरे पनि जिल्लाको विभिन्न स्थानमा भव्य कार्यक्रम र राजनीतिक दलहरुको भेटघाट जारी रहेको छ ।