आदर्श अनलाइन, बागलुङ
बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ । यसोत यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ । फलफुल र तरकारीको आयु निकै कम हुन्छ । समयमै विक्री नभएको खण्डमा बिग्रिएर समेत जाने गरको छ । तर सित भण्डार गृहमा राख्न सके फलफूल तथा तरकारीले राम्रो मुल्य समेत पाउदै आएको छ ।
स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा विक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मुल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै ठूलो सित भण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।
नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने हो भने नेपालमानै केही गर्न सकिन्छ भन्ने हेतुले गलकोटमा सात युवाहरुले सिद्धभैरव ग्रुप मार्फत सामुहिक लगानीमा सित भण्डारण सञ्चालनमा ल्याइएको छ ।
गुल्मीका ईश्वरी प्रसाद ज्ञवाली र गलकोटका ६ युवाहरु मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु. दुई करोडको लागतमा एक वर्षदेखि सित भण्डारण गृह सञ्चालनमा ल्याइएको छ । अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर सित भण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
“हाम्रो मुख्य उद्देश्य ताराखोलाको आलु र मुस्ताङको स्याउलाई सित भण्डारण गृहमा राखेर बेमौसममा विक्री गर्ने हो, अहिले आलुभन्दा फलफूललाई बढी जोड दिइएको छ” सित भण्डारण गृहको व्यवस्थापक समेत रहनुभएको ज्ञवालीले भन्नुभयो “मुस्ताङको स्याउ आयात नभएको समयमा चिनियाँ स्याउ तथा तराईको केरा र आलु भण्डारण गृहमा राखेर विक्री गर्दै आएका छौं ।”
सिद्धभैरव गु्रपले एक लाख २५ हजार किलो क्षमताको जिल्लाकै ठूलो सित भण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन् । केरालाई बढीमा १५ दिन र स्याउ, अनार लगायतका फलफूललाई दुई महिनासम्म सुरक्षित भण्डारण गर्न सकिने सञ्चालक ज्ञवालले जानकारी दिनुभयो ।
भाडाको दुई रोपनी जग्गा पाँच वर्षका लागि लिएर भण्डारण गृह सञ्चालनमा ल्याइएको हो । भण्डारण गृहका लागि विद्युतको वैकल्पिक व्यवस्थाका लागि २६ केभिए क्षमताको जेनेरेटर समेत जडान गरिएको छ । सित भण्डारण गृहका लागि चौबिसै घण्टा विद्युत आपूर्ती हुँन आवश्यक छ । बाह्य तापक्रमभन्दा फरक तापक्रममा फलफूल तथा तरकारी भण्डारण गर्दा सोही अवस्थामा धेरै दिन फलफूल तथा तरकारी टिकाउन सकिन्छ ।
अहिले भण्डारण गृहमा मुस्ताङको स्याउ, चिनियाँ स्याउ, तराईको आलु र केरा राखिएको छ । उक्त भण्डारण गृहमा राखिएको फलफूल तथा तरकारी बागलुङ बजार, हटिया, खर्वाङ, गुल्मी तथा बुर्तिबाङ बजारमा विक्री गरिदै आइएको छ । भण्डारण गृहको खर्च र विद्युतीकरणको खर्च जोडेर फलफूल विक्रि गर्ने गरेको सिद्धभैरव ग्रुप प्रालिले जनाएको छ । माग अनुसार बजारमै डेलीभरीको समयत भण्डारण गृहलेनै व्यवस्था गर्नेछ ।
ताजा फलफूल तथा तरकारीको लागि भण्डारण गृह सञ्चालनमा आएपछि सहज पहुँच पुगेको गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । जिल्लाको सिगाना, बिहुँ र धम्जामा २० टन क्षमताको सुन्तला र आलु भण्डारण गहृ रहेको छ ।
सिगाना र बिहुँको सित भण्डारण गृहमा सुन्तला र धम्जाको सित भण्डारण गृहमा आलु भण्डारण गरिदै आएको छ । सिगाना, धम्जा र बिहुँमा सरकार र स्थानीयको साझेदारीमा सित भण्डारण गृह निर्माण गरिएको हो भने गलकोटमा व्यक्तिगत कम्पनी मार्फत सित भण्डारण गृह निर्माण गरिएको हो ।