बागलुङमा १८ हजार बालबालिकालाई खोप दिँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको छ । संक्रमण बढे पनि सार्वजनिक यातायात, सरकारी कार्यालय र बजारमा मानिसहरुको भिडभाड उस्तै छ । जिल्ला प्रशासनले भिडभाड हुने कुनै पनि क्रियाकला नगर्न निर्देश गरे पनि नागरिकले अटेर गरि रहेका छन् । संक्रमण बढेपछि यति बेला जिल्लाका सबै सामुदायिक तथा निजी विद्यालयहरु बन्द छन् ।

१८ वर्षमाथिका नागरकलाई सरकारले खोप दिए पनि त्यभन्दा कम उमेरका बालबालिकालाई बल्ल दिन सुरु गरिएको छ । बागलुङमा पनि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप दिन थालिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । संक्रमण तीव्र गतिमा बढे पनि पोख अभियान भने जारी रहेको छ ।

केही दिन अगाडी जिल्लामा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, संचारकर्मी, सरसफाइकर्मी, सार्वजनिक यातायात चलकसहित पाँच हजारलाई बुस्टर डोज पोख दिइएको थियो । त्यस लगत्तै आइतबारदेखि बालबालिकालाई पनि खोप दिन थालिएको छ । लामो समयदेखि संक्रमणको जोखिममा रहेका बालबालिकाले खोप पाउन थालेपछि हर्षित समेत भएका छन् ।

जिल्लाका १८ हजार १२–१७ उमेर समुहका बालबालिकालाई खोप दिन थालिएको स्वास्थ्य कार्यालय बागलुङको कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले १८ वर्षमाथिका अधिकांशले खोप पाइसकेको भन्दै अब बालबालिकालाई दिन सुरु गरिएको बताउनुभयो । फोकल पर्सन घिमिरेले १८ वर्षमाथिका खोप नपाएकाहरुलाई निरन्तर खोप अभियानबाटै लिन सक्ने बताउनुहुन्छ ।

‘केही अगाडी मात्रै बुस्टर डोज दियौँ, यो पनि पुनः निरन्तर चल्दै जाने छ, अहिले १२–१७ उमेरका बालबालिकालाई दिन सुरु गरिएको छ, जिल्लाको १० वटै स्थानमा यो अभियान सुरु हुने छ,’ फोकल पर्सन घिमिरेले भन्नुभयो ‘हरेक पालिकामा खोप दिने समय तालिका बनाएका छौँ, सोही अनुसार खोप अभियान जारी रहने छ ।’

बागलुङ नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विक्रम थापाले बालबालिकाहरुले सबै उमेर समहूले भन्दा अन्तिममा खोप लाउँदा संक्रमणको उच्च जोखिममा परेको भन्दै अहिले खोप आएपछि ढुक्क भएको बताउनुभयो । उहाँले विद्यालय जाँदा पनि साथीहरुबाट संक्रमण हुने डर भएको भन्दै अब त्यो समस्या नरहने बताउनुहुन्छ ।

‘१८ वर्षमाथिकाले खोप लगाइ सक्दा हामीले बल्ल खोप पायौँ, यतिन्जेलसम्म निकै जोखिम भोग्नु प¥यो, स्कूल जाँदा पनि सर म्याडम र साथीहरुबाट कोरोना सर्ला भन्ने डर हुन्थ्यो,’ थापाले भन्नुभयो ‘अब त खोप लगायौँ ढुक्क भइयो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *