बागलुङमा संक्रमण तीव्र गतिमा फैलदो

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो एक हप्तामा बागलुङमा सक्रिय संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ । गत साता बागलुङमा १८७ मात्रै सक्रिय संक्रमित रहेकोमा अहिले ४४४ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कलाई हेर्दा दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै आएको छ । गत साता जिल्लाका सात वडा उच्च जोखिम, ३२ वडा मध्यम र ४६ वटा वडा न्यून जोखिममा रहेका थिए ।

अहिले उच्च जोखिमका वडाको संख्या बढेर १७ पुगेको छ भने मध्यम जोखिमका वडा ४० पुगका छन् । गत साता सबैभन्दा बढी संक्रमित बागलुङ नगरपालिकामा रहेका थिए । यहाँ मात्रै १०८ जना संक्रमित थिए । अहिले बागलुङ नगरपालिकामा मात्रै सक्रिय संmत्रमितको संख्या २१९ पुगेको छ । गत साता गलकोट नगरपालिकामा ३४ जना, बरेङ गाउँपालिकामा १९ जना, जैमिनी नगरपालिका चार जना, काठेखोला र तमानखोलामा २/२ जना, ताराखोलामा पाँच जना र बडिगाड गाउँपालिकामा चार जना संक्रमित थिए । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा संक्रमितको संख्या शून्य थियो ।

अहिले गलकोट नगरपालिकामा ४१, बरेङमा ३९, जैमिनीमा १०, काठेखोलामा १६, तमानखोलामा २७, ताराखोलामा ३१ बडिगाडमा १७ र ढोरपाटनमा ९ जना संक्रमित छन् । निसीखोला गाउँपालिकामा भने शून्य संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले तयार पारेको यो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम सक्रिय संक्रमित ढोरपाटन नगरपालिकामा रहेका छन् ।

गत साता एक जनामात्रै डिस्चार्ज भएका थिए भने मंगलकार ९ जना डिसचार्ज भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ८, १२ र १३, गलकोट नगरपालिकाको वडा नम्बर ३, बरेङ गाउँपालिकाको वडा नम्बर २ र ३, तमानखोला गाउँपालिकाको वडा नम्बर १ र ३, ताराखोला गाउँपालिकाको वडा नम्बर ३, बडिगाड गाउँपालिकाको वडा नम्बर २ र ढोरपाटन नगरपालिकाको वडा नम्बर १ उच्च संक्रमणको जोखिममा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा गतसाता परिक्षण गरिएको मध्ये २८.४६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो भने यस हप्ता २९.०१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जिल्लामा दैनिक संक्रमण बढ्दै गएपछि जिल्ला प्रशान कार्यालय बागलुङले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देश गरेको छ । तर जिल्लाका विभिन्न स्थाथमा नागरिकहरुको भिडभाड भने उस्तै देखिन्छ ।

संक्रमण न्यूनिकरणका लागि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले नागरिकलाई सजक गराउने कार्यक्रमहरु गरि रहेको भन्दै भिडभाड हुने क्रियाकलापहरु नर्गन आग्रह गरेको बताउनुभयो । उहाँले पालिकाहरुसँग समन्वय गरेर संक्रमण नियन्त्रणमा लागेको बताउनुभयो । उहाँले अहिले खोपलाई नै प्राथमिकता दिएको भन्दै पालिकाहरुमा खोप केन्द्र बढाउने र द्रुत गतिमा खोप दिने बताउनुभयो ।

‘हामीले संक्रमणको सुरुको दिनबाटै नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्न आग्रह गर्दै आएका छौँ, स्वास्थ्य मापदण्डलाई पालना नगरेकै कारण फेरि संक्रमण फैलिएको हो,’ प्रमुख गुरौले भन्नुभयो ‘अहिले हामीले खोपलाई नै प्राथमिकता दिएका छौँ, पालिकाहरुमा पनि खोप केन्द्र बढाएर भए पनि नागरिकलाई सहज रुपमा खोप पहुँच पु¥याउने गरि काम भएको छ, ।’

उहाँले यस पटक संक्रमण दर तीव्र गतिमा बढि रहेको भए पनि स्वास्थ्यमा जटिल समस्या आएर अस्पताल भर्ना हुनेको संख्या न्यून रहेको बताउनुहुन्छ । संक्रमण बढे पनि पालिकाहरुले बनाएका आइसोलेशनहरु खाली रहेको उहाँको भनाई छ । प्रमुख गुरौले जिल्लाको नौँ पालिकामा संक्रमण देखिए पनि निसीखोलामा अहिलेसम्म संक्रमण नदेखिएको बताउनुहुन्छ ।

निसीखोलामा परीक्षण नगरेको हुँदा संक्रमण नदेखिएको उहाँको भनाई छ । परीक्षण गरियो भने निसीखोलामा पनि संक्रमितहरु फेला पर्ने संभावना रहेको बताउनुहुन्छ । निसीखोलामा पनि परीक्षणको दायरालाई बढाउन आग्रह गरेको गुरौको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *