सुरु हुन थाल्यो चुनावको रौनक, बागलुङमा जुट्न थाले गठबन्धनका नेता

डम्मर बुढा मगर, बागलुङ
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता साझेदार गठबन्धका नेताहरु छलफलमा जुटेका छन् । बागलुङमा पनि बुधबार पाँच दलीय गठबन्धनको बैठक बसेको छ । बैठकले बागलुङमा गठबन्धनलाई मजबुद निर्णय समेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी बागलुङका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले गठबन्धनलाई कसरी बलियो बनाउने र चुनावलाई लक्षित गरेर अगाडी बढ्ने विषयमा छलफल गरेको बताउनुभयो । ‘आज खास गरि पाँच दलका प्रमुखहरुको बसाइँ भएको थियो, बसाइँमा गठबन्धनलाई कसरी बलियो बनाउने लगायतका विषयमा छलफल भयो’ संयोजक गैरेले भन्नुभयो ।

उहाँले जिल्लामा विभिन्न संघ संस्थाको अधिवेशनहरु हुने र ति अधिवेशनहरुमा गठबन्धन कसरी चुनावमा जाने भन्ने विषयमा समेत छलफल भएको बताउनुभयो । गैरेले आगमी निर्वाचनमा पनि गठबन्धन चुनावमा कसरी सहभागी हुने भन्ने विषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।
‘धेरै समय भएको थियो, हामी छलफलमा बसेका थिएनौँ, आज पाँचै दलका नेताहरुसँग बसेर विभिन्न संघ संस्थाको अधिवेशन हुँदै छ, त्यसमा गठबन्धन कसरी जाने, स्थानीय तहको चुनावमा गठबन्धनलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको हो’ गैरेले भन्नुभयो ।

गैरेले बागलुङमा आगमी चुनामा गठबन्धन हुने संभावना कत्तिको छ ? भन्ने प्रश्नमा निकै संभावना भएको बताउनुभयो । उहाँले सबै पार्टीहरु तयार भए चुनावमा गठबन्धन हुनेमा द्विधा नभएको बताउनुभयो । ‘अहिले सरकार पनि गठबन्धनबाटै बनेको छ, नेतृत्व तहले पनि अहिलेसम्म चुनावसम्मनै गठबन्धन कायम हुन्छ भनि रहेको छ,’ संयोजक गैरेले आदर्शसँग भन्नुभयो ‘त्यसले गर्दा बागलुङमा पनि गठबन्धन हनुने भन्ने भएन, संभावन त बढी नै छ ।’

नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले बैठकले गठबन्धनलाई तल्लो तहसम्म बलियो बनाएर जाने विषयमा मौखिक सहमति भएको बताउनुभयो । उहाँले नेताहरु बीच लामो समय छलफल नभएको र बुधबार पाँच दलका नेताहरु बसेर गठबन्धनलाई बलियो बनाउने र नजस्तरसम्म सन्देश दिने खालको निर्णय भएको बताउनुभयो ।

उहाँले माथि गठबन्धन बलियो भए पनि तल्लो तहमा नेता कार्यकर्ताहरुमा त्यस किसिमको धारण नबनी सकेको भन्दै गठबन्धनलाई तल्लो तहसम्म बलियो बनाउने, कार्यकर्तालाई सूसुचित गर्ने र निर्देश दिनेखालको सहमति भएको बताउनुभयो ।

‘अहिले पनि तल्लो तहमा नेता कार्यकर्ताहरुमा गठबन्धनको विषयमा अन्योल छ, त्यसलाई चिर्दै यसलाई बलियो बनाउनु पर्ने, नेता कार्यकर्तालाई गठबन्धनको बारेमा प्रस्टाएर बलियो बनाउन तर्फ लाग्ने छलफल भयो’ अध्यक्ष थापाले आदर्शसँग भन्नुभयो ‘आगामी स्थानीय तहको निर्वाचनका बारेमा पनि सामान्य छलफल भएको छ, चुनावमा गठबन्धनलाई कसरी सहभागी गराउने भन्ने विषयमा पनि मोटामोटी कुराहरु भएको थियो ।’

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले भने चिया गफ मात्रै भएको भन्दै कुनै विषयमा छलफल नभएको बताउनुभयो । ‘बैठक होइन, चिया गफ मात्रै हो’ अध्यक्ष थापाले भन्नुभयो । बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचन, माओवादी केन्द्रका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’, नेकपा (एस) का अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अम्मरबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *