सहकारीको दूधलाई साढे दुई रुपैयाँ अनुदान

आदर्श अनलाइन, बागलुङ
बागलुङमा सहकारी मार्फत उत्पादनमा जोडिएका दूग्ध किसानले दूधमा प्रति लिटर साढे दुई रुपैयाँ अनुदान पाउदै आएका छन् । दूधमा सरकारी अनुदान पाउन थालेपछि दूग्ध किसानहरु उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेट अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहन स्वरुप अनुदान दिन थालिएको हो ।

जिल्लाका सहकारी मार्फत दूध बजारीकरण गर्ने आठ सहकारी मार्फत किसानलाई अनुदान दिइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । अनुदान पाउनका लागि उक्त सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ । बागलुङ जिल्ला दूधमा आत्मनिर्भर जिल्लाका रुपमा रहेको छ । जिल्ला दूधमा आत्मनिर्भर जिल्ला हुनुमा दूग्ध सहकारीहरुको ठूलो भूमिका रहेको छ ।

किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्षदेखि दूधमा अनुदान दिन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशव शर्माले जानकारी दिनुभयो । “गत वर्ष दूधमा अनुदान दिनका लागि रु. ४१ लाख बजेट विनियोजन गरिएको थियो, तर जम्मा १८ लाख मात्रै अनुदान भुक्तानी भयो” शर्माले भन्नुभयो “यो आर्थिक वर्षमा समेत ८ वटा सहकारीका तिनै किसानलाई भुक्तानी गर्ने गरी रु. १८ लाख नै बजेट व्यवस्थापन गरेका छौं, असार सम्म भुक्तानी भइसक्छ ।”

दूग्ध सहकारीले किसानको दूधको रकम माग गरे चार÷चार महिनामै मुक्तानी गर्न सकिने कार्यालयको भनाई छ । दैनिक २०० लिटर भन्दा बढी दूधको कारोबार गर्ने बागलुङमा जम्मा ८ वटा मात्रै सहकारी छन् । जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानहरुले मात्रै उक्त अनुदान सुविधा पाइरहेका छन् । काठेखोला गाउँपालिकाको ४ दूग्ध सहकारी, बागलुङ नगरपालिकाको २ सहकारी र जैमिनी नगरपालिकाको दुई सहकारीमा फर्ममा उत्पादित दूधमा अनुदान दिइएको पशु अधिकृत शर्माको भनाई छ ।

दूधमा अनुदान पाउनका लागि मापदण्ड पुगेका ८ सहकारीले गत वर्ष जत्तिकै रु. १८ लाख रकम प्राप्त गर्ने छन् । सहकारी मार्फत दूधको बजारी करण गर्ने बागलुङ पशु स्रोत विकास फर्म तथा दूग्ध उत्पादनक सहकारी संस्था काठेखोला गाउँपालिका–२ भिमापोखरा, पाला दूग्ध उत्पादक सहकारी संस्था लिमिटे काठेखोला गाउँपालिका, नमूना दूग्ध उत्पादक सहकारी संस्था काठेखोला गाउँपालिका, मिलीजुली दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला, श्री काली गण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका १२, कालीगण्डकी दूग्ध सहकारी बागलुङ नगरपालिका ७, श्री जैमिनी दूग्ध उत्पादनक सहकारी सस्था लिमिटेड कुश्मिसेरा र सदानार कृषि तथा दुग्ध सहकारी संस्था जैमिनी नगरपालिका–५ रहेका छन् ।

उक्त आठ सहकारीले वार्षिक सात लाख ५० हजार लिटर भन्दा बढी दूधको उत्पादन र बजारीकरण गर्दै आएका छन् । दूधमा दिने अनुदान आगमी बर्ष समेत निरन्तराता पाउँने भएकाले किसानहरुलाई सहकारीमार्फत बजारीकरण गराउने दूधको परिणाम बढाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले आग्रह समेत गरेको छ ।

दूधको उत्पादनमा दिइने अनुदानले किसानलाई दूध ढुवानीका लागि सहज भएको बताउदै बागलुङ पशु स्रोत विकास फर्म तथा दूग्ध उत्पादनक सहकारी संस्था काठेखोला गाउँपालिकाका अध्यक्ष दिपक गौतमले यो अनुदानबाट पशुपादक किसानलाई प्रत्येक्ष फाइदा पुगेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *