बागलुङका तीन पालिकामा पशु पूर्ण खोप कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाका तीन पालिकामा पशु पूर्ण खोप कार्यक्रम लागू गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको बजेटमा चालु आर्थिक वर्षमा पूर्ण खोप कार्यक्रम लागु भएको जनाएको छ ।

गत वर्ष काठेखोला गाउँपालिकाबाट शुरु भएको पूर्ण खोप कार्यक्रम यो आर्थिक वर्षमा जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र कोठेखोलामा लगू भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

१० पालिका मध्ये काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका गाई भैसी, भेडा, बाख्रा, बंगुर र कुकुरहरुलाई पूर्ण खोप दिन थालिएको हो । स्वच्छ र स्वस्थ पशु जन्य उत्पादन र किसानहरुको आयआर्जमा वृद्धि गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले पूर्ण खोप कार्यक्रम शुरु गरेको हो ।

फागुन ८ गतेबाट शुरु भएको पूर्ण खोप अभियानका लागि तीन पालिकामा २६ जना पशु प्राविधिक खटाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्राविधिक केशव प्रसाद शर्माले जानकारी दिनुभयो । “पशुलाई रोग संक्रमणबाट बचाएर मासु तथा दुग्ध जन्य पदार्थमा वृद्धि गर्नु हाम्रो उदेश्य हो, दुई वर्ष अघि काठेखोला गाउँपालिका–६ बिहुँबाट शुरु गरेको पूर्ण खोप गत आर्थिक वर्षमा काठेखोला गाउँपालिकाभरमा लागू गरिएको थियो” शर्माले भन्नुभयो “अहिले जिल्लाका तीन पालिकाहरुमा शुरु गरिएको र दुई महिना भित्रै तीन पालिका पूर्ण खोप कार्यक्रम सम्पन्न गरिनेछ ।”

शर्माको अनुसार गाई भैसीलाई खोरेत, भ्याकुते र चरचरे विरुद्धको खोप, बाख्रालाई पिपिआर खोप, बंगुरलाई खोरेत र बंगुरको हैजा र कुकुरहरुलाई रेबिज खोप लगाउन थालिएको हो । एउटै पालिकामा लगातार तीन वर्ष सम्म पूर्ण खोप लगाएपछि पुन कार्यक्रम स्थगन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले तीन पालिकामा पूर्ण खोप कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा रु. ७० लाख बजेट बिनियोजन भएको छ । पूर्ण खोप कार्यक्रम निकै खर्चिलो भएकाले १० पालिकामा एकैपटक कार्यक्रम लागु गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा.ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

“आगमी वर्ष बढी बजेट माग गरिने र जिल्लाका सबै पालिकामा पुर्णखोप कार्यक्रम अगाडी बढाइनेछ, गण्डकी प्रदेश सरकारको पञ्चवर्षिय योजना हो यो, गण्डकी प्रदेशका ८५ पालिकामानै पूर्ण खोप कार्यक्रम गर्ने सरकारको लक्ष्य हो” डा. सापकोटाले भन्नुभयो “लगातार तीन वर्ष खोप लगाएमा रोगको संक्रमण नहुँने भन्ने प्राविधिक कुरा छ, हामी अहिले अभियानमा छौं, तीन पालिकामा पूर्ण खोप लगाउदा बजेट बचत भएमा जैमिनी नगरपालिका थप गर्ने योजना छ ।”

सापकोटाका अनुसार एक समूहमा दूई जना पशु प्राविधिक सहित १३ समूहमा २६ प्राविधिकहरुलाई गाउँ–गाउँ खटाइएको छ । बागलुङ नगरपालिकामा ६ समूह, ताराखोला गाउँपालिकामा चार समूह र काठेखोला गाउँपालिकामा ३ समूहमा प्राविधिकहरु खटाइएको हो ।

बागलुङ नगरपालिकामा १२ हजार ३०० गाईभैसी, १७ हजार बाख्रा र एक हजार ४०० बंगुर, ताराखोला गाउँपालिकामा ४ हजार ६०० गाईभैसी, ८ हजार ५०० बाख्रा र २०० बंगुर र काठेखोला गाउँपालिकामा चौध हजार बाख्रा, नौ हजार ६०० र ७०० बंगुर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

रेबिज विरुद्ध दिवसमा बागलुङ जिल्लाका एक हजार ६०० कुकुरहरुलाई खोप लगाइ सकिएको छ । रोगको संक्रमणबाट बच्नका लागि, पशु क्षती हुँनबाट बच्न, दूग्ध जन्य पदार्थ र मासु जन्य पदार्थको उत्पादन बढाउन खोप कार्यक्रम प्रभावकारी हुँने देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *