डम्मर बुढा मगर, बागलुङ
केही वर्ष अगाडीसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोलो पोतिएका घरहरु देखिन्थे । सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ति घरहरुले मनै लोभ्याउने गर्थे । परम्परागत रुपमा बनेका ति घरहरुले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उति बेला गाउँमा अहिलेको जस्तो मोटरगाडी गुड्दैनथे । मान्छेहरु पैदलनै हिँड्ने गर्थे ।
तर अहिले सडक नपुगेका गाउँहरु छैनन् । दिनानुदिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ति पुराना परम्परागत घरहरुमा परेको छ । परम्परागत घर र ढुङ्गे घरहरु गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमधम सिमेन्ट र कङ्क्रिटका घरहरु ठडिदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घरहरु विस्तारै विस्थापित हुने अवस्थामा पु¥याएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका विभिन्न बस्तीमा तीन वर्ष अगाडीमा गाउँका अधिकांश घरहरु ढुङ्गा र केही खरले छाइएका थिए । तर अहिले ती बस्तीहरुमा पुग्यो भने विभिन्न रंगका जस्तापाताहरुले घरहरु रंगीचंगी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घरहरु कम पाइन्छ । गाउँमा सडक आएपछि गाउँलेहरुले सहर बजारीयाले जस्तो सिकेर परम्परागत घरहरुलाई भत्काएर नयँ स्वरुपमा बनाउन थालेको स्थानीय बमबहादुर घर्तीले बताउनुभयो ।
घर्तीले भन्नुभयो–‘आधा दशक अगाडीसम्म गाउँमा धेरै जसो घरहरु ढुङ्गा र खरले छाएका थिए, गाडीहरु आउने बाटो पनि थिएन, अहिले त दिनदिनै गाडीहरु आउँछन्, गाउँलेहरुले बजारीहरुको सिको गरेर सबै घरहरु बजारकै जस्ता बन्न थाले, धनीमानीले ठूलै पिल्लावाला घर बनाई रहेका छन्, अलिअलि हुनेले टिनको छाना समेत हाल्न थालेका छन् ।’
बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेमा पनि करिब एक दशक अगाडीसम्म ढुङ्गेहरु टन्नै थिए । तर अहिले ढुङ्गाका घरहरुले भएका ठाउँहरुमा ठूलाठूला कंक्रिटका घरहरु ठडिएका छन् । सडक कुँडुलेमा नपुग्दा धेरैको घर ढुङ्गालेनै छाएको भए पनि अहिले धेरै जसोले पक्की भवनहरु बनाउन थालेको स्थानीय देवबहादुर खत्रीले बताउनुभयो ।
उहाँले गाउँमा सडक आएपछि धेरै मानिसहरुले बजारबाट सहज रुपमा घर निर्माण गर्ने सामानहरु ल्याएन सक्ने भएपछि ठूलाठूला भवनहरु बनाउन थालेको बताउनुभयो । खत्रीले यहाँका धेरैजसो मानिसहरु विदेश भएको हुँदा उनीहरुले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरि पक्की घरहरु बनाउन थालेको बताउनुहुन्छ ।
खत्रीले पहिले ढुङ्गे घरहरु भएको ठाउँ सिकाउँदै भन्नुहुन्छ–‘त्यो ठाउँमा सबै ढुङ्गाका घरहरु थिए, केही–केही खरका पनि थिए, पक्की घरहरु त यहाँ एउटा पनि थिएन, ल अहिले हेर्नु त यहाँ कति भवनहरु बने ?, यहाँका मान्छेहरु सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घरहरु ठडिरहेका छन्, १÷२ वर्षमा यहाँ ढुङ्गाका घरहरु पनि देख्न पाइँदैन ।’
ताराखोला गाउँपालिका वडा नम्बर २ भातखानेडाँडामा पनि आधा दशक अगाडीसम्म २÷४ वटा खर र ढुङ्गाका स–साना घरहरु मात्रै थिए । तर पछिल्लो समय तीव्र विकासका कारण भातखानेडाँडामा ठूला–ठूला पक्की घरहरु बनेका छन् । पहिले ढुङ्गा र खरले छाएका घरहरु भएको ठाउँमा सिमेन्ट कङ्क्रिटका पक्की घरुहरु बनेका छन् । सडक संजालले यो ठाउँ जोडिएपछि पुराना घररु विस्तापित भएको स्थानीयहरुको भनाई छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङकी प्रमुख सुनिता श्रेष्ठले मानिसहरु सजक र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रबिधि प्रयोग गरेर घर तथा भवनहरु निर्माण गर्न थालेको बताउनुभयो । उहाँले परम्परागत घरहरु भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकहरुले सचेतता अपनाएर पक्की भवनहरु बनाउन थालेको बताउनुभयो ।
प्रमुख श्रेष्ठले परम्परागत घरहरु पनि सबै जोखिम नहुने भन्दै त्यस्ता घर तथा भवनहरु बनाउनँदा मापदण्ड चाही अपनाउनु पर्ने बताउनुहुन्छ । ‘मानिसहरुको सोँच परिवर्तन हुँदै गएको छ, उनीहरु प्रबिधिसँग जोडिन थाले र नयाँ–नयाँ प्रबिधिको प्रयोग गर्न थाले त्यसले गर्दा पनि ढुङ्गे घरहरु कम बन्न थालेका हुन्’ प्रमुख श्रेष्ठले भन्नुभयो ‘पहिले ग्रामीण क्षेत्रमा सडकको सुविधा थिएन, अहिले धेरै ठाउँमा सडकको पहुँच पुगेको छ, त्यसले गर्दा पनि गाउँहरुमा परम्परागत घरहरु कम बन्ने र आधुनिक घरहरु बढी बन्न थालेका हुन् ।’