हट्यो एम्बुलेन्समा सव बोक्नु पर्ने बाध्यता


आदर्श अनलाइन, बागलुङ

कोरोना महामारीमा बागलुङमा सबैभन्दा बढी समस्या थियो शव व्यवस्थापन । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएपनि शवलाई बोक्नका लागि जिल्लामा शव वाहन थिएन ।

कोरोना संक्रमितहरु मध्ये धौलागिरी अस्पतालमा मृत्युभएकाको शव एम्बुलेन्समै बोकेर व्यवस्थापन गरिदै आएकोमा बागलुङ नगरपालिकाले कोरोनाको दोस्रो लहरमा बागलुङ नगरपालिकाले अस्थायी शव वाहन सञ्चालनमा ल्याएको थियो । त्यस लगत्तै नगरपालिकाले शव बाहन खरिद गर्ने निर्णय गरेको थियो ।

बागलुङमा अन्य समयमा समेत शव वाहन नहुँदा शव ल्याउन लैजादा निकै समस्या भएको र निजी सवारीले शव बोक्न नमान्दा धेरै महङ्गो शुल्क तिरेर शव बोक्ने बाध्यतालाई मध्यनजर गर्दै बागलुङ नगरपालिकाले जिल्लामै पहिलोपटक शव बाहन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको थियो । शव बाहन सञ्चालन र व्यवस्थापनका लागि धौलागिरी अस्पताल बागलुङलाई हस्तान्तरण गरिएको छ ।

आफन्तको मृत्युमा दुख परेको समयमा शव ओसार पोसारका लागि समस्या नहोस भन्नका लागि नगरपालिकाले शव बाहन खरिद गरेर सञ्चालनका लागि धौलागिरी अस्पताललाई हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“धौलागिरी अस्पतालको गुणस्तरमा वृद्धि भइरहेको छ, नगरपालिकाले मानिसहरु अन्य सवारीसाधनमा शव महङ्गो शुल्क तिरेर बोकेको अवस्था मैले देखे, नगरपालिकाले गत वर्ष नै शव वाहन खरिद गर्न थालेको थियो, तर बल्ल शव वाहन आएको छ, गरिब जनताका आफ्न्तको मृत्यु हुँदा निःशुल्क र अन्य अवस्थामा शव वाहन सञ्चालन खर्च उठाउनेगरी अस्पताललाई शव वाहन सञ्चालनको जिम्मा दिएका छौं” नगर प्रमुख पौडेलले भन्नुभयो “नगरपालिकाको रु. १२ लाख र दुई लाख धौलागिरी अस्पतालको गरी १४ लाखमा शव वाहन खरिद गरिएको हो, विदेशमा मृत्यु भएका नागरिकको शव ल्याउदा काठमाण्डौबाट ५० हजार खर्च गर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने र कोरोना महामारी जस्ता रोगबाट मृत्युभएकाको शव व्यवस्थापनमा सहज हुँनेछ ।”

बागलुङ नगरपालिकाको रु. १२ लाख २० हजार र धौलागिरी अस्पतालको रु. २ लाख गरी रु.१४ लाख २० हजारमा कर छुट गरी शव वाहन खरिद गरिएको हो ।

शव वाहन खरिदमा नेपाल सरकारले कर छुट दिदै आएकाले खरिदमा सहज भएको हो । विरामी बोक्ने एम्बुलेन्समै शव बाहन बोक्नुपर्ने समस्या भएपछि बागलुङ नगरपालिकाले शव बाहन खरिद गरेर धौलागिरी अस्पताल बागलुङलाई हस्तान्तरण गरेको छ ।

मुख्यतया कोरोना महामारीमा शव वाहन नहुँदा नगरपालिकाले कोरोनाको दोस्रो लहरमा झण्डै चार लाख भाडा तिरेर अस्थायी शव वाहन सञ्चालनमा ल्याइएको थियो ।

शव वाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुँने धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा.शैलेन्द्र बिक पोखरेलले बताउनुभयो । “नगरपालिका र अस्पतालबीच शव वाहन सञ्चालन कार्यविधि बनाएर शव वाहन सञ्चालनमा ल्याइने छ” डा. पोखरेलले भन्नुभयो “जिल्लमा अहिले सम्म शव बाहन नहुँदा शव लैजान निकै समस्या भएको, अन्य सवारी साधनले शव बोक्न नमान्ने थियो, अब नगरपालिकाको सहयोगमा शव वाहन आएर हामीलाई अस्तान्तरण भएको छ, शव बोक्न अब एम्बुलेन्स कुर्नुपर्ने अथवा अन्य शवारीलाई आग्रह गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

एक वर्ष पहिलेनै शव वाहन ल्याउने भनिएको र ढिलै भएपनि शव वाहन आएको र शव वाहनले शव वाहनकै काम गर्नुपर्ने धौलागिरी अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष केवी रानाले जानकारी दिनुभयो ।

“मेरै कार्यकालमा ल्याउने भनि पहलकदमी भएको थियो यसम्मा नगरपालिकाको ठूलो योगदान छ” रानाले भन्नुभयो “अब एमबुलेन्समा सव बोक्ने अवस्थाको अन्त्य भएको छ, यसलाई दीर्घकालिनरुपमै सञ्चालनका लागि कार्ययोजना बनाएर अगाढी बढ्नु पर्दछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *