लोकमार्गले रोकियो निसीखोलामा बसाइँसराइ

डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडीसम्म निसीखोलाबाट तराईमा बसाइँसराइ गर्नेको लर्को निकै थियो । हुने खाने सबै गाउँका जग्गा जमिन सित्तैमा बेचेर तराइ झर्ने गर्थे । गाउँमा आर्थिक अवस्था सामान्य भएकाहरु मात्रै बस्ने गर्थे । अहिलेको जस्जो स्वास्थ्य शिक्षा, यातायात, विद्युतको सहज सुविधा थिएन । सेवा सुविधा भएको स्थानमा उनीहरुको बसाइँसराइ हुने गथ्र्यो । धेरैको रोजगाइमा तराईका भू–भाग पर्थे ।

तर अहिले मध्यपहाडी लोकमार्गले सिंगो निसीखोलालाई केन्द्रमा पारि पूर्वी रुकुमसँग जोडिएपछि बसाइँसराइ रोकिएको छ । लोकमार्ग कालोपत्रे भएपछि बाहिरी ठाउँका मान्छेहरु पनि यस क्षेत्रमा जग्गा जमिन किनेर घर घडेरी बनाउन सुरु गरेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ५ सम्मका धेरै गाउँहरु लोकमार्गले जोडिएपछि सडक वरपर ठूला–ठूला संरचना निर्माण निर्माण भइरहेका छन् ।

लोकमार्गले निसीखोला नजोडिँदा यहाँका नागरिकहरु सामान्य प्रशासनिक कामका लागि हप्ता दिन लगाएर बागलुङ आउनु पर्ने अवस्था थियो । अहिले एक दिनमै त्यो काम गर्न सक्ने भएका छन् । अहिले हरेक प्रहासनिक काम बुर्तिबाङबाटै हुन थालेपछि थप सहजता भएको छ । त्यसले गर्दा पनि यस क्षेत्रबाट बसाइँसराइ रोकिएको आंकलन गरिन्छ ।

मध्यपहाडी लोकमार्गले निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान, वडा नम्बर २ को खाडु, जुग्गाखोला, वडा नम्बर ३ को ढुवाँखोर, वडा नम्बर ४ को झिवाखोला, कानाबगर, वडा नम्बर ५ को बडावनखोला, निसी, वडा नम्बर ६ को भल्कोट लगायतका ठाउँहरु बजार बन्न थालेका छन् । लोकमार्गका आसपासमा घर भवनहरु निर्माण भइरहेका छन् ।

लोकमार्गले जोडिएपछि बसाइँसराइ रोकिनुका साथै यातायातमा सहजता भएको र सामान ढुवानीमा समेत निकै सजिलो भएको निसीखोला गाउँपालिका वडा नजम्बर २ का स्थानीय मनबहादुर घर्ती क्षेत्रीले बताउनुभयो । उहाँले खाद्यान्न लगायतका सामान ढुवानी गर्न घोडा खच्चडको प्र्रयोग गर्नु पर्ने बाध्यता हटेको भन्दै अहिले गाडी मार्फत ढुवानी गर्न थालेको बताउनुभयो ।

‘सडकन आउँदा हामी दिनभर लगाएर बुर्तिबाङबाट सामान ढुवानी गर्नु पथ्र्यो, अहिले त्यो समस्या हटेको छ, त्योसँगै यात्रा गर्न पनि निकै सजिलो भएको छ’ क्षेत्रीले भन्नुभयो ‘सडकले गाउँले सबैको जीवन परिवर्तन गरि दिएको छ, विकासको मूल आधार सडक रैछ, सडकले निसीखोला जोडिएपछि अहिले रहेक क्षेत्रमा परिवर्तन आएको छ ।’

उहाँले गाउँमा सेवा सुविधा नहुँदा वर्षौँदेखि स्थानीयहरु बसाइँसराइ गर्दै आएकोमा करिब आधा दशकदेखि निकै कम भएको उहाँको भनाई छ । क्षेत्रीले आफूहरुभन्दा अगाडीका पुस्ताले तम्घास, बुटवल, पाल्पा लगायतका ठाउँहरुबाट सामान बोकेर उपभोग गरेको सुनाउँदै आफूहरुले त्यो समस्या भोग्न नपरेको क्षेत्री बताउनुहुन्छ ।

‘हामी सानो–सानो हुँदा बुबाहरुले तम्घास, पाल्पा, तानसेन, बुटवलबाट नुन चामल बोकेर ल्याउनुहुन्थ्यो, त्यसबेला यहाँ सडकको कुनै पहुँचनै थिएन, त्यस्तो दुःखका कारण धनीमानीहरुले बसाइँसराइ गरेर मधेस तिर जाने गर्थे,’ उहाँले भन्नुभयो ‘यो लोकमार्ग आएपछि त धेरै मान्छे बसाइँसराइ गर्नबाट रोकिएका छन्, अझ अहिले त पिच भएको छ, त्यसले गर्दा यहाँका मान्छे बाहिर जाने होइन बाहिरका मान्छे यहाँ बसाइँसराइ गरेर आउन थालेका छन् ।’
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौठडेलले पनि पछिल्लो समय बसाइँसराइ गरेर तराइ झर्नेको संख्या निकै कम भएको बताउनुहुन्छ । अध्यक्ष पौडेलले विगतका समयमा यस क्षेत्रमा विकासका पूर्वाधारहरुले नजोडिएको हुँदा स्थानीयहरु सेवा सुविधाको खोजीमा तराइ तिर बसाइँ सर्ने गरेको भन्दै अहिले सबै किसिमका विकासहरु यही हुन थालेपछि बसाइँसराइ रोकिएको बताउनुहुन्छ ।

उहाँले मध्यपहाडी लोकमार्गले निसीखोला नजोडिँदा यस क्षेत्रबाट वर्षेनी सयौँ परिवार बसाइँसराइ गरेर अन्तै जाने गरेकोमा अहिले स्वास्थ्य, शिक्षा, यातयात लगायतका क्षेत्रमा विकास हुँदै गएपछि त्यो क्रम रोकिएको बताउनुहुन्छ ।

‘पहिले अहिलेको जस्तो विकास भएको थिएन, गुणस्तरी शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, यातायातको सहजता थिएन, त्यसले गर्दा मानिसहरु सेवा सुविधा खोज्दै तराइ झर्ने गर्थे,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘अहिले मध्य पहाडी लोकमार्गले पनि केन्द्र बिन्दु बनाएर गयो, गाउँ–गाउँमा, बस्ती–बस्तीमा मोटरबाटो पुग्यो, शिक्षा, स्वास्थ्य, यातायाता र स्वच्छ खानेपानीको सुविधा पनि भयो, त्यसले गर्दा धेरै नागरिकहरु बसाइँसराइ गर्नबाट रोकिएका छन् ।’

अध्यक्ष पौडेलले स्थानीय सरकारले पनि बसाइँसराइ रोक्नका लागि सबै नागरिकलाई गुणस्तरी शिक्षा, यातायातको पहुँच, स्वास्थ्य सुविधा दिनका लागि काम गरि रहेको भन्दै पछिल्लो केही वर्ष यता बसाइँसराइ धेरै रोकिएको र गाउँपालिका पनि विकासलाई तीव्रता दिँदै गाउँमै बस्ने वातावरण तयार गरि रहेको बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *