नागरिक जिम्मेवार नबन्दा बागलुङमा निवारण भएन हात्तिपाइले


–खेमराज गौतम, बागलुङ

नागारिकले हात्तिपाइले विरुद्धको आम औषधी सेवमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन ।

लगातार ६ वर्ष सम्म औषधी सेवबाट निवारण हुँने हात्तिपाइले बागलुङमा नागरिकहरु जिम्मेवार नबन्दा १३ वर्र्षमा समेत हात्तिपाइले निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्छ तर बागलुङमा आम औषधी सेवनमा नागरिक जिम्मेवारी नबन्दा समस्या भएको छ ।

लगातार ६ पटक औषधी खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भएपनि बागलुङमा पुन १३ औं पटक यही फागुन २८ गतेबाट आम औषधी सेवन अभियान शुरु गरिने भएको छ । १३ औं पटकको आम हात्तिपाइले अभियान शुरु गर्नुभन्दा पहिला नारायण स्थानमा ८ जना र कुश्मिसेरामा २ जनामा हात्तिपाइलेको संक्रमण देखिएका कारण पुन १३ औं पटकको आम औषधी अभियान बागलुङमा शुरु गर्न थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

“नेपालभर निवारणको चरणमा रहेको हात्तिपाइले बागलुङ सहित जम्मा १० जिल्लामा मात्रै निवारण हुँन बाँकी रहेको छ, शुरुको चरणमा स्वास्थ्य स्वयमंसेविकाको निगरानीमा खुवाइएको थियो, पछि निवारण नभएको भन्दै स्वास्थ्यकर्मीको निगरानीमा खुवाइयो” गुरौले भन्नुभयो “सबैको प्रयासलेनै बागलुङमा हात्तिपाइले निवारण गर्न सकिन्छ, नागरिकले औषधी नखाने समस्या छ शहरीया र शिक्षित व्यक्तिबाटै बेवास्था भएको छ, अब एक पटक सबैले आम औषधी सेवनमा भाग लिऔं, हात्तिपाइले निवारण गरौं ।”

पाँच वर्ष लगातार औषधी खुवाईसकेपछि हात्तिपाइलेको नमूना परिक्षण हुन्छ, नमूना परिक्षण संख्याको दुई दुई प्रतिशत भन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ नत्र दुई वर्ष लम्बिन्छ, यहाँ त पाँचौ पटक नमूना संकलनमा समेत निवारण भएको छैन, त्यसैले १३ औं पटकको अभियान शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्सिेरामा हात्तिपाइले निवारण गर्न नसक्दा सिंगो जिल्लाभर औषधी खुवाउनुपर्ने अवस्था रहिआएको छ ।

संक्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १३ औं पटक हात्तिपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले बताउनुभयो ।

हात्तिपाइले विरुद्धको औषधी सेवनमा नागरिकको वेवास्ता, हात्तिपाइलेका विषयमा सचेतता, लगातार औषधी नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाईराख्नु परेको जनस्वस्थ्य निरिक्षक शर्माले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार नारायणस्थान र कुश्मिशेरामा
हात्तिपाइले औषधी खुवाइएको कार्ड वितरण समेत गरिने भएको छ । औषधीकार्डलाई कोरोना वरुद्धको खोप कार्ड जस्तै अनिवार्य गर्न वडा कार्यालयलाई अनुरोध समेत गरिएको छ ।

विश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तिपाइले आफुले मात्र औषधि खाएर जोखिमबाट पुर्ण रुपमा बच्न सकिदैन त्यसैले सबैले औषधी सेवन गर्नुपर्दछ ।

अरु कसैलाई हात्तिपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तिपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । बागलुङमा दुई लाख ९३ हजार ४२५ जनालाई हात्तिपाइले विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको छ । क्युलेस जातको लामखुट्टेबाट हात्तिपाइले रोगको संक्रमण फैलने भएकाले लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान समेत चलाउनु पर्दछ । आम औषधी सात दिन भित्रका सुत्केरी, गर्भवती र थला परेका विरामीले मात्रै सेवन गर्नु हुँदैन । यस वर्षको आम औषधी कार्यक्रमलाई ग्रामिण स्वास्थ्य सुधार परियोजनाले समेत सहयोग गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *